यस वर्ष भदौ २२ गते मङ्गलबार मोतीराम भट्टको १५६ औं जन्मजयन्ती परेको छ । मोतीराम भट्टसँग आदिकवि भानुभक्त आचार्य जोडिएका छन् । किनभने मोतीरामले नै भानुभक्तलाई चिनाएका हुन् । भानुभक्तको देहावसान हुँदा मोतीराम दुई वर्षे बालक थिए । तिनै बालकले पछि गएर भानुभक्तका कविताहरू र सातकाण्ड रामायण छपाई प्रकाशित गरेर आदिकवि भानुभक्त भनी सबैका सामु परिचित गराएका हुन् । भानुभक्तको जन्म वि.सं. १८७१ असार २९ गते र मृत्यु १९२५ असोज ६ गते भएको थियो ।

मोतीरामको जन्म वि.सं. १९२३ भाद्र कृष्ण औंसीका दिन भएको हो । तर, दुःखको कुरा ३० वर्ष पुग्दा नपुग्दै उनको मृत्यु भयो १९५३ मा । यो छोटो समयमा पनि नेपाली साहित्यमा मोतीरामले पु¥याएको योगदान बिर्सिनसक्नु छ । नेपाली साहित्यको मध्यकालमा उदाएका मोतीरामले शृङ्गार रसका थुप्रै कविताहरू रचना गरेका छन् । उनी बहुआयामिक कवि हुन् । तथापि शृङ्गारिक रसिक कवि भनेरै चिनिन्छन् ।

उनको रचनाकाललाई दुई भागमा बाँडेर हेर्दा पाठकहरूलाई मोतीरामको योगदान बुझ्न सहज हुन्छ । पूर्वाद्र्धकाल र उत्तराद्र्धकाल । वि.सं. १९३६ देखि १९४४ सम्मको काल पूर्वाद्र्ध हो भने १९४५ देखि १९५३ सासम्मको काल उत्तराद्र्ध हो । उनका रचनाहरूलाई विधागत रूपमा हेर्दा कविता, मुक्तक, खण्डकाव्य, जीवनी, गद्यनाटिका गरी ५ उपविधामा छुट्याउन सकिन्छ । अहिलेसम्म भेटिएर छापिएका उनका कृतिहरू ४५ जति छन् । नभेटिएका १३ जति छन् । दुवै गरेर उनका कृतिहरूको सङ्ख्या ५८ पुग्छ ।

मोतीरामले आफू १३ वर्ष पुगेपछि लेख्न थालेका हुन् । अर्थात् जम्मा १७ वर्षको समयमा नेपाली साहित्यजगत्लाई ५८ कृतिहरू दिएर अमर राष्ट्रिय विभूति बन्न उनी सफल भए । मोतीराम बाँच्दै प्रकाशित उनका कृतिहरू पञ्चक प्रपञ्च, तीजको कथा, गजेन्द्र मोक्ष, स्वप्नाध्याय, चाणक्य नीति दर्पण, भानुभक्तको जीवन चरित्र, कवि र कविताको वर्णन, शकुनौति, गोरखा भारत जीवन (पत्रिका), प्रल्हाद भक्तिकथा आदि छन् । मरणोपरान्त प्रकाशित पुस्तकहरूमा पिकदूत, मनोद्वेग प्रवाह, उखानको बखान, गफास्टक, कमल भ्रमर संवाद, शकुन्तला नाटक, प्रियदर्शिका नाटक  आदि ।

मोतीरामले हिन्दी गजल पनि लेखेका छन् । संस्कृत छन्दशास्त्रमा आधारित १९ प्रकारका छन्दहरू उनले प्रयोगमा ल्याएका छन् । समस्यापूर्ति कविताको चलन गर्ने पहिलो कवि मोतीराम नै हुन् । त्यसपछि नेपालमा समस्यापूर्ति कविता लेख्न सुरु भएको हो । समस्यापूर्ति कविताको परम्परालाई धेरैपछि गोपाल पाण्डे असिमले निरन्तरता दिँदै देशैभरि यसको लहर चलाएका थिए । २०२५ सालमा धरानमा पहिलो पटक समस्यापूर्ति कविता बृहत् सम्मेलन भएको थियो । उक्त कवि सम्मेलनमा मैले पनि सहभागी भई समस्यापूर्ति कविता पाठ गरेको हुँ । त्यसबेलाको समस्यापूर्ति कविताको शीर्षक थियो ‘पसिना फल्छ मोती भै’ ।

उक्त सम्मेलन गोपाल पाण्डे असिमकै आयोजकत्वमा नेपाली शिक्षा परिषद्काठमाडौंले गरेको थियो । सम्मेलनमा भाग लिन काठमाडौंबाट नाटककार तथा कवि बालकृष्ण समको नेतृत्वमा थुप्रै साहित्यकारहरू धरान आएका थिए । मेरो सम्झनामा रहेकाहरूमध्ये कवि मोहन कोइराला, उपेन्द्र श्रेष्ठ, गोपाल पाण्डे असिम, भूपी शेरचन, विश्वजित किराती, ध चं. गोतामे आदि थिए ।

सम्मेलनमा सहभागी भएका अन्य कवि साहित्यकारहरूमा महानन्द सापकोटा, बालकृष्ण पोखरेल, कोशराज रेग्मी, नारद ओझा, विपिनदेव ढुङ्गेल आदि विराटनगरबाट आएका थिए भने धरानबाट सहभागी हुनेहरूमा वेणु आचार्य, नरेश शाक्य, पशुपति पराजुली, मानबहादुर शाक्य, टीकाप्रसाद वस्ती, भोग्यप्रसाद भण्डारी, बद्री पलिखे, गिरिराज आचार्य, हरेराम कर्माचार्य, मान बज्राचार्य आदि । कवि सम्मेलन दुई चरणमा गरी दिनभरि नै चलेको थियो । पहिलो चरण सभाको सभापतित्व बालकृष्ण समले गर्नुभएको थियो भने दिउँसो दोस्रो चरण महानन्द सापकोटाको सभापतित्वमा भएको थियो ।

समस्यापूर्ति कवि सम्मेलन नाम दिइएको उक्त समारोह भव्यताका साथ सम्पन्न भयो । मोतीराम वनारस बसेका बेला भारतीय कवि भारतेन्दु हरिश्चन्द्रको सङ्गतमा भएकाले हिन्दीमा मोतीरामले दुई हरफको छोटो व्यङ्ग्यात्मक समस्यापूर्ति कविता पनि लेखेका छन् । जुन यस प्रकार छः
ऐसाभी चुतियाँ कही देखा है आपने ।
कपडा जलाके अपना लगे आग तापने ।।

सवा सय वर्षअघि लेखिएको यो समस्यापूर्ति कविताले अहिले हामीलाई नै व्यङ्ग्य गरेको हो कि जस्तो लाग्न थाल्या छ । मोतीरामको यो कविता भारतको पुरानो हिन्दी साप्ताहिक पत्रिका धर्मयुगमा पनि पछि प्रकाशित भएको पाइन्छ । धर्मयुगमा छापिँदा भने ‘चुतियाँ’ शब्दको सट्टा सम्पादकले ‘बेअकल’ राखिदिएका छन् । यसरी हिन्दी र उर्दूमा लेखिएका कृतिहरू हेर्दा यी भाषाहरूमा पनि दख्खल थियो भन्ने बुझिन्छ ।

मोतीरामको प्रारम्भिक शिक्षा वनारसमा र उच्चशिक्षा कलकत्ता र काठमाडांैमा भएको हो । मोतीरामद्वारा सम्पादित एवम् प्रकाशित भानुभक्तका कृतिहरूमा सबैभन्दा पछिल्लो बधुशिक्षा हो । बधुशिक्षाको भूमिकामा मोतीरामले यस्तो लेखका छन्ः
हे ! गोरखा भाइ हो !
कवि भानुभक्तको अझसम्म छापिन बाँकी यही बधु शिक्षा हो । तसर्थ यस पुस्तकमा चाहा बढाउनु होस् । म त समर्पण गर्दिन । किनभने भानुभक्तले आफै समर्पण गरिकन गयाका छन् । यसको विशेष बयान कथा हेर्नुछ भने कवि भानुभक्तको जीवन चरित्र हेर्नुहोस् । भानुभक्तका तमाम कविता छपाऊँ भन्ने मेरो प्रतिज्ञा थियो सो आज पूरा भयो ।

मोतीरामको अङ्ग्रेजी भाषामा पनि राम्रो ज्ञान थियो भन्ने कुरा काठमाडौंको दरबार स्कुलमा पढ्दा उनले स्कुलका बङ्गाली हेडमास्टर बी. बटुकृष्ण मित्रालाई सम्बोधन गरेर अङ्ग्रेजीमा लेखेका चिठीबाट प्रष्ट हुन्छ ।

मोतीरामले लेखेका शृङ्गार रसको एउटा कविता यस्तो छः
कनक झैं तन यो बिसको भनूँ । छबिस उनन्तिस वा तिसको भनूँ । कउन अब कलिका भरमा म परुँ । तिस भन्या बिस हुन्छ कसो गरुँ ।।
मनोद्वेग प्रवाहमा प्रकाशित कविता उनले वनारस र काठमाडौंमा बस्दा लेखका हुन् ।

मोतीराम एउटा सम्पन्न परिवारमा जन्मिएका र उनीभन्दा अगिपछि जन्मेकाहरू सबै सन्तान मरेर उनी मात्र बाँचेकाले बाबुआमाको पालन–पोषण र लाडप्यार राम्ररी पाएका थिए उनले ।

मोतीरामले भानुभक्तको सातै काण्ड रामायण छपाउनु र बजारमा ल्याउनु अघिको पनि एउटा रोचक प्रसङ्ग छ । मोतीराम एकदिन एउटा विहेमा जन्ती गएका थिए । त्यहाँ उनले मीठा श्लोकहरू जुवारी खेल्दै गाएका सुने । त्यो उनलाई साह्रै राम्रो लाग्यो । कसले लेखेको रहेछ भनी बुझ्दै जाँदा भानुभक्तले लेखेको रामायणका श्लोकहरू रहेछन् भन्ने थाहा पाए । अप्रकाशित पाण्डुलिपिबाट फेला पारेर गाइएका रामायणका सबैकाण्डहरूको सङ्ग्रह गरी मोतीरामले प्रकाशित  गरे । मोतीरामको आफनै छापाखाना भएकाले पुस्तकहरू छाप्न उनलाई सहज थियो ।

मोतीरामले भानुभक्तका कविताहरू र रामायणका सबै काण्ड छापिएर प्रकाशमा आएपछि मात्रै धेरैले भानुभक्तलाई आदि कवि भनेर चिने । त्यसैले नेपाली भाषाको उत्थानमा भानुभक्तपछि मोतीरामको ठूलो देन छ ।

आफ्नो भाषा र संस्कृति जोगाउन सकिएन भने देश जोगिँदैन भन्ने उनले बुझेका थिए  । मोतीराम ३० वर्षकै युवावस्थामा मरेकाले उनलाई युवाकवि मोतीराम भनेर पनि हामी चिन्दछौं । थोरै भए पनि सार्थक जीवन बाँचेका कविहरूमध्ये मोतीराम पनि एक हुन् । अन्त्यमा, मोती स्मृति भवनभित्र थुनेर राखिएको मोतीराम भट्टको सालिकको चाँडो उद्धार गर्न धरान उपमहानगरपालिकालाई आग्रह गर्दै विश्राम लिन्छु । मोतीरामको जय होस् ।