धरान । कोरोना भाइरस सङ्क्रमितहरूमाथि भइरहेको उपचार विधि ‘प्लाज्मा थेरापी’ ले उपचारमा कुनै प्रभाव नपार्ने अध्ययनहरूले पुष्टि हुँदै गएको छ ।
धरानमा मात्रै प्लाज्मा थेरापी गरिएका दुई सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको थियो । धरान–८ र १५ का दुई जना वृद्धहरू प्लाज्मा थेरापी गरेको केही दिनपछि ज्यान गएको थियो । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पहिलो पटक धरान–८ का व्यवसायी नीरकुमार राजभण्डारीलाई प्लाज्मा थेरापी गरेको थियो । दोस्रो दिन धरान–१५ का अर्का व्यक्तिलाई पनि प्लाज्मा थेरापी गरिएको थियो ।
तर, दुवै जनाको ज्यान गएको थियो । भारतमा भएको एक अध्ययनले प्लाज्मा थेरापी उपचार विधिले कुनै प्रभाव नपार्ने निष्कर्ष निकालेको छ । भारतमा अहिले दैनिक चार अङ्कमा सङ्क्रमितहरूको ज्यान गइरहेको छ । भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) ले गरेको वित्त पोषित बहुकेन्द्रीय अध्ययनको क्रममा यस्तो निष्कर्ष निकालिएको हो ।
प्लाज्मा थेरापी गरिएका बिरामीहरूमा गरिएको अध्ययनमा कुनै प्रभाव नपरेको उल्लेख गरिएको छ । उक्त अध्ययन मेडरजिभ जर्नलले प्रकाशित गरेको छ । तर, अहिलेसम्म यो अध्ययनको विषयमा समीक्षा गरिएको छैन । कोरोना सङ्क्रमितमा गरिएको प्लाज्मा थेरापीको प्रभाव पत्ता लगाउनका लागि २२ अप्रिलदेखि १४ जुलाईसम्म ३९ वटा निजी तथा सरकारी अस्पतालमा रहेका बिरामीहरूको अध्ययन गरिएको थियो । जसका लागि १ हजार २१० जना बिरामीलाई सहभागी गराइएको थियो ।
त्यसमध्ये २३५ जना प्लाज्मा थेरापी गरिएका बिरामीहरू थिए । अध्ययनका क्रममा उनीहरूलाई उ्रत्कृष्ट हेरविचार पनि गरिएको थियो । त्यस्तै २२९ जनालाई सामान्य हेरविचार गरेर उपचार गरिएको थियो ।
जसमा प्लाज्मा थेरापी गरिएकामा १३ दशमलव ७ प्रतिशत अर्थात ३४ जनाको मृत्यु भएको पाइएको छ भने उत्कृष्ट हेरविचार गरिएकामा १४ दशमलव ६ प्रतिशत अर्थात् ३१ ज्ना बिरामीको मृत्यु भएको थियो ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जुन २७ तारिखका दिन प्लाज्मा थेरापीको उपचारको लागि अनुमति दिएको थियो । तर पनि खास प्रभाव पार्ने खाल्को नदेखिएको अध्ययनले देखाएको छ । रिपोर्टका अनुसार सहभागी गराएका बिरामीहरूको दैनिक ल्याब परीक्षणलगायत गरिएको थियो । २८ दिनसम्म टेलिफोनको माध्यमबाट स्वास्थ्य स्थितिका बारेमा आकलन गरिएको थियो ।
जहाँ प्लाज्मा थेरापी गरिएका र नगरिएका बिरामीको स्वास्थ्य अवस्था समान रहेको पाइएको रिपोर्टमा उल्लेख छ । अध्ययन भन्छ, ‘प्लाज्मा थेरापी मृत्यु दर कम गर्नका लागि गम्भीर बिरामीलाई प्रयोग गरिए पनि खास प्रभावकारी देखिएन ।’ चीन र नेदरल्याण्डमा पनि प्लाज्मा थेरापीलाई परीक्षण कालमा अनुमति प्रदान गरिए पनि प्रभावकारी नदेखिएपछि दुवै देशले रोक लगाएको थियो ।
तर, कतिपय देशले भने प्लाज्मा थेरापी धेरै प्रभावकारी भएको दाबी गरिरहेका छन् । हाल अमेरिकाले पनि प्लाज्मा थेरापीका लागि अनुमति प्रदान गरेको छ । विश्व स्वास्थ्य संगठनले पनि प्लाज्मा थेरापीलाई परीक्षणको अवधिका रूपमा लिएको छ ।