धरान/ समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन थालेको छोटो अवधिमै धरान ‘हटस्पट’ बन्ने खतरा बन्दै गएको छ ।
साउन १४ गते पहिलो पटक समुदायस्तरमा धरान–१३ का २८ वर्षीय युवकमा कोरोना देखिएको थियो । त्यसयता १४ दिनमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रूपमा बढेको पाइएको छ । ट्राभल हिस्ट्री नभएकाहरूमा कोरोना देखिने क्रम जारी हुनुले त्यही सङ्केत गर्न थालेको छ ।
साउन १४ गते अघिसम्म एका–दुईमा कोरोना सङ्क्रमण देखिए पनि साउन १४ यता भने रफ्तारमा बढ्न थालेपछि आम धराने चिन्तित बनेका छन् । यहीबीचमा स्थानीय सरकारले लकडाउनलाई तीव्रता दिएको छ । समुदायस्तरमा कोरोना देखिन थालेयताको १४ दिनमा मात्रै २७ जनामा कोरोना देखिएको छ ।
कोरोना देखिएका युवा धरानको औद्योगिक क्षेत्रमा सञ्चालित प्रिती भल्भ एण्ड फिटिङ्स इण्डष्ट्रिजमा अडिटरको रूपमा कार्यरत थिए । त्यहीँ कार्यरत एकाउण्टेण्ट जो जनकपुर आउ–जाउ गर्ने गरेका थिए, उनैको सम्पर्कबाट ती अडिटरमा पनि कोरोना देखिएको थियो ।
ती युवा जिम जाने र साथीभाइको सम्पर्कमा रहिरहेकाले पनि कोरोना एकपछि अर्कोमा सर्दै गएको कन्ट्याक्ट ट्रेसिङ (उनीसँगै उठबस, भेटघाट र हिँडडुल गरेका अर्थात् सम्पर्क पहिचान) मार्फत् पत्ता लागेको थियो । धरानमा प्रिती भल्भ र क्रञ्च फिटनेस कोरोना सङ्क्रमणको ‘इपिसेण्टर’ बनेको धरानका बुद्धिजीवी प्रा.डा. राजेन्द्र शर्मा बताउँछन् ।
तर, उनले अहिले नै हटस्पट बन्ने खतरा भने नभएको बताए । ‘हटस्पट बन्ने खतरा छैन, भारत आउजाउको सम्भावना कम भएकाले अहिले नै हटस्पट बन्ने स्थिति चाहिँ छैन’ उनले भने, ‘आमरूपमा नागरिक तहमा फैलिएर गएको जस्तो लाग्दैन, धरानकै दूरदराजका वडामा छैन । यसको अर्थ सङ्क्रमण छैन ।’
अहिले धरानमा तीनवटा वडाबाहेक अन्य वडामा कोरोना सङ्क्रमित नदेखिएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार धरानको २०, १२ र १४ नम्बर वडामा हालसम्म कोरोना सङ्क्रमित देखिएका छैनन् । तर, केहीले स्वाब सङ्कलन जुन रफ्तारमा हुनुपर्ने हो, त्यो अनुसार नभएका कारणले कम देखिएको हुनसक्ने आशङ्का गर्दै आइरहेका छन् ।
हालसम्म धरान नगरले समुदायस्तरमा २ हजार ३ सय ६९ जनाको स्वाब सङ्कलन गरिसकेको छ । त्यसमध्ये १ हजार ९ सय ६२ जनाको रिपोर्ट आइसकेको छ । त्यसमा ६२ जनामा कोरोना देखिएको छ । जसमा विदेशबाट आएका ३५ छन् भने समुदायस्तरका २७ जनामा कोरोना देखिएको छ ।
‘लकडाउन लामो भयो भने निकै कण्ट्रोल गर्न सकिन्छ’ महाशाखाका प्रमुख मेहताले भने, ‘जतिलाई पोजेटिभ देखिएको छ, उनीहरूको क्लोज कन्ट्याक्ट र कन्ट्याक्ट ट्रेसिङ भयो भने नियन्त्रणमा आउन सक्छ ।’ उनका अनुसार पीसीआरको दायरा पनि बढाउँदै लगेकाले पनि हटस्पट बन्ने खतरा कम रहेको छ ।
नगरले क्लोज कन्ट्याक्ट अर्थात् कोरोना सङ्क्रमितसँग १५ मिनेटभन्दा बढी उठबस र समय व्यतीत गरेको र एक मिटरको दूरीभन्दा कममा रहेर बसेकालाई परीक्षण गर्ने काम भइरहेको उनले बताए । अब भने जोखिम क्षेत्रको पहिचान गर्दा विशेषगरी दूध र तरकारी घर–घरमा पुर्याउने, विभिन्न सामान होम डेलिभरी गर्ने, औषधि व्यवसायी र धरान उपमहानगरको सरसफाइमा काम गर्ने कर्मचारीहरूको स्वाब सङ्कलन गरेर जाँच गर्नुपर्ने विज्ञहरू सुझाउँछन् । हाल धरान–१५ मा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन् ।