विजयपुर/ चार वर्षअघि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापित प्रदेश १ को पूर्व क्षेत्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला नाममै सीमित बनेको छ ।
२०७३ भदौ ८ गते तात्कालीन आइजीपी उपेन्द्रकान्त अर्याल, प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दास र अपराध अनुसन्धान विभागका प्रमुख एआईजीपी विज्ञानराज शर्माबीच सम्झौता भई उद्घाटन भएको थियो । आपराधिक गतिविधिमा हुने घटनामा संलग्नहरूको जटिल अनुसन्धानका लागि विधिविज्ञान प्रयोगशालामा परीक्षण हुने गरेको छ । अझ पछिल्लो ६ महिना यतादेखि परीक्षणमा आवश्यक पर्ने रसायनिक तत्व (केमिकल) अभाव हुँदा भिसेरा (भौतिक सबुत) लगायतको परीक्षण हुन सकेको छैन । पर्याप्त कर्मचारी पनि नभएको प्रयोगशालाका प्रमुख डिएसपी उकेशकुमार चौधरीले जानकारी दिए । उनका अनुसार दुई जना प्राविधिक मात्रै रहेका छन् । जसका लागि १० देखि १५ जना जनशक्ति आवश्यक पर्ने उनको भनाइ छ ।
यहाँ प्रदेश १ र प्रदेश २ मा भएका अपराधसम्बन्धी परीक्षण गर्ने गरिएको छ । उनले भने, ‘अहिले एक प्राविधिकसहित ५ जना जनशक्ति मात्र छौँ । बजेटको अभाव छ ।’ उनले थपे, ‘प्रदेश प्रहरी कार्यालयबाट ६ महिनादेखि केमिकल पठाएको छैन । त्यसैले काम गर्न सकिरहेका छैनौँ ।’ उनका अनुसार अहिले पनि अपराध जाँच गर्नका लागि सन् १९५० को दशकको थिनलेयर क्रोमोग्राफी (टिएलसी) उपकरण प्रयोग भइहेको छ । जसमा एउटा भिसेराको रिपोर्ट आउन १ महिना लाग्छ । उनले जिसीएमएस उपकरणले भिसेरा परीक्षण गर्ने हो भने रिपोर्ट १ दिनमा तयार हुने बताए । उनले भने, ‘एउटा जिसीएमएस उपकरणलाई १ करोडदेखि १ करोड ५० लाखसम्म पर्छ । अन्य मुलुकमा यही प्रयोग भइरहेको छ ।’
उनका अनुसार प्रतिष्ठानको प्रयोगशालामा भिसेरामा विष र रक्सी खाएको हो कि होइन भनेर मात्र परीक्षण गरिन्छ । अन्यका लागि केन्द्र नै पठाउनु पर्छ । भिसेरामा रगत, कलेजो, मिर्गौला र पेटको स्वाब परीक्षण गरिन्छ । अपराधका सङ्कलित नमुनाको ५० प्रतिशत टोक्सीकोलोजी (विषविद्या) सम्बन्धी नमुना आउने भएकाले सुरुमा यसको स्थापना गरेको उनको भनाइ छ । उनका अनुसार क्रमशः लागूऔषध र जीव विज्ञान, सेरोलोजी र डिएनएसम्बन्धी धरै मात्रामा आउने गर्छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भने, ‘केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालामा पठाउँदा धेरै समय लाग्थ्यो, अहिले केही सहज भएको छ ।’
यता सङ्घीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख एसएसपी राजेन्द्रप्रसाद चौधरी प्रतिष्ठानसँगको सहमतिमा केही समयका लागि सञ्चालन गरेको हो । अब आफ्नै भवन निर्माण गर्दैछौँ । अन्य परीक्षणका लागि पनि तयारी छौँ । सञ्चालनमा आएपछि न्याय सम्पादनमा केही सहज हुने उनी बताउँछन् । प्रदेश १ प्रहरी प्रमुख डिआईजी ईश्वरबाबु कार्कीले ब्लाष्टकर्मीसँगको फोन सम्पर्कमा केमिकल अभाव भएको विषयमा जानकारी नभएकोले बुझ्नुपर्ने बताए । उद्घाटन भएको ४ वर्ष बितिसक्दा पनि प्रयोगशाला पर्याप्त बजेटको अभावमा प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । प्रयोगशालामा बर्सेनि १ हजार भन्दा बढी भिसेरा परीक्षण हुने गरेको छ ।