विराटनगर/ कोरोना सङ्क्रमणबाट बुधबार विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा मृत्यु भएका विराटनगर–३ का एक पुरुषको समयमा भेण्टिलेटर नपाएर मृत्यु भएको खुलेको छ । समयमा उचित उपचार पाउन नसकेकाले ज्यान गुमाउनुपरेको मृतकका परिवारका सदस्यले गुनासो गरेका छन् ।
५७ वर्षीय ती पुरुषलाई २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा रहेका ती सङ्क्रमित २६ साउनमा श्वास–प्रश्वासमा समस्या भएपछि कोभिड अस्पताल भर्ना भएका थिए । ‘ज्वरो नघटेर श्वास–प्रश्वासमा समस्या भएपछि कोभिड अस्पताल भर्ना गरेका थियौं’ मृतकका साइलो भाइले ब्लाष्टसँगको टेलिफोन सम्पर्कमा भने, ‘बुधबार दिउँसो साढे ११ बजेसम्म बुबा र आमासँग कुराकानी गर्नुभएकोे थियो ।’
अस्पतालले भेण्टिलेटरमा अक्सिनजन नपाएर मृत्यु भएको मृतक परिवारको आरोप छ । मृतककी छोरीले भनिन्, ‘सास रहुन्जेल आश हुन्छ भनेर उपचार गर्न पठाएका थियौं । तर, अस्पतालले भेण्टिलेरमा नराखी उपचार गरेको कारणले बाबुको मृत्यु भयो ।’
उपचार शुरु गर्नुअघि कोरोना रिपोर्ट पोजेटिभ आएपछि सेनाले शव बुझेर अन्त्येष्टि गरेको थियो । मृतकका साइलो भाइले शुरुमै भेण्टिलेटरमा उपचार पाएको भए दाजुलाई बचाउन सकिन्थ्यो भन्ने आशा भएको बताए । ‘समयमा नै भेण्टिलेटर पाएको भए दाजु बाँच्नुहुन्थ्यो कि भन्ने थियो’ उनले भने, ‘धेरै अस्पतालमा पर्याप्त उपकरण नहुँदा दाजुले ज्यान गुमाउनुपर्यो ।’ मृतकका तीन छोरी र श्रीमती रहेका छन् । मृतक विराटनगरस्थित विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारी पनि हुन् ।
कोशीको कोभिड उपचार केन्द्र बेहाल
प्रदेश १ सरकारले विराटनगनरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्र पुरानो नेसनल ट्रेडिङको भवनमा बनाएको छ । १० औँ दिनमै कोभिड अस्पतालको उद्घाटन गरिएको थियो । भेण्टिलेटरसहितको ५० शय्याको अस्पताल बनाएको त्यसबेला प्रदेश सरकारले पत्रकार सम्मेनल गरी जानकारी गराएको थियो । तर त्यही अस्पतालमा भर्ना भएका लक्षणसहितका बिरामीले अक्सिजनको अभावमा छट्पटाएर मृत्युवरण गर्न बाध्य हुनुपरेको छ ।
कोभिड अस्पतालमा बुधबार मृत्यु भएका पुरूष प्रतिनिधिमूलक घटना मात्र हो । यसअघि कोशी अस्पतालको आइसोलेसनमा पनि अक्सिजन नपाएर एक जना कोराना सङ्क्रमित विराटनगर–९ का ४५ वर्षीय पुरूषको मृत्यु भएको थियो । विराटनगरमा मात्र बुधबारसम्म कोरोनाको कारण पाँच जनाको मृत्यु भइसकेको छ । यसअघि बूढीगङ्गा, रङ्गेली र सुनवर्षीका १–१ जना गरी मोरङमा मात्र आठ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन् ।
कोशी अस्पतालका प्रवक्ता डाक्टर लक्ष्मीनारायण यादवका अनुसार अस्पताल ५० शøयाको भए पनि ५८ बिरामी भर्ना गरिएकोले असहज भएको जानकारी दिए । जसमध्ये ६ बिरामीले मात्र अक्सिजन पाउँछन् । सेण्ट्रल सप्लाइबाट ६ वटा शøयामा मात्र अक्सिजन आपूर्ति गरिएको छ ।
यही अक्सिजन समयमा नपाएपछि विराटनगर–३ का ५७ वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको हो । मृत्यु भएका पुरुष दम र मधुमेहका बिरामी भएको अस्पतालका डाक्टर दीपक सिग्देलले जानकारी दिए । उनले उपचारको क्रममा बिरामीको मृत्यु भएको बताए । अस्पतालका अनुसार उनी अस्पतालमा भर्ना हुँदै अक्सिजनको मात्रा ८४ प्रतिशत मात्र थियो ।
कोशी कोभिड अस्पतालमा बिरामीको उपचारका लागि न्यूनतम् पूर्वाधार रहेको बताइएको छ । अस्पतालमा अक्सिजनका ३० सिलिण्डर छन् । एउटा सिलिण्डर खाली भएपछि अर्को जडान गर्न एक घण्टाभन्दा बढी समय लगाइन्छ । यसका कारण पनि बिरामी छट्पटाएर अत्यन्तै पीडामा मर्नुपर्ने बाध्यता छ ।
अस्पतालमा ‘हाई ब्लो’ अक्सिजनको व्यवस्थापन गरिदिन अस्पतालका को–अर्डिनेटर तथा वरिष्ठ फिजिसियन डा. डेनप्रसाद आचार्यले मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई धेरै पटक अनुरोध गरे पनि राई र घिमिरेले यस कुरालाई कहिल्यै गम्भीरताका साथ नलिएको बुझिएको छ । पर्याप्त उपकरण जडान नभएपछि डाक्टर आचार्य कोभिड अस्पतालको को–अर्डिनेटर पद छाडेका छन् ।
अस्पतालमा ६ वटा भेण्टिलेटर भए पनि पूर्ण रूपमा सञ्चालनमा नरहेको अस्पतालमा कार्यरत एक चिकित्सकले बताए । भेण्टिलेटर पाइपलाइनमा समस्या भएकोले अक्सिजनको सप्लाइ राम्रोसँग नचलेको बताइएको छ । अस्पतालमा रहेको भेण्टिलेटर सञ्चालन गर्न आवश्यक पर्ने न्यूनतम् औषधि र प्राविधिकको व्यवस्था पनि नभएको ती चिकित्सकको भनाइ छ ।
यसले गर्दा बिरामी अलिकति सिरियस हुनेबित्तिकै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने गरिन्छ ।
अस्पतालमा कार्यरत डाक्टर सिग्देलले त्यहाँ कम्तीमा पनि डबल म्यानिलोल्डको अक्सिजन सिलिण्डरको व्यवस्था गरिनुपर्ने सुझाव दिए । डबल म्यानिलोल्डको अक्सिजन सिलिण्डर भएमा ५ घण्टा चलाउन सकिने र उपचारमा सहज हुने उनको भनाइ छ ।
कोशी अस्पतालका सुपरिटेण्डेण्ट डा. चुमनलाल दासले भेण्टिलेटर चलाउने जनशक्तिसहित थप उपकरण उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरिएको बताए । ‘सिलिण्डरमा रहेको अक्सिजन राख्न मिल्ने मेनिफोल्ट पाँच थान माग गरेका छौं’ उनले भने, ‘सो उपकरण आएपछि उपचारमा थप सहज हुनेछ ।’