धरान/ कोरोना भाइरसको सङ्क्रमण भए–नभएको तत्काल रिपोर्ट निकाल्ने पोइण्ट अफ केयर (पिओसी) नहुँदाको परिणाम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, नर्स र हेल्परहरूले भोग्नु परेको छ ।
प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकामध्ये मेडिसिन विभागको युनिट १ मा भर्ना भएका ३ जना, सर्जरी विभागको युनिट २ मा भर्ना भएका १ जना, आइसियुमा भर्ना भएका १ जना र कोरोना सङ्क्रमणको आशङ्कामा कोभिड अस्पतालमा भर्ना भएका ३ जना पुरुष गरी ८ जना एकैपटक सङ्क्रमित देखापरेपछि चिकित्सक र नर्सहरू आत्तिए । स्वास्थ्य प्रोटोकल र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार कोरोना महामारीयता कुनै पनि अस्पतालमा उपचारका लागि भर्ना हुने सबै बिरामी र उपचारमा संलग्न स्वास्थ्यकर्मीको पीसीआर जाँच अनिवार्य भएकाले प्रतिष्ठानले तीन महिनाअघि नै पिओसी मेसिन माग गर्दै आएको छ । प्रतिष्ठानको माइक्रोबायोलोजी विभागमा भएको प्रयोगशालामा रहेको पीसीआर मेसिनले रिपोर्ट निकाल्न ८ घण्टा लगाउँछ । झन् कोरोना महामारीको बेला पीसीआर जाँच गर्नका लागि सङ्कलित स्वाबको चाप अत्यधिक भएकाले रिपोर्ट आउन ३ दिन लाग्न थालेको छ ।
इमर्जेन्सी हुँदै थप उपचारका लागि वार्डमा भर्ना भएका बिरामीहरूलार्ई शुरुमै पिओसी मेसिनले जाँच गरेको भए उनीहरू वार्डमा भर्ना नभएर कोभिड अस्पतालमा भर्ना हुने थिए । तर पिओसी नै नभएपछि स्वास्थ्य प्रोटोकल र निर्देशिका गफैमा सीमित भएकाले उपचारमा संलग्न चिकित्सक तथा नर्सहरूले कोरोनाको जोखिमसँगै अनावश्यक सास्ती खेप्नु परेको छ । प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख प्रा.डा. सञ्जीव शर्माले भने, ‘अन्य शारीरिक वा मानसिक कारणले रोग भएका व्यक्ति उपचारका लागि इमर्जेन्सीमा आएपछि कोरोना सङ्क्रमित होला भनेर उपचार नगरी फिर्ता पठाउन चिकित्सकको धर्मले दिँदैन । तत्काल रिपोर्ट निकाल्ने पिओसी पनि हामीसँग छैन ।
पीसीआर रिपोर्टका लागि पर्खंदा समय लाग्छ । उपचार त गर्नैपर्यो जोखिम मोलेर भए पनि । अहिले त्यसैको परिणाम चिकित्सक, नर्स र हेल्परहरूले भोग्दै छौं ।’ उनलाई प्रतिष्ठान कोरोनाको ‘हटस्पट’ बन्ला कि भन्ने चिन्ता छ । खासगरी सप्तरी, सिरहा, उदयपुर, धनुषा र जनकपुरबाट रिफर गरिएका बिरामीमा अत्यधिक कोरोना सङ्क्रमण भएको पाइएको छ । सोमबार कोरोना पोजेटिभ देखिएका बिरामीहरू पनि तिनै जिल्लाका हुन् । उनले भने, ‘यस्तै तरिका हो भने प्रतिष्ठान कोरोनाको हटस्पट बन्ने खतरा बढेको छ ।’
यसअघि नै प्रतिष्ठानको स्त्री तथा प्रसूति विभाग अन्तर्गतको मेटर्नल आइसियुमा भर्ना भएकी एक सङ्क्रमित महिलाबाट ८ जना नर्स सङ्क्रमित भइसकेका छन् । आवासीय क्षेत्रमा बसेका तीन चिकित्सक पनि सङ्क्रमित भएका छन् भने उनीहरूका परिवार सबै गरेर २५ जनाबढी सङ्क्रमित भएका छन् । प्रतिष्ठानको कोरोना फोकल पर्सन डा.इन्द्र लिम्बूका अनुसार इमर्जेन्सी कक्षमा आएका ती बिरामीहरू रोगअनुसार विभिन्न वार्डमा भर्ना भएका थिए ।
उनले भने, ‘तीमध्ये मेडिसिन विभागको युनिट १ मा भर्ना भएकाहरूमध्ये एकजना सिरहाको भदैया गाउँपालिका, एकजना सप्तरीको राजविराज र एकजना जनकपुरको धनुषाका हुन् । आइसियुमा भर्ना भएका बिरामीको सिरहा गोविन्दपुर मलाहना गाउँपालिका ठेगाना रहेको छ भने सर्जरी विभागको युनिट २ मा भर्ना भएका बिरामी सप्तरीको सुरुङ्गा गाउँपालिकाका हुन् ।’
सङ्क्रमित बिरामीहरूलाई कोभिड अस्पतालमा सारिसकिएको डा. लिम्बूले बताए । उनीहरूसँग सम्पर्कमा आएका चिकित्सक, नर्स, कुरुवा आसपासका बेडका बिरामीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको पनि उनले बताए । मेडिसिन विभागको वार्डमध्ये युनिट १ सिल गरिएको छ भने चिकित्सक, नर्स र हेल्परहरूलाई प्रतिष्ठानकै क्वारेण्टिनमा पठाइएको छ ।