धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको साउन ३० गते बसेको सञ्चालक परिषद् (सिनेट) बैठकले प्रतिष्ठानलाई आफैमा पूर्ण विश्वविश्वविद्यालय बनाउने निर्णय पारित गरेको छ ।
तर यो निर्णय प्रतिष्ठानको सिनेटले मात्र पारित गरेको हो । सिनेट पारित गरेअुनसार सरकारले प्रतिष्ठानलाई विश्व विद्यालयको मान्यता दिएमा मुलुककै पहिलो मेडिकल युनिभर्सिटी (प्राज्ञिक तहको स्वास्थ्य शैक्षिक संस्था) हुने छ ।
सत्ताका शीर्षनेता र मन्त्रीसम्म सोझै सम्बन्ध भएको अवस्थामा नेपालमा विश्व विद्यालय खोल्नु कुनै कसरत गर्नु पर्दैन, न त भौतिक पूर्वाधार नै चाहिन्छ । प्रतिष्ठानसँग त अर्बौं रुपैयाँ बराबरको भौतिक पूर्वाधारमात्र छैन, स्वास्थ्य शैक्षिक संस्था सञ्चालन गर्न आफ्नै दक्ष जनशक्ति र पाठ्यक्रम छ ।
विश्वविद्यालय खोल्नका लागि कुनै अवधारणा भए पुग्छ । नेपालमा भौतिक पूर्वाधार चाहिन्न । विश्वविद्यालय खोल्न आवश्यक भौतिक पूर्वाधार वा मापदण्ड के के पूरा गर्नुपर्छ भन्ने विषयले अर्थ राख्दैन, सरकारले साथ दिए पुग्छ । यसअघि खोलिएका विश्वविद्यालयको फेहरिस्तबारे जानकार प्रा.डा. राजेन्द्र शर्माका अनुसार पहिले अवधारणा हुनुपर्यो । त्यसपछि त्यसलाई सरकारले अनुमोदन गरिदिए पुग्छ । उनले भने, ‘हिजो पूर्वाञ्चल विश्वविद्यालयसँग के थियो र ? केही पनि थिएन । विराटनगरको एउटा घरको कोठामा भाडामा लिएर शुरु भएको हो । काठमाडौं विश्वविद्यालयसँग पनि केही थिएन, बानेश्वरको एउटा घर भाडामा लिएर शुरु भएको हो । नेपालमा खोलिएका अरू विश्वविद्यालयका कथा पनि यस्तै छन् ।’
विश्वविद्यालय खोल्नका लागि पहिले शिक्षा मन्त्रीले विश्वविद्यालय सम्बन्धी विधेयक पास गर्ने भनेर संसद्मा पेश गर्ने र संसद्ले पास गरेमा ऐन बनेपछि विश्वविद्याय खोल्ने बाटो खुल्थ्यो । पछिल्लो समयमा शिक्षा मन्त्रीले मन्त्रिपरिषद्बाट पास गराउनु पर्छ । यसका लागि कानून मन्त्रालयले विधेयकको मस्यौदा बनाउँछ । त्यसलाई परिषद्ले पास गर्नुपर्छ । उनले भने, ‘बीपी प्रतिष्ठानको सवालमा भन्ने हो भने यो संस्था आधिकारिक कानूनी रूपमा मेडिकल युनिभर्सिटीको रूपमा नदरिए पनि यसको आफ्नो सिस्टम विश्वविद्यालयकै जस्तो चलेको छ, विश्वविद्यालयको ट्याग मात्र नपाएको हो र अरू क्याम्पसलाई सम्बन्धन मात्र दिन सकेको छैन ।
बाँकी काम, प्रणाली एउटा पूर्ण विश्वविद्यालयकै जस्तो छ ।’ उनकाअनुसार जसरी अन्य विश्व विद्यालयका शीर्षस्थ पदाधिकारीमा प्रधानमन्त्री कुलपति, स्वास्थ्य मन्त्री सह–कुलपति, संस्थाको कार्यकारी प्रमुख उपकुलपति, उनलाई सहयोग गर्ने शिक्षाध्यक्ष, निर्देशक र रजिष्ट्रार हुन्छ, आफ्नै विधान हुन्छ, त्यसरी नै बीपी प्रतिष्ठानको प्रणाली पनि चलेको छ । उनले थपे, ‘विश्व विद्यालय बनाउनका लागि शिक्षा मन्त्रालय, कानून मन्त्रालयको पनि साथ चाहिन्छ ।’
प्रा.डा. टङ्क न्यौपानेले मेडिकल क्षेत्रमा नेपालकै प्रमुख गहनाको रूपमा रहेको बीपी प्रतिष्ठानसँग विश्वविद्यालय बन्ने पर्याप्त मापदण्डहरू रहेको बताए । अन्य विश्वविद्यालयको भन्दा बढी महŒव बीपी प्रतिष्ठानको रहेको उल्लेख गर्दै उनले भने, ‘मेडिकल युनिभर्सिटीको रूपमा बीपी प्रतिष्ठान स्थापित हुनु भनेको दक्षिण एसिया मात्र होइन, विश्वमा एउटा दरिलो नाम नेपालको तर्फबाट फैलिनु पनि हो ।’ तर उनले पछिल्लो समयमा विश्वविद्यालय खोल्ने बहानामा करोडौं रुपैयाँको आर्थिक चलखेल हुने भएकाले प्रतिष्ठानलाई अरूलाई सम्बन्धन दिन नपाउने गरी ‘मानित’ विश्वविद्यालय बनाउनु पर्ने बताए । उनले भने, ‘विश्वविद्यालयमा उपकुलपति सर्वेसर्वा हुन्छ । उपकुलपतिले चाहेको कुनै पनि स्वास्थ्य शैक्षिक संस्थालाई आर्थिक लोभमा परी सम्बन्धन दिन थाल्यो भने फेरि मेडिकल शिक्षामा अर्को विकृति थपिन्छ ।’
विश्वविद्यालयको रूपमा मान्यता प्राप्त गरेपछि उक्त संस्था सञ्चालन गर्न सरकारले विश्वविद्यालय अनुदान आयोगमार्फत् ८० प्रतिशत आर्थिक अनुदान दिने गरेको छ । नेपालका विभिन्न विश्वविद्यालयहरू यसरी नै चलेका छन् । प्रतिष्ठान आफै विश्वविद्यालयकै प्रणालीमा चलेकाले यदि सरकारले विश्वविद्यालयको मान्यता दिएमा आर्थिकरूपमा केही सहज हुने प्रा.डा. न्यौपानेले बताए ।
विश्वविद्यालयको मान्यता प्राप्त गर्नका लागि प्रतिष्ठानको यसअघि बसेका सिनेट बैठकको निर्णयहरू कागजका खोस्टा सावित भएका थिए । पछिल्लो समयमा दुईतिहाइको सरकार रहँदै प्रतिष्ठानलाई विश्वविद्यालयको रूपमा स्थापित गरे अहिलेका चार पदाधिकारीहरू उपकुपति प्रा.डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल, अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साह र रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मी र अन्य अग्रज विभागीय प्रमुखहरूको नाम नेपालको मेडिकल शिक्षाको इतिहासमा सुनौलो अक्षरमा लेखिनेछ ।
हुन त प्रतिष्ठानबाट उत्पादित दक्ष चिकित्सक, स्वास्थ्य प्राविधिक र नर्सहरूले नेपालका बाँकी २० वटा मेडिकल कलेजमा पढाउने, उपचार सेवा दिने गरेका छन् । कतिपयले विदेशमा आफ्नो पहिचान बनाएका छन् । अन्तर्राष्ट्रियजगत्का मेडिकल युनिभर्सिटीमा रहेका मेडिकल कलेज वा अस्पतालहरूमा बीपी प्रतिष्ठानको ब्राण्ड बिना हिच्किचाहट बिक्ने गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले भने, ‘प्रतिष्ठानलाई मेडिकल युनिभर्सिटी बनाउन सबैखाले पूर्वाधार पर्याप्त छ, हामीसँग भौतिक पूर्वाधारदेखि दक्ष जनशक्ति पनि छ । त्यसमा विशिष्टीकृत अध्ययन, उपचार र अनसन्धानमा मुलुककै अब्बलमा दरिन्छौं । यसर्थ, विश्वविद्यालय बनाउनका लागि आवश्यक प्रक्रिया शुरु गरेका छौं ।’