भद्रपुर / झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले सुरक्षा मापदण्डमा लापरबाही गरेको पाइएको छ । अस्पतालको एउटै भवनमा अन्य बिरामी र कोरोना सङ्क्रमितका बिरामी पनि राखेर उपचार शुरु गरेपछि स्थानीयमा त्रास बढेको हो ।

अस्थायी क्वारेन्टिानको जतिको पनि सुरक्षा मापदण्ड अस्पतालले गरेको देखिदैन । साविकको मेची अञ्चलका चार जिल्लाको एकमात्र सरकारी अस्पतालमा उपचार गराउन आउने गरिब तथा विपन्न बिरामीलाई कोरोना भाइरसबाट जोगाउन मेची अस्पतालमा त्यस्तो केही स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएको छैन् ।
कोरोना सङ्क्रमित र अन्य बिरामीलाई एउटै भवनभित्र राखेर उपचार गराउन अनुमति दिएका अस्पताल व्यवस्थापन तथा सञ्चालक समिति र जिल्ला स्तरीय कोभिड नियन्त्रण तथा रोकथाम समिति समेत चुपचाप बसेका छन् ।

अस्पतालको आकस्मिक कक्ष, ओपिडी सेवा, प्रसूति सेवा जाने बाटो र कोरोना सङ्मितलाई आइसोलेसनमा राखेर उपचार गराउने बाटो एउटै प्रयोग गरिएको छ । यसले गर्दा अस्पतालमा अन्य उपचार गराउन जाने बिरामी समेत कोरोना भाइरस सर्ने डरले जान छाडेका छन् । मेची अस्पतालमा हाल भइरहेको गतिविधि नेपालमा नै पहिलो भएको स्थानीय औषधि व्यवसायी ससीम पोखरेल बताउँछन् । भवन एउटा भए पनि बाटो र स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाएको प्रति उनले गुनासो गरे ।

मेचीमा कोरोना सङ्क्रमितका बिरामी राख्नुका साथै केही दिन यताबाट पिसीआर परीक्षण पनि शुरु गरिएको छ । जिल्लास्तरीय कोभिड नियन्त्रण तथा रोकथाम समितिले मेची अस्पतालको नयाँ भवनमा कोरोना उपचार केन्द्र र स्वास्थ्य कार्यालय झापाको प्रयोगशालामा पिसीआर ल्याब सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, समितिले गरेको निर्णय उल्टाएर दुवै सेवा मेची अस्पतालको भवनमा सञ्चालन गरिएको छ । अस्पताल नजिकै कोरोना सङ्क्रमितको उपचार सेवा हुन नदिन भन्दै स्थानीयले सङ्घर्ष समिति गठन गरेर विरोध समेत जनाएका थिए ।

एउटै भवनमा उपचार सुचारु भएपछि अस्पतालमा अन्य उपचार लिने बिरामीको सङ्ख्यामा कमि आएको छ । स्वास्थ्य बिमा लागू भएपछि मेचीमा दैनिक सात सयदेखि एक हजारसम्मले सेवा लिदै आएका थिए । अहिले दिनमा बढीमा सय जनासम्म उपचार गराउन अस्पताल आउने गरेको तथ्याङ्क छ । अहिले गरिब तथा विपन्न समुदायमात्र बाध्य भएर उपचार गराउन जाने गरेको पाइएको छ ।

कोरोना उपचार शुरु भएपछि अस्पतालमा उपचार गराउन आउन डर लाग्न थालेको सुलभ सहनीले बताए । अस्पतालले व्यवस्थापनमा सुधार नल्याउने हो भने गरिब तथा विपन्न परिवार उपचार गराउन नपाएर अकालमा नै ज्यान गुमाउने उनको बुझाइ थियो । कोरोनाको बिरामी राख्न थालेपछि त्यहाँ कार्यरत चिकित्सक तथा कर्मचारी पनि डराउन थालेका छन ।

साउन १९ गते सोमबार दिउँसोसम्म कोरोनाका बिरामी राख्ने कुनै औपचारिक जानकारी बाहिर नदिएका अस्पताल सञ्चालक तथा व्यवस्थापन समिति र स्वास्थ्य कार्यालय झापाले सोही दिन साँझ जिल्लामा पुष्टि भएका ६ जना सङ्क्रमितलाई आइसोलेसनमा राखिएको र मेचीमा कोरोनाको उपचार शुरु भएको सार्वजनिक भएको थियो ।
कोरोना सङ्क्रमित हिड्दैमा त्रसित हुनु पर्ने कुनै कारण नरहेको अस्पताल सञ्चालक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले बताए । अस्पताल नजिकै रहेको अर्को नयाँ भवन निर्माणको अन्तिम चरणमा पुगेकोले अव आउने सङ्क्रमितलाइ राख्ने गरीको व्यवस्था मिलाइरहेको उनको भनाइ छ । आइसोलेसनमा पसिसकेका विरामी बाहिर ननिस्कने र चिकीत्सकले पनि सुरक्षा अपनाएर उपचार गरेका कारण त्यस्तो नभएको उनले बताए ।