धरान । धरानमा कोशी प्रदेश सरकारको करिब ७ करोड लगानीमा सुरु गरेको भूमिगत पानी (भू–जल) आपूर्तिको काम अब १५ दिनभित्र गरिने भएको छ । 

सुख्खायाममा धरानमा खानेपानीको अभाव हुँदै आएको छ । पुसदेखि नै उपभोक्ताको धारामा दिन बिराएर पानी आउन थालेको छ । तर प्रदेश सरकारले निर्माण गरिदिएको धरान–१७ स्थित कुम्भी आहाल र धरान–१५ को जङ्गलमा भएका ३ वटा डिपवेल प्रयोगमा आएका थिएनन् । पानीको परीक्षणसमेत गरी धरान उपमहानगरपालिकालाई हस्तान्तरणका लागि तयारी अवस्थामा रहेका भए पनि तत्कालीन नगर प्रमुख हर्कराज राईले भूमिगत स्रोतको पानी लैजाँदा विद्युत् खपत बढी हुने भन्दै प्राविधिक भेरिफिकेसनपछि मात्र जिम्मा लिने अडान लिँदै आएका थिए ।

धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी पाएपछि पानीको स्रोत व्यवस्थापन र चुहावट नियन्त्रणमा लागेका छन् । 

बुधबार खानेपानी डिभिजन कार्यालय विराटनगरका डिई, कोशी प्रदेश सभाका सांसद् रमेश राई, धरान खानेपानी बोर्ड सदस्यहरू गोपाल श्रेष्ठ, दत्त लिम्बू, इन्जिनियर, प्राविधिक र ठेकेदारसहितको टोली जङ्गलमा पुगेर अनुगमन गरेको छ । 

जङ्गलमा भएका तीन वटा डिपवेलमध्ये एउटा तत्काल चलाउन सकिने र दुई वटा १५ दिनभित्र बाँकी रहेका काम सकेर खानेपानी मूल ट्याङ्कीमा पु¥याइने कार्यवाहक नगर प्रमुख बेघाले जानकारी दिए । उनका अनुसार दुई वटा डिपवेलमा बुस्टर पम्प जोडिने र पानी आपूर्ति गरिने छ । उक्त बुस्टर पम्प जडानको काम ठेकेदार वैभव केडियाको जिम्मामा रहेको छ । उनले १५ दिनको समय मागेका छन् । यी वेलबाट पानी जोडिएपछि प्रतिदिन ४० लाख लिटर पानी थपिने धरान खानेपानी बोर्डका कार्यकारी प्रमुख राजु पोखरेलले जानकारी दिए । 

बेघाले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी लिएपछि उनी निरन्तर पानीको स्रोत व्यवस्थापन, भएका स्रोतहरूको पहिचान, चुहावटलगायतको निरीक्षण गरिरहेको कार्यकारी प्रमुख पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार धरानमा हाल करिब प्रतिदिन २ करोड ४० लाख लिटर पानी आपूर्ति भइरहेको छ । जङ्गलका वेलबाट पानी आउँदा २ करोड ६० लाख लिटर प्रतिदिन पानी आपूर्ति हुने उनले बताए । 

प्रदेश सरकारले लगानी गरेको वेलबाट उत्पादित पानी मूल ट्याङ्कीमा जोडिए धराने जनतालाई केही राहत पुग्ने कोशी प्रदेश सभा सदस्य रमेश बस्नेतले बताए । “यो पानी एक वर्षअघि नै यहाँको मूल ट्याङ्कीमा लगेर पानी अभाव टार्न सकिन्थ्यो तर स्थानीय नेतृत्वले जिम्मेवारी लिन नचाहँदा पानीको सदुपयोग भएको थिएन” प्रदेश सभा सदस्य बस्नेतले भने, “अहिले कार्यवाहक मेयरज्यूले चासो देखाउनुभएको छ । यो पानी उपयोग गर्न सक्दा धराने उपभोक्तालाई केही राहत हुनेछ ।”

बोर्डका अनुसार धरानमा पानी आपूर्ति सहज बनाउन प्रतिदिन ३ करोड लिटरभन्दा बढी चाहिन्छ । अब झन् सुख्खायाममा हाल उत्पादन हुँदै आएको पानीको मात्रा पनि घटेर जानेछ । धरानमा स्थानीय कोकाहा खोला, सर्दू, खर्दूलगायत खोलाहरूबाट र भूमिगत स्रोतबाट पानी आपूर्ति गरिँदै आएको छ ।