दमक/ अन्य स्थानबाट दमक आउनेलाई अनिवार्य क्वारेण्टिनमा राखिने भएको छ ।

शुक्रबारदेखि दमक प्रवेश गर्नेले नगरपालिकाबाट अनुमति लिनु पर्ने र अनिवार्य क्वारेण्टिन बस्नु पर्ने गरी निर्णय गरेको छ । बिहीबार दमक नगरपालिकामा भएको सर्वपक्षीय भेलाबाट यस्तो निर्णय गरिएको हो ।

साथै बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र बजार खोल्न पाइने, साँझ ६ बजे देखि बिहान ६ बजेसम्म हिँडडुल गर्न नपाइने, १० जनाभन्दा बढी भेला हुन नपाइने, मोटरसाइकलमा एक जना र सिटी, टेम्पोमा २ जना मात्र यात्रा गर्न पाइनेलगायतका निर्णय भएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए । यो निर्णय आज (शुक्रबार) देखि लागू हुने भएकोले कार्यान्वयन गर्न र गराउन सबै पक्षसँग नगरपालिकाले अनुरोध समेत गरेको छ ।

पूर्ण लकडाउनको माग
दमकमा बिहीबारसम्म १४ जनाको कोरोना भाइरस कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये एक महिला र एक पुरुष समुदायस्तरका रहेका छन् भने अन्य १२ जना क्वारेण्टिनमा बसेकाहरूमा देखिएको हो । वैशाख १२ गते दमक–३ का एक पुरुषमा देखिएको सङ्क्रमण नै दमकको समुदायस्तरमा देखिएको र पहिलो सङ्क्रमण पनि हो ।

त्यसयता एक जना होम क्वारेण्टिनमा बसेकी महिलामा कोरोना सङ्क्रमण देखिएको थियो । दुवैजनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अन्य १२ जना भारतसहित विभिन्न देशबाट फर्केर क्वारेण्टिनमा बसेकाहरूमा देखिएको हो ।

यद्यपि दमकका अन्य छिमेकी पालिका र व्यापारिक सम्बन्ध रहेका पालिकाहरूमा सङ्क्रमणको उच्च जोखिम देखिएकोले दमक केही दिनका लागि लकडाउन गर्दा उपयुक्त हुने सुझाव दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकुल श्रेष्ठको भनाइ छ ।

आंशिक नै प्रभावकारी
तर भेलामा सहभागी अधिकांशले लकडाउन नै अन्तिम समाधान नरहेकोले सजगता अपनाउनु पर्नेमा जोड दिएका थिए । आम्दा अस्पताल दमकका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश शर्माले लकडाउन गर्दा अस्पतालमा बिरामीले उपचार गर्न नपाएर ज्यान जानसक्ने, समयमा आउन नसक्ने जस्ता समस्या हुनसक्ने भएकोले लकडाउन गर्न नहुने तर आवश्यक सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नु नै महत्वपूर्ण हुने बताए ।

नेपाली काङ्ग्रेस दमक नगरसमितिका सभापति रोशन विष्टले भीडभाड हुने क्षेत्रमा सुरक्षाका उपाय अपनाउन कडाइ गर्न सुझाव दिए । सब्जी बजार, अस्पताल, सरकारी कार्यालयमा समयतालिका लगायत कुरालाई व्यवस्थित बनाउन राप्रपाका केन्द्रीय सदस्य राम थापाको सुझाव रहेको छ ।

रिपोर्ट आउन ढिलाइ
दमकमा अहिले पनि दैनिक जसो स्वाब सङ्कलन भइरहेको छ । क्वारेण्टिनमा मात्र होइन, अन्य क्षेत्रमा पनि भीडभाड बढी हुने क्षेत्र सब्जीमण्डी, मेडिकल तथा औषधि पसल, सुरक्षाकर्मी, सरकारी कार्यालयका कर्मचारी, सञ्चारकर्मीलगायतको स्वाब सङ्कलन भइरहेको छ ।

तर सङ्कलन गरिएको स्वाबको रिपोर्ट आउन ढिलाइ हुने भएकोले स्वाब सङ्कलन गरेकाहरूलाई रिपोर्ट नआएसम्म होल्ड गरेर राख्न चुनौती देखिएको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताइन् । उनले १० दिनसम्म पनि स्वाब सङ्कलन गरेर पठाएको रिपोर्ट नआएको बताइन् ।

सङ्कलन गरिएको स्वाब, विराटनगर, धरान, भद्रपुरमा पठाउँदा १० दिनदेखि कुनै रिपोर्ट नआउँदा स्वाब सङ्कलन भएकाहरू अताल्लिइरहेको उनले बताइन् । यसलाई व्यवस्थित र द्रुत गर्न सम्बन्धित निकायलाई उनले अनुरोध गरेकी छन् ।

आय–व्यय सार्वजनिक
साथै भेलामा चैत ११ गतेदेखि असार मसान्तसम्म नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्चको आय–व्ययसमेत सार्वजनिक गरिएको थियो ।

जस अन्तर्गत विभिन्न सहयोगी संस्था, नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, विपद् कोष, सहितको गरेर कुल १ करोड १८ लाख ८ हजार ३ सय रुपैयाँ कोषमा जम्मा भएको र यसमा राहत, स्वास्थ्य सामग्री, क्वारेण्टिन व्यवस्थापन लगायत क्षेत्रमा गरी कुल १ करोड १३ लाख ५३ हजार ५९ हजार रुपैयाँ खर्च भएको छ । कोषमा अब ५ लाख ५५ हजार २ सय ३१ रुपैयाँ मात्र मौज्दात रहेको तथ्याङ्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले प्रस्तुत गरे ।