दमक/ स्वास्थ्यसंस्थाले सतर्कता नअपनाउँदा दमकमा कोरोना सङ्क्रमण झन् फैलिएको पाइएको छ ।

दमक नगरपालिकाले पहिलो पटक जारी गरेको पूर्ण लकडाउनसम्बन्धी सूचनामा दमकमा रहेका अस्पताल तथा स्वास्थ्य सेवा दिइरहेका सबै संस्थाहरूको ओपीडी सेवा पनि बन्द गर्न आह्वान गरेको थियो । सोही आह्वानपछि दमकमा रहेका आधा दर्जन निजी अस्पतालहरूले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गराए ।

निश्चित चिकित्सक र स्वास्थ्यकर्मीलाई मात्र अस्पतालमा बोलाएर बाँकीलाई अर्को निर्णय नभएसम्मका लागि घर बस्न अनुरोध गरेको छ । यहाँ कार्यरत चिकित्सकहरूले घर बाटै पनि बिरामीको सेवा गर्न पाउने व्यवस्था मिलाएको छ । जसमा निजी तथा सरकारी सबै चिकित्सकहरूको नाम र सम्पर्क नम्बरसमेत दमक नगरपालिकाले नियमित रूपमा प्रकाशन गर्दै आएको छ ।

विषम परिस्थिति भएकाले अति आवश्यक र जटिलबाहेक चिकित्सकीय सेवा लिन अस्पताल तथा अन्य मेडिकलमा जान नपरोस् भनेर नगरपालिकाले विषयगत चिकित्सकहरूको नाम, विशेषज्ञता, सम्पर्क नम्बरसहितको विवरण सार्वजनिक गरिरहेको नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले बताइन् । तर त्यसको उपयोग न नागरिकले गर्न जाने, न त चिकित्सकरूले नै त्यसको पालना गर्न र गराउन सके ।

कमिसन र आफ्नो शुल्कको लोभमा यस्तो सङ्क्रमणको समयमा पनि जेसिज चोकस्थित दमक फार्मेसीले ओपीडि सेवा सञ्चालन गरिरह्यो । सो फार्मेसीका सञ्चालकलाई नै शनिबार कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि सङ्क्रमणको जालो कहाँदेखि कहाँसम्म पुग्यो भनेर पहिचान गर्न झन् गाह्रो परेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमक फार्मेसीले बढी औषधि बेच्ने लोभ र चिकित्सकले आफ्नो शुल्क लिने स्वार्थका कारण कोरोनाको जोखिम झन् बढेको भन्दै स्थानीय नागरिकले चिन्ता व्यक्त गरेका छन् । फार्मेसीमा सङ्क्रमण देखिएपछि दमक चोकमा सञ्चालनमा आएका सबै मेडिकल तथा फार्मेसी स्वतःस्फूर्त बन्द भएका छन् ।

एकै दिन १७ जना सङ्क्रमित
दमकमा समुदायकासहित १७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमित हुनेहरूमा विद्युत् प्राधिकरणका ७ जना, नेपाल प्रहरीका ८ जना र एकजना औषधि व्यवसायी रहेका छन् ।

नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार दमकमा ३ महिलासहित १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । नगरपालिकाका स्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार नयाँ सङ्क्रमितमध्ये ८ जना क्वारेण्टिनमा बस्दै आएका छन् भने अन्य समुदायका रहेका छन् । यसअघि सङ्क्रमण देखापरेका विद्युत् प्राधिकरण दमक वितरण केन्द्रका कर्मचारीको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्दा सोही कार्यालयका ६ जना कर्मचारी र एकजना क्याण्टिन सञ्चालकमा कोरोना पुष्टि भएको हो । त्यस्तै दमक फार्मेसीका सञ्चालकमा पनि सङ्क्रमण पुष्टि भएको दमक नगरपालिका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराईले बताए ।

त्यस्तै आन्तरिक सरुवाका क्रममा विराटनगरबाट दमक आएका ८ जना प्रहरीमा पनि सङ्क्रमण देखिएको छ । ती प्रहरी विराटनगरबाट आएर ड्युटीमा नगई क्वारेण्टिनमा बसेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले बताए । कन्ट्याक्ट ट्रेसिङका क्रममा २ सय २७ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाउँदा त्यसमध्ये १७ जनाको रिपोर्ट पोजेटिभ आएको र १४ जनाको रिपोर्ट आउन बाँकी रहेको अधिकृत भट्टराईले बताए । शुक्रबार दमकमा एकजना शिक्षकमा सङ्क्रमण पुष्टि भएको थियो । यससँगै दमकमा अहिलेसम्म ६७ जना सङ्क्रमित भएका छन् । तीमध्ये १९ जना उपचारपछि घर फर्किएका छन् भने अन्यको कोभिड अस्पताल तथा विभिन्न होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य शाखाका अधिकृत भट्टराईले बताए ।

एक हप्ता लकडाउन थपियो
पहिलो चरणमा आंशिक लकडाउन गरेको दमकले दोस्रो चरणमा तरकारी पसल र खाद्यान्न पसलसमेत बन्द गर्ने गरी कडा लकडाउन गरेको थियो । यो अवधिमा पनि कोरोनाको जोखिम कम नभएको र समुदायस्तरमा पुग्ने क्रम नरोकिएकोले भदौ १३ गतेसम्ममा यही शैलीको लकडाउन अवधि थप्ने निर्णय भएको नगर प्रमुख रोमनाथ ओलीले बताए । अझै तरकारी र खाद्य पसल नखोल्ने गरी लकडाउन गरिएको छ ।

औषधिबाहेक अन्य सबै पसल बन्द गर्ने निर्णय भएको उनले बताए । औषधि पसलमा पनि सङ्क्रमण देखिएकाले औषधिबाहेकका अन्य कुनै पनि कारोबार र र सेवा पूर्णरूपमा निषेध गरेको जनाइएको छ । औषधि व्यवसायीले अनिवार्य मास्क र पञ्जा लगाउने र भौतिक दूरी कायम गर्ने, पसलअगाडि रेखाङ्कन गर्ने वा कुनै सङ्केत चिन्ह अनिवार्य लगाउनु पर्नेसमेत बैठकले निर्णय गरेको छ । अन्य कुनै पनि पसल, वित्तीय संस्था तथा सरकारी कार्यालय एवम् सार्वजनिक संस्थानहरू अर्को निर्णय नभएसम्मका लागि पूर्णरूपमा बन्द गर्ने निर्णय भएको उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले बताइन् ।

साउन ३२ गते बिहान ८ बजेदेखि भदौ ६ गते रातको १२ सम्मको लकडाउन शनिबार रातिबाट सकिएपछि लकडाउनको अवधि थपिएको हो । कोरोनाको जोखिम र सङ्क्रमण थप नफैलियोस् भन्नका लागि गरिएको लकडाउनको अवधिमा झन् धेरै सङ्क्रमित बढे । थपिएका सङ्क्रमितहरू अधिकांश समुदायस्तरका हुन् । यो अवधिमा मात्र १७ जनामा कोरोनाको सङ्क्रमण देखियो । १७ जनामध्ये ८ जना क्वारेण्टिनमा बसेका हुन् भने अन्य ९ जना समुदायस्तरका हुन् । विभिन्न सरकारी कार्यालय, संस्थान, वित्तीय संस्था र घरैमा बसेका बिरामीहरूमा सङ्क्रमण देखिएको दमक क्वारेण्टिन सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य–सचिव कुवेर भट्टराईले बताए । यो अवधि अर्थात् एक हप्तामा ४ सय ३२ जनाको स्वाब सङ्कलन गरिएको थियो । जसमध्ये २ सय १३ जनाको रिपोर्ट आएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको छ । अहिले पनि दैनिकजसो स्वाब सङ्कलन भइरहेको दमक नगरपालिकाले जनाएको छ ।