धरानको लकडाउनमा हाइकिङ–१

alt
  • कार्तिक २२, २०७७
  • ब्लाष्ट खबर

  • वसन्त थापा

बज्र गिरे जसरी आयो ‘लकडाउन, हठात् र अचानक । भोलि ६ः३० बजे बिहानदेखि ‘लकडाउन’ हुने भन्ने समाचार थाहा पाउँदा इटहरीमा थिएँ म एउटा रेष्टुराँमा । विराटनगरबाट धरान फर्कंदै थिएँ र रोकिएको थिएँ खाना खानलाई । रातिको ८ः३० बजेको थियो त्यो समाचार कानमा पर्दा ।

दिन छँदै थाहा पाएको भए केही गरिन्थ्यो होला र रातसाँझ गरेर भए पनि काठमाडौं फर्कने कुनै जुक्ति निस्कन्थ्यो होला । तर, त्यति राति के गर्ने ? कुनै तयारीको सम्भावना बिल्कुलै भएन ।

घरायसी कामले धरान आएको दुई हप्ता बितिसकेको थियो ।अब ‘लकडाउन’ भन्ने यो नयाँ झ्याउलोले गर्दा बसाइ अर्को एक हप्ता लम्बिने भएको थियो ।

आत्तिएर वा छट्पटिएर केही हुनेवाला थिएन । आई त सकेको थियो ‘लकडाउन’ जे होला बेहोर्नै पर्यो ।एक हप्ता त हो बिताइदिउँला भन्ने लाग्यो ।

मलाई कुनै पिरलो थिएन । काठमाडौं दौडेर आई कुनै कुरा जित्नु थिएन, न त धरान बस्नाले कुनै कुरा गुमाउनु नै पर्ने थियो । बरू लकडाउन नामको यस कालो बादलमा चाँदीको घेरा खोज्ने सुर कसें ।

basanta-thapa

विचार गरें धरान वरिपरिका भ्याउन सकिने डाँडाकाँडा र पाखापखेरोमा ‘हाइकिङ’ जाने । जानलाई मनग्गे ठाउँहरु थिए ।धरानमै हुर्केबढेको र सारा किशोर वय अनि प्रारम्भिक जवानी यहीँ बिताएको भए पनि ती पहाडहरु मेरा लागि अज्ञातस्थल थिए र रहँदै आएका छन् ।

यसो त म वर्षमा दुई–तीन पटक धनकुटा हिँडेर जान्थें, त्यो बेग्लै कुरा हो । तर, घुम्ने नाममा हामी खुब टाढा हिँडेर जाने भनेको कि त साँगुरी भञ्ज्याङ थियो कि भने सेउती खोलाको शिर शिवजटा ।

सबभन्दा ठूलो ‘एड्भेञ्चर’ चाहिँ नारायण पोख्रेल (पण्डित छविलालका कान्छो छोरा) को उल्क्याइमा लागेर एकपटक गोविन्द बोहोरा (पछि विकल) र मैले गरेको शिवजटादेखि ठाडै माथि काम्फेकको पहाड उक्लेर डाँडैडाँडा साँगुरी भञ्ज्याङ पुगी चिउरीबासको ओरालो हुँदै फुस्रेबजारसम्मको एकदिने यात्रा ।

चैत–वैशाखको गर्मी, भोकै प्यासै, त्यति लामो बाटो । बाटामा नारायणले गरेको बदमासीको कथा त छुट्टै छ, जो कुनै दिन सुनाउँला । अहिले सम्झँदा लाग्छ त्यो पागलपनको हद थियो ।

सायद हामी भेडेटार हुँदै गएका थियौं साँगुरीतर्फ । तर, उसबेला भेडेटारको के हस्ती ? कसले पुछ्ने भेडेटारलाई ? धनकुटा जाने सडक बनेर पो हाई हाई भएको छ भेडेटारको ।

यो लकडाउन मैले यहाँका डाँडापाखाहरुको विचरण गरोस् भनेर नै आएको हुनुपर्छ भन्ने लाग्यो र सानैदेखि देखिराखेको तर, पाइला टेक्ने अवसर कहिल्यै नमिलेका ती ठाउँहरु घुम्न जाने सुर कसें ।

यसका निम्ति मैले रोजेँ सर्दुखोलाको पश्चिम किनारबाट ठाडिएको डाँडो । त्यस डाँडाको एकदम उत्तरतर्फको भागमा रहेको शूलीकोटबाहेक त्यहाँका बस्तीको नाउँ पनि मलाई थाहा थिएन ।

मेरा लागि त्यो समुच्च इलाका बेनामे थियो । कालीखोला बगेर आउने पाखा भन्नेसम्म थाहा थियो । सानो छँदा कालीखोला गइरहने भए पनि मास्तिर जाने कहिल्यै हिम्मत भएन ।

बाक्लो जङ्गल देखेरै डर लाग्थ्यो । खासै आउजाउ र सरोकार थिएन त्यस इलाकासित हाम्रो जीवनको । बस्ती पनि त उस्तो थिएन त्यहाँ ।

दुई–चारवटा छाप्रा थिए, राति टिम–टिम बत्ती देखिन्थ्यो । कहिलेकाहीँ आगोको पुल्ठो यताउति चलेको देख्थ्यौं र त्यसलाई हामी राँके भूत चलेको भन्थ्यौं । अचेल पूरै डाँडाको पाखामा घरहरु छन् ।

खनजोत गरेर बाली लगाइएको छ । कच्ची सडक पुगेको छ । त्यस डाँडाको झण्डै थाप्लाकै नजिक बनेको एउटा झिल्के घरले मेरो ध्यान तानेको थियो ।

कहिले त्यसलाई बादलको पर्दाले छोप्थ्यो, कहिले त्यस घरमा मात्र घामको ‘स्पट लाइट’ पथ्र्यो, कहिले हुस्सुमा हराउँथ्यो अनि फेरि देखा पथ्र्यो । त्यही डाँडाको दक्षिणी थुम्को अचेलभरि प्याराग्लाइडिङ थालिने थलो बनेको पनि सुनेको थिएँ । त्यस ठाउँमा पनि म पुग्न चाहन्थें ।

लकडाउन भए पनि शहरबजारमा पो घुम्न भएन, वनपाखामा घुम्नाले के हानि होला भन्ने ठानेर लकडाउन लागू भएको दोस्रो दिन नै सर्दुखोला पश्चिमको त्यो डाँडो चढ्ने मन बनाएँ ।

साथी गर्नलाई पत्रकार भाइ गोपाल दाहाललाई गुहारें । ऊ भित्री बाटो हुँदै चतरालाइनबाट बिहानै जिरो पोइण्टमा आइपुग्यो र पुलिसको नजरबाट बच्दै हामी बाटो लाग्यौं । सात बज्दा त हामी सर्दुखोलामा बनेको नयाँ झोलुङ्गे पुल तरेर पारि पुगिसकेका थियौं ।

सर्दुको पूरै हुलिया चिन्न नसकिने गरी बदलिएको पाउँछु । नबदलियोस् पनि किन ? भयो होला केही नभए पनि ५४–५५ वर्ष म यतातिर नआएको । खोलाको नाममा छिपछिपे कुलो जस्तो पानी बगिरहेको छ ।

खयरका रूख, बयरका झ्याङ, सिमाली र असारे काँडाका रूख तथा अरु बुट्यानको झाडी भएका बगरमा दुवैतिर बाक्लो बस्ती बसेको छ । त्यसलाई जोगाउन तटबन्धको निर्माण भएको छ ।

भन्नलाई त सुकुम्बासी भन्छन् यहाँ बस्नेहरुलाई । तर, यिनीहरु वास्तवमा हुकुमवासी हुन् । सङ्गठित र शक्तिशाली छन् यिनीहरु, पार्टीहरुका ‘भोटबैङ्क’ हुन् । यिनीहरुको भोट निर्णायक हुन सक्छ । यसो त शहरी विकास र सुकुम्बासी बस्ती एक–अर्कासित अविभाज्य तवरमा गाँसिएका छन् जस्तो शरीर र शरीरको छायाँ ।

शहरको साइज अनुसार सुकुम्बासीको बस्ती पनि बढ्छ । नेपालका ठूला–साना हरेक शहर र नगरको हिस्सामा परेको छ सुकुम्बासी बस्ती । धरान अग्रस्थानमा परेको छ यस मामिलामा । सर्दुको पुछार जङ्गलको मुखसम्मै, पूर्वपट्टि सेउती खोला पूरै, धरानको माझमा रहेको खहरेको बगर र अरु पनि चेपचाप सुकुम्बासीको कब्जामा परेको छ र धरान सुकुम्बासीहरुका लागि ‘हटस्पट’ बनेको छ ।

सर्दु खोलाको जुन ठाउँमा अहिले झोलुङ्गे पुल बनेको छ, त्यसको ठीक पारिपट्टि ठूलो करमको रूख थियो जस्तो लाग्छ । ठूला झण्डै गोलाकार पात हुने त्यस रूखमुन्तिर धेरै पटक ओत लागेको थिएँ पानी पर्दा सानोमा । त्यहाँ अहिले उभिएको रूख त खरानेको रहेछ । मैले ठाउँ बिराएको हुनसक्छ वा करमको रूख ढालिएको हुनसक्छ ।

त्यस ठाउँबाट कालीखोला पुग्नलाई पनि सानोतिनो पहाड नै उक्लनुपथ्र्यो । तर, मोटर बाटोले ढिस्काहरु ताछिएको कारणले होला केही कदममै कालीखोला पुगियो । विचरा ! नाम मात्र कुनै यत्नले थामेर बसेको छ कालीखोला । सानो पानी बग्छ तिर्–तिर् गरेर ! हामी बर्खामा पौडी खेल्न र हिउँदमा गँगटा अनि बुधुना माछा मार्न जाने गथ्र्यौं कालीखोलामा ।

एक पटक बर्खामा पहिरो गएर ठूलो ढिस्को खस्नाले कालीखोलामा भव्य दह बन्न गएको थियो । हाम्रो त्यस सालको ठूलो स्विमिङ पुल भएको थियो त्यो दह । त्यहीँ हामीले डाइभ मार्न सिकेका थियौं र दह कसले छिटो पार गर्ने भनेर होड पनि हुन्थ्यो हामीबीच । अहिले त बरा कालीखोलाको यो हविगत भएछ ।

नहोस् पनि किन, मूल फुट्ने ठाउँतिर बस्ती बढेपछि ! जे होस्, केही भाग कच्ची मोटर बाटो र केही भाग पुरानो पैदल बाटो गर्दै हामी उकालो लाग्यौं प्याराग्लाइडिङ हुने थलोलाई लक्ष्य बनाएर ।

त्यति समय लागेन त्यहाँ पुग्न जस्तो मैले अनुमान गरेको थिएँ । धरानतिर फर्केको पहरो भएको त्यस थुम्कोलाई चिण्डेडाँडा भन्न थालेका रहेछन् अचेल मानिसहरुले । यसको भौतिक स्वरुप चिण्डो आकारको भएको हुनाले यो नाउँ परेको भन्छन् कोही । कोही भन्छन्, चिण्डे तालु जस्तो देखिने हुनाले यो नाउँ रहन गएको ।

बजारकाले चिण्डे नाउँ दिए पनि गाउँका रैथानेहरु चाहिँ यस ठाउँलाई रमिते डाँडा भन्न रुचाउने कुरा गोपालले सुनायो । उसैले बताएअनुसार नाम र यस ठाउँको उपयोगलाई लिएर यस भेगका राई र तामाङ समुदायबीच ठूलै विवाद चर्केको थियो रे एकपटक ।

पत्रकारसित घुम्न निस्कँदा हुने फाइदा भनेकै यही हो । केही न केही जानकारी उनीहरुको पोल्टामा रहेकै हुन्छ । त्यसले गर्दा हिँडाइ पनि रोचक हुन्छ ।

असली नाउँ जे भए पनि त्यस ठाउँमा प्याराग्लाइडिङ गतिविधिका कारण र त्यस ठाउँबाट देखिने धरानको ‘वाइड इगल भ्यू’ का कारण चल्तीफिर्ती बढेको बुझिन्थ्यो । त्यहाँ रहेका रेष्टुराँ र पसलहरु त्यस कुराको प्रमाण थिए । यद्यपि लकडाउनका कारण ती बन्द थिए हामी जाँदा ।

चिण्डे डाँडाबाट हेर्दा थाहा हुन्छ धरानको फैलावट । यो अब नगर मात्र कहाँ रह्यो र ! पूरै शहर बनिसकेको देखिन्छ पाखा, ढिस्का, खोल्सा, बगर, वन केही बाँकी नराखी अटेसमटेस घरहरु बनेका देख्दा ।

थाहै नपाई धरान निलो र रातो रङको जस्तापाताको शहर बनेको छ । लगभग सात दशकअगाडि धरानको जनसङ्ख्या केवल चार हजार चानचुन थियो भनेर कसले कल्पना गर्न सक्छ ?

चिण्डे डाँडा छाडेर हामी उकालो लाग्यौं अर्को बस्तीतिर । अमरहाट छेउको घरबाट मैले सधैँ देखिरहेको चहकिलो झिल्के रङको घर त्यसै बस्तीमा थियो र म त्यस घरलाई नजिकबाट हेर्न चाहन्थें । बाघखोप भन्दारहेछन् त्यस बस्तीलाई । त्यसबाट कुनै समय यो ठाउँ बाघको बासस्थल थियो होला भन्ने बुझाउँछ ।

यसको पश्चिमतर्फ तल गहिराइमा भालुखोप नाउँको अर्को बस्ती छ । त्यसको अर्थ पनि स्पष्ट छ । वन्यजन्तु विचरण गर्ने बेलाको सम्झना दिलाउने नाउँ हुन् यी । बाघखोपको त्यो चहकिलो रङको घर अरबको कुनै मुलुकमा काम गरेर आएको मनिसले बनाएको थाहा भयो ।

धेरै महŒवाकाङ्क्षी उद्देश्य बोकेर गएका थिएनौं हामी । त्यसैले त्यसदेखि मास्तिर निर्जन देखिने वनसहितको पहाडको थुम्कोले हामीलाई आऊ–आऊ भनेर डाके झैं लागे पनि हामीले बाघखोपलाई नै अन्तिम मुकाम बनायौं ।

त्यहाँबाट मास्तिर जानेतिर लागेनौं । उचाइ एक हजार मिटरभन्दा केही बढी मात्र भए पनि बाघखोप निकै शीतल थियो ।

बाघखोपकै एउटा दोकानमा जे जे मिल्यो खœयाक्खुत्रुक खाएर हामीले दिउँसोको छाक टा¥यौं । त्यसरी खाजा खाँदै गर्दा हाइकिङको मेरो ‘वीस लिस्ट’ गोपाललाई बताएँ ।

कुनै बेला भालुखोप, माछामारा जाने, शूलीकोटको ढाडपट्टिबाट महाभारत लेकको सिउरैसिउर साँगुरी भञ्ज्याङ पुगेर चिउरीबासको बाटो माथ्लो सर्दु हुँदै धरान निस्कने ।

भेडेटारबाट पैदल साँगुरी पुगी धारापानी गाउँ हुँदै लेउती खोला किनारको माखामा फेदी ओर्लने । साँगुरी वारिपारिको पैदल यात्रा धरान–धनकुटाको बाटो एकफेर ‘रिभिजिट’ गर्ने मेरो चाहना थियो, परेमा कतै बास नै बस्ने गरी ।

मेरो प्रस्तावित पैदल घुमाइमा आफूले साथ दिने र अचेलभरि ठाउँहेरी ‘होम–स्टे’ को सुविधा पनि मिल्ने कुरा गोपालले बतायो । मेरो हिसाबमा आउँदो बर्खायामतिर या बर्खालगत्तै फेरि धरान आएर ती ठाउँहरुमा जाने विचार रहेको बताएँ ।

बर्खाको पानीले नुहाएर काँचुली फेरेका पहाड र पाखाहरु स्विट्जरल्याण्डभन्दा केही कम नदेखिने मेरो ठम्याइ छ । फरक कति मात्र हो भने उनीहरुले आफ्नो देश स्याहारेर जोगाएका छन् र हामी आफ्नोलाई बिगार्न कम्मर कसेर लागेका छौं ।

यिनै तर्कनाका साथ हामी बाघखोपबाट केही तेर्पन र केही ओरालो बाटो भएर कालीमाटी नामको तामाङ बस्ती पुग्यौं, जहाँ एकजना भाइको गफमा अल्मलिएर निकै समय गुजा¥यौं ।

तर, पथप्रदर्शन गरेर तिनले हामीलाई सघाए पनि । नत्र हामी जङ्गलको भुलभुलैयामा पर्ने निश्चित थियो । अनि सालबोटे नामको मूलतः राई बस्ती हुँदै एउटा सेलरोटी पकाएर फेरि सर्दुको त्यही झोलुङ्गे पुल भए ठाउँ आइपुग्दा साँझको पाँच बजिसकेको थियो ।

आशा गरे जस्तो एक हप्तामा लकडाउन हटेन, बरु थपियो अर्को दश दिनका लागि । झन् कडा पारिँदै गयो लकडाउन । बिहान घुम्न निस्केकालाई लक्ष्य गरी पुलिसको गस्ती आउन थाल्यो ।

मानिसलाई लौराले पिटीपिटी घिच्याउँदै भ्यानमा कोचेर लगेको र दिनभरि हाईस्कुलको ग्राउण्डका ठिङ्ग्र्याउने गरेको कुरा म सुन्थें । भाग्यवश, पुलिस ज्यादतीबारे मैले सुन्न मात्र प¥यो, आफैले भोग्न भने परेन ।

गोपाल दाहाल काम गर्ने दैनिक पत्रिकाको प्रकाशन रोकिएकोले ऊ पनि लाग्यो परिवारसहित आफ्नो घर वराहक्षेत्रतिर । घुम्न जाने साथी नहुनाले र पुलिसको सक्रियता बढ्नाले फेरि कतै हाइकिङमा जाने सम्भावना भएन ।

तर, रोजै बिहान घरबाट आधा घण्टाको हिँडाइमा पुगिने पञ्चकन्याको डाँडामा जान्थें अनि सालको वनबीच प्राणायाम र योगाभ्यास गरिटोपल्थें । मेरा बितेका दिनका कैयन् रमाइला नरमाइला स्मृतिहरु गाँसिएका छन् पञ्चकन्याको वनसित । घना थियो त्यो वन उसबेला, सालका रूखबाहेक अरु कुकाठका रूखहरु पनि प्रशस्त थिए ।

यो पातलिएको छ मानव अतिक्रमणको चपेटामा परेर । वनको भित्री भागतिर धुरीको बलो हुने साइजका हुर्कंदै गरेका सालका रूख यही लकडाउनको मौका छोपेर निर्दयतापूर्वक काटिएका पाइन्छन् ।

मानिसको जनसङ्ख्याको साइज बढेसँगै वनजङ्गल, नदी–नाला, खोला–बगरको साइज द्रुत तवरले घटिरहेको अहिलेको बेलामा पञ्चकन्याको वन धन्न यति भए पनि जोगिएको छ, त्यसैमा सन्तोष मान्नु परेको छ ।
क्रमशः (साभारः हिमालखबर)

पथरीका पहिलो गाविस अ ...

पथरीशनिश्चरे/ मोरङको पथरी गाउँविकास समितिका पहिलो अध्यक ...

स्कुलबाट मटर बरामद ...

भण्टाबारी/ सुनसरी प्रहरीले एक बोर्डिङ स्कुलमा छापा मारी ...

स्वदेशी सुन्तलालाई क ...

धरान/ बेस्वादिला भए पनि विदेशबाट आयात गरिएका सुन्तला आक ...

बलात्कारसम्बन्धी नया ...

आइतबारको मन्त्रिपरिषद् निर्णयले बलात्कारसम्बन्धी अध्याद ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved