विराटनगर/ ट्राभल हिस्ट्री नदेखिएको कडा लक्षणसहितका विराटनगर–९ गुद्री घर भएका ५८ वर्षीय १ जना पुरूषको शुक्रबार मृत्यु भयो । एक हप्ता अघिदेखि ज्वरो, खोकी र श्वास–प्रश्वासमा समस्या भएपछि कोशी अस्पताल पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरे । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ल्यावमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको कोशी अस्पतालका आइसोलेसन इञ्चार्ज डा. लक्ष्मीनारायण यादवले बताए ।

यस्तै यसअघि कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका विराटनगर–९ का ४५ वर्षीय र विराटनगर–५ का ७७ वर्षीय वृद्धाको मृत्यु भएको थियो । उनीहरू दुवैको ट्राभल हिस्ट्री देखिएको छैन ।

गत असार १ गतेबाट लकडाउन खुकुलो भएसँगै प्रदेश १ को राजधानी विराटनगरसहित अन्य ठाउँमा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्दै गएको छ । दिन प्रतिदिन सङ्क्रमितको सङ्ख्या थपिँदै गएको छ । अहिले देखिएका सङ्क्रमितहरूको ट्राभल हिस्ट्री नभएको र क्वारेण्टिन बाहिरका मानिसमा कोरोना देखिन थालेको छ ।

यसैगरी विराट नर्सिङ होमका वरिष्ठ चिकित्सक तथा सञ्चालक र स्वास्थ्यकर्मीहरूमा पहिलोपटक देखिएको कोरोनाको सङ्क्रमण तीव्र रूपमा विराटनगरका अन्य अस्पतालतिर पनि सरेको छ । दुई साताभित्र प्रदेश प्रहरीमा कार्यरत प्रहरी, तरकारी व्यापारी, पान पसले र प्रदेशका उच्चपदस्थ पदाधिकारीमा पनि सङ्क्रमण पुष्टि भएको छ । चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरीका उच्च पदाधिकारीमा भएको सङ्क्रमणको स्रोत नखुले पनि अस्पताल हुँदै सङ्क्रमण समुदायसम्म पुगेको तथ्यलाई महानगरलेसमेत स्वीकार गरेको छ ।

उनीहरूमा देखिएको सङ्क्रमणको ट्राभल्स हिस्ट्री पत्ता नलाग्दा कहाँबाट फैलियो भन्ने पत्ता लगाउन गाह्रो भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । ‘पछिल्लो समय देखिएका सङ्क्रिमतको ट्राभल हिस्ट्री देखिएको छैन’ उनले भने, ‘जसले गर्दा सङ्क्रमितलाई कहाँबाट कारोना सङ्क्रमण भयो भन्ने पत्ता लगाउन गाह्रो परेको छ ।’

विराटनगरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । सङ्क्रमितको सङ्ख्या शनिबारसम्म २ सय ५६ पुगेको विराटनगर महानगरपालिकाले जनाएको छ । सङ्क्रमणको बढ्दो ग्राफले प्रदेशको राजधानी रहेको शहर विराटनगरमा कसरी तीव्र कोरोना सङ्क्रमण हुन पुग्यो ?’ भन्ने आम रूपमा प्रश्न उठ्न शुरु भएको छ । ट्राभल हिस्ट्री बिना सङ्क्रमितको सङ्ख्या बढेर समुदायस्तरमा कोरोना भाइरस फैलिएपछि नियन्त्रण र रोकथामको लागि भन्दै विराटनगर महानगरपालिकाले साउन ३० गतेसम्म लकडाउन गरेको छ । लकडाउन गरी परीक्षणको दायरा बढाएसँगै सङ्क्रमितको सङ्ख्या पनि वृद्धि भएको विराटनगर महानगरपालिकाभित्र मात्र शनिबार एकै दिनमा ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

विराटनगरको कोशी, विराट, न्युरो र म्याक्स अस्पतालपछि सङ्क्रमण गोल्डेन अस्पताल र मोरङ सहकारी अस्पतालसम्म पुगेको छ । न्यूरोमा १ जना चिकित्सक सहित नर्स र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएको आकस्मिक सेवा सञ्चालनमा आएको छ । मोरङ सहकारीमा एक चिकित्सकसहित पाँच जनामा कोरोना पुष्टि भएपछि ओपीडी सेवा बन्द गरी हस्पिटल पूरै सेनिटाइज गर्न शुरू गरेको अस्पतालका निर्देशक विकास अधिकारीले जानकारी गराएका छन् । पछिल्लो पटक स्वास्थ्यकर्मी र कर्मचारीसहित कोशी अस्पतालमा ११ जनामा कोरोना पुष्टि भएको छ ।

सङ्क्रमण देखिएपछि बन्द गरिएको ओपीडी सेवा कोशीले पनि शुरु गरेको छ । यस्तै विराट अस्पतालले पनि आकस्मिक सेवा शुरू गरेको छ । गोल्डेन अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले स्वाब दिएकामा बिहीबार तीन जनामा कोरोना सङ्क्रमण देखिएको थियो । कोरोना देखिनेमा दुईजना चिकित्सक छन् । गोल्डेनले आकस्मिक र डाइलाइसिस विभाग बन्द गरेको छ । डिस्इन्फेक्सन र स्यानिटाइज गरेर अस्पतालले सेवा शुरु गर्ने भन्दै सूचना टाँस गरेको छ ।

कोशी अस्पतालस्थित कोभिड उपचार केन्द्रका को–अर्डिनेटर समेत रहेका डा. डेनप्रसाद आचार्यले ट्राभल हिस्ट्री बिनै कडा खालको लक्षणसहितको कोरोना सङ्क्रमित प्रदेश १ मा पनि देखिन थालेको बताए । ‘प्रदेश २ का सङ्क्रमितसँग मिल्दोजुल्दो लक्षण प्रदेश १ मा पनि देखिएको छ’ –उनले भने । कोशीको कोभिड उपचार केन्द्रमा भर्ना भएका सङ्क्रमितमध्ये १० प्रतिशत ट्राभल हिस्ट्री बिनै लक्षणसहितका सङ्क्रमित रहेको उनले जानकारी दिए । ‘कोभिड उपचार केन्द्रमा भर्ना भएका ५० मध्ये १० जनामा कडा लक्षणसहितका बिरामीहरूको उपचार भइरहेको छ’ डा. आचार्यले भने, ‘कडा लक्षण भएका बिरामीलाई भेण्टिलेटरमै राखेर उपचार गर्नुपर्ने हुन्छ । त्यही अनुसार उपचार भइरहेको छ । लक्षणसहितका बिरामीहरू प्रदेशमा थपिने क्रममा बढेर गएको छ । सोहीअनुरूप उपचारको प्रबन्ध गर्नुपर्ने हुन्छ ।’

विराटनगर महानगरपालिकाले समुदायस्तरमा कोरोना फैलिएको दाबीसाथ सङ्क्रमणको अवस्था पत्ता लगाउन दैनिक परीक्षण बढाएको छ । जनस्वास्थ्य महाशाखाका अनुसार दैनिक करिब पाँच सयजनाको स्वाब सङ्कलन हुँदै आएको बताइएको छ । लकडाउनपछि महानगरपालिकाले परीक्षणको दायरा बढाएको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । ‘लकडाउनपछि हामीले परीक्षणको दर बढाएका छौं’ उनले भने, ‘स्वाब दिएका व्यक्ति बाहिर हिँडडुल नगरी अरूको सम्पर्कमा जाने र नतिजा नआउनेहरू घरमा सेल्फ क्वारेण्टिनमा नबसिदिँदा तीव्र सङ्क्रमणको जोखिम झन् बढेर गएको छ ।’ उनले परीक्षण नतिजा नआउञ्जेल घरमै धैर्यसाथ क्वारेण्टिनमा बसिदिन नगरवासीमा आग्रह गरेका छन् ।

सङ्क्रमित बढ्दा अल्मलमा सरकार
प्रदेश १ को राजधानी रहेको शहर विराटनगरमा कोरोना सङ्क्रमणको अवस्था भयावह बन्दै गएको बेला यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्थानीय र प्रदेश सरकार अल्मलमा देखिएको छ । दैनिकजसो सङ्क्रमितको दर बढ्दै गएपछि सरकार अल्मलमा परेको छ । यसअघि कोरोना सरकारले नियन्त्रणमा राखेको दाबी गर्ने प्रदेश सरकारका मन्त्रीहरू अहिले सङ्क्रमित बढेपछि अताल्लिएका छन् ।

सरकारले साउन पहिलो सातापछि कोरोना सकिएजस्तो व्यवहार गरेकोले अहिलेको अवस्था जटिल बनेको विज्ञहरूको भनाइ छ । प्रदेशमा सङ्क्रमण उच्च बन्दै गइरहेको बेला दुई सातादेखि प्रदेश सरकारका मुख्यमन्त्री काठमाडौंमा छन् । अन्य मन्त्रीहरू पनि काठमाडौंबाट भर्खरै फर्किएका छन् । मुख्य नेतृत्व नै प्रदेश बाहिर रहेकाले पनि कोरोना नियन्त्रणको प्रभावकारी योजना बनाउन नसकेको कर्मचारी नेतृृत्वको बुझाइ छ ।

खासगरी सीमित कोठा हुने घर र डेरामा बस्नेहरूमा सङ्क्रमण भए उनीहरूलाई होम आइसोलेसनमा राख्न सम्भव नहुने भएकोले उनीहरूलाई सरकारले नै व्यवस्थापन गर्नुपर्ने विज्ञहरूले बताउँदै आएका छन् । नागरिक सचेत नहुँदा होम आइसोलेसनले अझै सङ्क्रमण विस्तार गर्ने खतरा रहेको उनीहरूको भनाइ छ । कोरोना सङ्क्रमितलाई कुनै होटल वा निजी अस्पताललाई प्रदेश सरकारले लिएर सुरक्षित साथ राख्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

आइसोलेसन भरियो, सङ्क्रमित घरमै
विराटनगर महानगरपालिका क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेपछि कोभिड अस्पतालको आइसोलेसन भरिँदा सङ्क्रमितहरू घरमा बनाएको आइसोलेसनमा बस्न थालेका छन् । विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रको शøया भरिएपछि विराटनगर महानगरपालिकाका ३८ जना सङ्क्रमितहरू दुई दिनदेखि घरमै बस्न बाध्य भएका हुन् । कतिपय त त्योभन्दा ४–५ दिन अगाडिदेखि घरमै छन् । शनिबार सङ्क्रमण पुष्टि भएका ३३ जनाको त अझै सोधीखोजी शुरु नै भएको छैन ।

विराटनगर महानगरपालिकाका विभिन्न वडाहरूमा कोरोना पुष्टि भएका लक्षण देखिएका र नदेखिएका सङ्क्रमितहरू असुरक्षित ढङ्गले घरमै बसिरहेका छन् । विराटनगर महानगरपालिकाका कोभिड–१९ कन्ट्याक्ट ट्रेसिङ सुपरभाइजर हैदर अलीका अनुसार मोरङ र सुनसरीका सबै अस्पतालका शøया भरिएका कारण सङ्क्रमितलाई घरमै राख्नुपरेको बताए । ‘हामीले सङ्क्रमितसँग सम्पर्कमा पुगेकाहरूको पहिचान गर्ने र उनीहरूको परीक्षण गर्ने काम गरिरहेका छौं’ उनले भने, ‘सङ्क्रमितलाई भने अस्पताल अभावले गर्दा घरमै सुरक्षित बस्न भनेका हौं । अस्पतालको बेड खाली हुनासाथ उहाँहरूलाई अस्पतालमै लैजान्छौं ।’

सङ्क्रमितमध्ये १० जनाले भने घरमै आइसोलेसन बस्ने प्रस्ताव गरेको सुपरभाइजर अलीले बताए । शुक्रबार रातिसम्म पोजेटिभ देखिएका महानगरका सङ्क्रमितहरुमध्ये ३८ जना घरमा छन् भने शनिबार ३३ जना थप सङ्क्रमित पुष्टि भएको छ । उनीहरू पनि घरमै छन् । विराटनगर मात्र होइन, प्रदेशभर ६० जनाभन्दा बढी कोरोना सङ्क्रमित अहिले अस्पताल पुग्न सकेका छैनन् । सङ्क्रमण पुष्टि भएर पनि घरमै बस्नेहरूको सङ्ख्या करिब ६० जना रहेको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड–१९ अस्पताल विराटनगरका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

प्रदेश १ मा अहिले जिल्ला अस्पतालहरूको समेत गरी ३ सय ५० हाराहारी आइसोलेसन बेडहरू सञ्चालनमा छन् । दिनहुँ सङ्क्रमितको सङ्ख्या थपिँदै गएको सन्दर्भमा अस्पतालहरूमा आइसोलेसन बेडको अभाव भएको हो । प्रदेश १ मा शनिबारसम्म १३ सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ९ सय ८ जना उपचारपछि निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ । अहिले प्रदेश सरकारले स्थापना गरेको कोशी कोभिड–१९ अस्पताल विराटनगरमा ६० शøया, कोशी अस्पतालमा १० शøया, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ सय शøया, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा १ सय २५ शøया र मेची अस्पताल झापामा २५ शøयाको आइसोलेसन सञ्चालन भइरहेको छ ।