‘श्रद्धया क्रियते इति श्राद्ध’ अर्थात् श्रद्धापूर्वक सम्पन्न गरिने काम नै श्राद्ध हो । यही उद्देश्यले पुर्खाहरूले श्राद्धको सुरुवात गरेको देखिन्छ । दिवङ्गत पितृहरूको योगदानलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता भाव प्रकट गर्ने श्राद्धको सर्वोपरि महŒवको विषय हो भने यसैलाई केन्द्र बिन्दुमा राखेर श्राद्धको नवीन विकल्प विषयको चर्चा यस लेखको मूल आशय हो ।

ऋग्वेद, विष्णु पुराण, नृसिंह पुराण र गरुड पुराणआदि ग्रन्थहरूमा श्राद्धका विषयमा यथोचित चर्चा गरिएको पाइन्छ । मानव पुर्खाहरूले श्राद्धलगायत अनेक संस्कार र संस्कृति निर्माणमा तत्कालीन सोचअनुसार अनेक प्रयोग, प्रवद्र्धन तथा समसामयिक सुधार गर्दै संस्कृतिको जग बसाले । त्यही जगमा आधारित भएर यस लेखमा सरल तथा वैज्ञानिक श्राद्धको उचित विकल्प प्रस्तुत गरिएको छ । यसरी समसामयिक सुधार गरेर सबै संस्कारहरूमा सरल विधि अपनाए मात्र हिन्दू धर्म र संस्कृतिप्रति आकर्षण कायम रहने देखिन्छ ।

सोह्र श्राद्ध भनेर भाद्र प्रतिपदादेखि औंशीसम्मका १५ र पूर्णिमाको एक दिन गरी सोह्र तिथिमा गरिने श्राद्धका प्रकारहरू रहेका छन् । सोह्र श्राद्ध भनेको सबै पितृहरूको साझा श्राद्ध हो भनिएको छ । मानव पुर्खाहरूले श्राद्धका अनेक विकल्पहरू प्रस्तुत गरेका छन् । अमुक एक पितृको स्मृतिमा गरिने श्राद्धलाई एकोतिष्ठ, धेरै पितृहरूलाई सम्झेर गरिने श्राद्धलाई पार्वण वा महालय भनिएको छ । माङ्गलिक कार्य गर्नुअघि आभ्युदायिक श्राद्ध वा वृद्धि श्राद्ध, अमुक इच्छा पूर्तिको कामना गरी गरिने श्राद्ध काम्य श्राद्ध, शरीर स्वस्थ राख्न गरिने श्राद्धलाई पुष्टि श्राद्ध, पितृको मृत्यु भएको तिथिमा गरिने श्राद्ध एकोतिष्ठ, भनिन्छ । यसरी नै अविवाहित अवस्थामा मृत्यु भएका पितृ, माताका लागि गरिने श्राद्ध, अकाल मृत्यु दुर्घटना र आत्महत्याबाट मृत्यु भएका पितृहरूको गरिने श्राद्धहरूको सविस्तार चर्चा गरिएको छ ।

पुर्खाहरूले श्राद्धका सरल, सहज र सामावेशी विधिहरू पनि प्रस्तुत गरेका छन् । पद्म पुराण र मनुस्मृतिमा देखावटी रूपमा, प्रचार गर्ने उद्देश्यले तथा बडप्पन देखाउन गरिने श्राद्धको विरोध गरिएको छ । दिवङ्गत पितृलाई सम्झेर चार दिक्पाललाई फनफनी घुमेर प्रणाम गर्ने र सूर्यलाई एक अञ्जली पानी अर्पण गर्दा तथा गाईलाई घाँस खुवाउँदा पनि श्राद्ध हुन्छ भनिएको पाइन्छ । न्यूनतम् दक्षिणा दिन सकिँदैन, छैन भने सात वा आठवटा तिलका दाना जलका साथ अञ्जलीमा लिएर ब्राम्हणहरूलाई दिँदा पनि श्राद्ध हुन्छ, भनिएको पाइन्छ । त्यसैगरी आचार्य श्री पण्डित गोस्वामीले स्त्रीहरूलाई पनि श्राद्धको अधिकार शास्त्रले दिएको बताएका छन् । वाल्मीकि रामायणमा सीताले पिण्डदान दिएर दशरथको आत्मालाई मोक्ष मिलेको बताइन्छ ।

तर श्राद्धलगायत संस्कार तथा संस्कृतिभित्र चरम अन्धविश्वास र चरम रुढीवाद जीवित रहेको हुँदा यसभित्रका सकारको संरक्षण गर्दै नकारलाई निषेध गर्दै रूपान्तरित गर्नु आजको आवश्यकता हो । श्राद्ध गर्दा आयु, सन्तति, विद्या, स्वर्ग, मोक्ष सुखादि फल प्राप्त हुने कुरा बताइन्छ भने श्राद्धमा अर्पण गरिएका पिण्ड लगायत खाद्यपेय वस्तुहरू पितृहरूलाई पु¥याउने काम चाहिँ वसु, रुद्र र आदित्य नाम गरेका श्राद्ध देवताले गर्छन् भनिन्छ । यसरी संस्कार र संस्कृतिका क्षेत्रमा जहिलेदेखि अवैज्ञानिक र कपोलकल्पित विचारहरू ल्याइयो, त्यति बेलादेखि नै वैज्ञानिक र भौतिकवादी मतहरूले सबै खालका अन्ध धारणाको वस्तुपरक रूपमा खण्डन र विरोध गर्दै आएको संस्कृतिविद् निनु चापागाईं बताउँछिन् । हुन पनि प्रसिद्ध भौतिकवादी दार्शनिक चारवाकले श्राद्ध सम्बन्धमा व्यक्त गरेको वैज्ञानिक विचारबाट बोध गर्न सकिन्छ । उनले भनेका छन्,–
स्वर्गास्थिता यदा तृप्ति गच्छेयुस्तत्र दानतः
प्रसादस्योेपरि स्थानामत्र कस्मान्न दीयते ।
अर्थात् श्राद्ध गर्नाले स्वर्गमा बसेकाहरू तृृप्त हुन्छन् भने यही भवनको माथिल्लो तलामा बसेकाहरूलाई श्राद्ध गरेर तपाईंहरू किन तृप्त पार्न सक्नुहुन्न ?
तर वैदिक सनातन धर्म संस्कृतिभित्र विद्यमान उपर्युक्तखालका अनेक जीवनोपयोगी तथा भौतिकवादी वैज्ञानिक विषय ओझेल पारिएको देखिन्छ । यसरी संस्कार र संस्कृतिका नाममा चरम रुढीवाद र अन्धविश्वासलाई कलात्मक हस्तक्षेप मार्फत् नहटाएसम्म प्राप्त उपलब्धिको जगेर्ना गर्न सकिँदैन । प्रसिद्ध लेखक टीका धमलाले २०७७ भाद्र १७ गते प्रकाशित मदन भण्डारीसित तर्सिएको नेकपा शीर्षक लेखमा धर्मान्धता र अन्धविश्वासका अनेकन रूपहरू सामन्तवादका विरासतहरू समाजमा अझै जब्बर रहेको बताएका छन् । यस्तो संस्कृति र संस्कार सामन्तवाद ढले पनि भुइँ तहमा कायम रहेको धमलाको ठहर छ । उनले नेपालमा कानूनी रूपबाट छुवाछुत तथा जातिप्रथा उन्मूलन भएको ४५ वर्ष बितिसके पनि उपर्युक्त प्रकारको सामन्तवादी भेदभाव अहिले पनि व्याप्त रहेको बताएका छन् ।

हुन पनि सबै खालका यस्ता अन्धविश्वासहरू नीति, नियम र कानून मात्र बनाएर र माथिको आदेश, निर्देश र जोरजबर्जस्तीबाट हटाउन सकिन्न । यसका लागि संविधान र कानूनअनुसार व्यापक रूपबाट जनजागरण, जनचेतना र जनअभियान परिचालित गरेर आम जनतालाई नै सरिक वा अग्रसर गराएर उपर्युक्त कुरूप पक्षहरूलाई निस्तेज गर्न सकिन्छ । र यसरी गरिएको परिवर्तन वा रूपान्तरण दीगो पनि हुन्छ ।

सामन्तवादले हजारबार पढाएर, सुनाएर, सिकाएर, सदाएर त्यतिले मात्र नपुगेर सुमधुर गीत, सङ्गीत र स्वरमा अन्धविश्वासी तथा चरम रुढीवादी विचार प्रवाह गरेर जन मानसमा आफ्नो सांस्कृतिक प्रभाव गहिरो रूपमा स्थापित गर्न सफल भएको छ । यसले गर्दा आम नरनारी, बालवृद्ध वा वनिता सबैखालका अन्धविश्वासको डटेर आफै वकालत गर्छन् । ठीक यसैगरी आम जनतालाई बहुआयामिक रूपबाट प्रशिक्षित गरेर मात्र तमाम अन्धविश्वासका विरुद्धमा सरोकार समाज वा जनता समुदायलाई नै तयार गर्नु नै कलात्मक हस्तक्षेपको महŒवपूर्ण पक्ष हो । त्यसैगरी सरल र सहज विकल्प प्रस्तुत गरेर आम जनतालाई संस्कार र संस्कृतिका क्षेत्रमा उनीहरूलाई आफै विकल्प रोज्न र खोज्न छुट दिनुपर्छ । यसरी नै सुपाच्य तथा सहज रूपमा सांस्कृतिक रूपान्तरण गर्न सकिन्छ । यसरी मात्र जनताले संस्कृतिका सबै नकारलाई निषेध गर्ने सकारलाई स्वीकार गर्ने अवस्था उत्पन्न हुन्छ । मानव समाज संस्कार र संस्कृतिहीन हुन सक्तैन भन्ने पनि ख्याल नगर्ने अतिवादी उग्रवादी चिन्तन पनि समाजमा देखिन्छ । परम्परागत संस्कार तथा संस्कृतिका सकार केही पनि नदेख्ने र विरोध मात्रै गर्ने र त्यसको समयोचित विकल्प प्रदान गर्नुपर्ने कुरामा बेलैमा ध्यान पुग्नु जरुरी छ ।

नवीन श्राद्ध विधि भनेको गोष्ठीका रूपमा गरिने श्राद्ध हो । यसलाई श्राद्ध समारोह भन्न सकिन्छ । यस श्राद्धमा दिवङ्गत पुर्खाको फोटोसहित ब्यानरमा श्राद्ध समारोह लेखेर राख्ने अनि दियो, कलश र गणेश राखेर पूजा गरिन्छ । दिवङ्गत पितृको फोटोमा उपस्थित सबै परिवारजनले फूल अर्पण गर्छन् । एक मिनेट मौन धारण गरिन्छ । पण्डित वा अरू कुनै व्यक्तिद्वारा श्राद्ध गरिने पितृको पारिवारिक, सामाजिक, शैक्षिक तथा राजनैतिक आदि जेजति योगदान र भूमिका छन् तिनको व्याख्या गरिन्छ । यसैक्रममा पण्डितले पितृ–मातृ महŒवका वैदिक धर्म र संस्कृतिका सान्दर्भिक महŒवपूर्ण सूक्ति र उक्तिसहित संक्षेपमा प्रवचन गर्छन् । श्राद्ध समारोहमा उपस्थित घर, परिवार र नरनाताका अग्रज तथा अनुज पुस्ताका सामु दिवङ्गत पितृको व्यक्तित्व र कृतित्वको व्याख्यान गरिन्छ । परम्परागत श्राद्धमा भन्दा यस श्राद्धबाट दिवङ्गत पितृको व्यक्तित्व जान्न बुझ्न सक्छन् । यसरी गरिने श्राद्धले दिवङ्गत पुर्खाको महŒव बोध गराउनेछ र जीवित पुर्खाप्रति समयमै उचित आदर, कदर तथा सम्मान गर्ने परिपाटी बसाल्न सहयोग पुग्ने देखिन्छ । अन्त्यमा सामूहिक रूपमा निम्नानुसारको पितृ भजन गाइन्छ, प्रसाद खाइन्छ र श्राद्ध समापन गरिन्छ ।

जन्म जन्म हुँदै आयौँ, हामी यस धर्तीमा
माता पिताकै अंश लियौँ, शरीरमा
कोखकाख लिइकन हामीलाई हुर्काउने
ताते गरी हामीलाई अघि बढाउने
बाचुञ्जेल माया गरौँ, मरे श्रद्धाञ्जली
पिता पुर्खालाई सम्झौँ, झलझली

यस श्राद्धमा पिण्ड पानी दिने आदि परम्परागत श्राद्धका कुनै जटिल विधि र पद्धति अपनाइँदैन । यो विधिअनुसार संक्षिप्त रूपमा श्राद्ध सम्पन्न गरिन्छ । यसले पारिवारिक श्रद्धा तथा मैत्रीसम्बन्ध कायम गर्न ठूलो सहयोग पुग्ने देखिन्छ । यो श्राद्ध संविधानअनुसार समय सान्दर्भिक छ ।

नेपालको संविधान २०७२ को भाग ४ को राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व शीर्षक अन्तर्गत धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण उद्धेश्य राखेको छ । त्यसैले श्राद्धलगायत संस्कार र संस्कृतिमा अन्तर्निहित चरम अन्धविश्वासका कारण आम जनतालाई गरिने नैतिक, भावनात्मक तथा मनोवैज्ञानिक शोषण समाप्त गर्न जरुरी देखिन्छ । परिवर्तित राजनैतिक परिस्थिति अनुकूल संस्कार संस्कृति निर्माण र प्रवद्र्धन गर्दा मात्र प्राप्त उपलब्धि जोगाउन र यसलाई सबल बनाउन सकिन्छ । परम्परागत संस्कार र संस्कृतिमा टेकेर तिनमा रूपान्तरण गर्नु जाती हुन्छ । निषेधको निषेध नियमअनुसार कलात्मक हस्तक्षेप गर्दै सांस्कृतिक रूपान्तरणको प्रक्रिया अपनाउनु पर्छ । जननेता मदन भण्डारीले संस्कार र संस्कृतिमा अन्तर्निहित जनविरोधी सार तत्वलाई सुधारात्मक अभियान सञ्चालन गरेर रूपान्तरित गर्नुपर्छ भन्नुभएको छ । उहाँले अझ संस्कृतिका क्षेत्रमा अलिकति बलात् परिवर्तन प्रत्युत्पादक हुने ठहर गर्नु भएको छ ।

त्यसैले श्राद्धलगायत सबै संस्कृति र संस्कारमा अन्तर्निहित सबै नकारलाई निस्तेज गरेर मात्र परिवर्तित राजनीतिक उपलब्धिको जगेर्ना गर्न सकिन्छ । जीवनजगत्सम्बन्धी तमाम अन्धविश्वासका जगमा सामन्तवादी शासन व्यवस्था स्थापित, विकसित तथा सुदृढ हुन्छ भने ठीक त्यसको विपरीत सबै खालका अन्धविश्वास र रुढीवादबाट मुक्त समाजले मात्र गणतन्त्रको जग बलियो हुनसक्छ । परिवर्तित परिस्थितिअनुसार संस्कृति निर्माण र प्रवद्र्धनबाट मात्र समाजलाई गुणात्मक परिवर्तन गर्न सकिन्छ ।