धरान । धरान–धनकुटा कोशी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका वडा नं. १३ स्थित जिरोपोइन्ट क्षेत्र सवारी दुर्घटनाको ‘हटस्पट’ बन्दै गएकोप्रति स्थानीयले चासो देखाएका छन् । 

बुधबार स्थानीय विभिन्न राजनीतिक दल, सङ्घ–संस्था, टोल विकास समिति तथा समाजसेवीहरूले वडा कार्यालयमा संयुक्तरूपमा ज्ञापन–पत्र बुझाउँदै दीर्घकालीन समाधानको माग गरेका हुन् । 

सन् १९८२ मा निर्माण सम्पन्न भई सञ्चालनमा आएको धरान–धनकुटा सडक पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने एकमात्र प्रमुख मार्ग हो । दैनिक हजारौं सवारी साधन चल्ने यो सडक–खण्ड साँघुरो, उकालो–ओरालो भूगोल तथा अव्यवस्थित बजारीकरणका कारण अत्यन्त जोखिमपूर्ण बन्दै गएको सरोकारवालाहरूको भनाइ छ ।

स्थानीयका अनुसार धनकुटाको भेडेटारबाट तल झरेपछि शिवधारा क्षेत्रमा सडक समतल हुने भएकाले धेरैजसो चालकहरूले सवारी साधनको अवस्था र क्षमता मूल्याङ्कन नगरी तीव्र गतिमा सवारी चलाउने गरेका छन् । प्रभावकारी ट्राफिक निगरानी र नियमनको अभावले दुर्घटनाको जोखिम झनै बढाएको स्थानीयको गुनासो छ ।

स्थानीय तथ्याङ्कअनुसार २०४५ देखि २०८२ सालसम्म जिरोपोइन्ट र आसपास क्षेत्रमा भएका सवारी दुर्घटनामा १९ जनाको ज्यान गएको छ भने सयौँ व्यक्ति घाइते भएका छन्  । पछिल्ला वर्षहरूमा प्रत्येक एक–दुई वर्षको अन्तरालमा ठूला दुर्घटना दोहोरिँदै आएको स्थानीय हरिबहादुर कार्कीले जानकारी दिए । “साना–ठूला दुर्घटनाहरू यस क्षेत्रमा भइरहेका छन् । यसको न्यूनीकरणका लागि राज्यले केही गर्नु पर्दछ”–कार्कीले भने । 

धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले दुर्घटना न्यूनीकरण वडा कार्यालयको प्रमुख प्राथमिकतामा रहेको बताए । “२०७४ सालदेखि यस क्षेत्रमा ठूला सवारी दुर्घटना पटक–पटक भइरहेका छन्” उनले भने, “ट्राफिक पोष्ट स्थापना गरी चेकजाँचको प्रयास भए पनि दुर्घटना पूर्णरूपमा रोक्न सकिएको छैन ।”

वडाध्यक्ष काफ्लेका अनुसार सडक डिभिजन कार्यालयले सडकमा रङ लगाउने र ‘दुर्घटनाग्रस्त क्षेत्र’ लेखिएको सूचना बोर्ड राख्नेजस्ता सामान्य काम मात्र गरेको छ ।

सम्भावित ठूलो क्षति न्यूनीकरण गर्न वडा कार्यालयले आफ्नै पहलमा एउटा खाल्डो खनी माटोको थुप्रो (ढिस्को) निर्माण गरेको जानकारी पनि अध्यक्ष काफ्लेले दिए ।  माथिबाट ब्रेक फेल भएर आउने सवारी साधन सोही स्थानमा ठोक्किएर ठूलो जनधनको क्षति हुन नदिन यो अस्थायी उपाय गरिएको उनले बताए । 

पछिल्लो समय माघ ४ गते जिरोपोइन्ट क्षेत्रमा को.१ ख ७११९ नं. को स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो । प्रारम्भिक अनुसन्धानअनुसार पहाडी सडकमा सवारी चलाउने पर्याप्त अनुभव नभएका चालकले सवारी साधन न्युट्रलमा चलाउँदा ब्रेक फेल भई दुर्घटना भएको बताइन्छ । वडाध्यक्ष काफ्लेले प्राप्त ज्ञापनपत्र धरान उपमहानगरपालिका, सडक डिभिजन कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पठाउने बताए । 

विज्ञ टोलीसँगको परामर्शमा ब्यारिकेड, हम्प्स (स्पिड ब्रेकर), फलामे रेलिङलगायत भौतिक पूर्वाधार निर्माण गरी दुर्घटना न्यूनीकरण गर्ने योजना रहेको उनले जानकारी दिए । 

बारम्बार दोहोरिने दुर्घटनाले स्थानीयवासी त्रसित बनेको उल्लेख गर्दै सरोकारवालाहरूले जिरोपोइन्ट क्षेत्रमा तत्काल तथा दीर्घकालीन दुवै प्रकारका सुरक्षा उपाय अवलम्बन गर्न माग गरेका छन् ।