धरान/ कोरोना सङ्क्रमण भए–नभएको तत्काल पहिचान गर्ने मेडिकल उपकरण पोइण्ट अफ केयर (पीओसी) नहँुदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इमर्जेन्सी कक्षमा ल्याइएका बिरामी र वार्डमा भर्ना गरिएका बिरामीबाटै स्वास्थ्यकर्मीहरू सङ्क्रमित हुन थालेका छन् ।

प्रतिष्ठानको स्त्री तथा प्रसूति विभाग अन्तर्गतको मेटर्नल इण्टेन्सिभ केयर युनिट (एमआइसियु) मा उपचारका लागि भर्ना गरिएका बिरामी महिलाबाट पछिल्लो समयमा ६ जना नर्सहरू सङ्क्रमित भएका छन् । यसअघि प्रतिष्ठानकै सर्जिकल विभागको वार्डमा भर्ना भएका पुरुष र स्त्री तथा प्रसूति विभागमा सुत्केरी हुन आएकी एक महिलामा कोरोना सङ्क्रमण देखिएको थियो ।

प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरू हालसम्म १३ जना सङ्क्रमित भइसकेका छन् । एक चिकित्सकले आफ्नो नाम नलेखिदिन अनुरोध गर्दै भने, ‘प्रतिष्ठानमै पीओसी मेसिनको व्यवस्था भएको भए शङ्कास्पद बिरामीको तत्काल पीसीआर रिपोर्ट निकालेर वैकल्पिक उपाय अपनाउन सकिन्थ्यो र सङ्क्रमित बिरामीबाट चिकित्सक र नर्स सङ्क्रमित हुनबाट जोगिन्थे ।’

पीओसी मेसिनले बढीमा दुई घण्टाभित्र कोरोना भाइरसको सङ्क्रमण भए नभएको रिपोर्ट निकाल्न सक्छ । प्रतिष्ठानको इमर्जेन्सी कक्षमा दैनिक २ सयदेखि ३ सय बिरामी ल्याउने गरिएको छ । कोरोनाको महामारीमा जो कोही पनि सङ्क्रमित हुनसक्ने भएकाले इमर्जेन्सीमा वा भर्ना भएपछि वार्डमा राखेर थप उपचार गर्न प्रोटोकलअनुसार पीसीआर जाँच गर्नुपर्ने हुन्छ ।

इमर्जेन्सीमा ल्याएको सिकिस्त बिरामीको कोरोना डाइग्नोसिस गर्न प्रतिष्ठानले पीओसी रिपोर्टका लागि प्रदेश १ को प्रयोगशालामा स्वाब पठाउने र त्यहाँ पर्खेर रिपोर्ट ल्याउने गरेको छ । पीओसी मेसिन बिरामीको अत्यधिक चाप हुने रिफरल सेण्टरमा जडान हुनुपर्नेमा प्रदेशको प्रयोगशालामा राखिएकाले तत्काल रिपोर्ट निकाल्नका लागि धाउँदा समय मात्र जाने गरेको छ ।

प्रतिष्ठानका एक वरिष्ठ चिकित्सकले भने, ‘यता इमर्जेन्सीमा बिरामी मर्न लागेको हुन्छ । पीओसी रिपोर्टका लागि विराटनगरस्थित प्रदेश १ को प्रयोगशालामा धाउनु पर्छ । तर त्यस्तो मेसिन सरकारले प्रतिष्ठानमै राख्नुपर्ने हो । कम्तिमा दुईवटा जरुरी छ ।’

उनका अनुसार प्रतिष्ठानमा पीसीआर मेसिन भए पनि त्यसले रिपोर्ट निकाल्नका लागि कम्तिमा १० घण्टा लाग्छ । पछिल्लो समयमा पीसीआर जाँचको स्वाबको चाप अत्यधिक भएकाले कहिलेकाहीँ १० घण्टाको ठाउँमा २० घण्टासम्म लाग्ने गरेको ती चिकित्सकले बताए ।

कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिन थालेपछि प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालाको पीसीआर मेसिनले फुर्सद पाउन सकेको छैन । प्रदेशको प्रयोगशालामा तीन थान पीओसी मेसिन राखिएकाले दुईवटा मेसिन प्रतिष्ठानले माग गरेको तीन महिना हुन लागेको छ । आवश्यकताअनुसार माग गरेपनि सरकारले बेवास्ता गरेकाले पछिल्लो समयमा माग गर्न छाडेको प्रतिष्ठान स्रोतले बतायो ।

यसैबीच प्रतिष्ठानमा हालसम्म २५ हजार ४ सय १९ जनाको पीसीआर जाँच गरिसकिएको जनाइएको छ । प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाले भने, ‘तीमध्ये ५ सय ४२ जना पोजेटिभ देखिएका छन् । यसैगरी ३ सय ३० जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् भने सय जना कोरोना पोजेटिभ कोभिड–१९ अस्पतालमा भर्ना भएका छन् ।’ कोभिड अस्पतालको आइसियुमा ८ जना सङ्क्रमितको उपचार भइरहेको छ ।