भोजपुर/ चारैतिर चर्किएर जीर्ण बनेको भवन । पुरानो र खिया लागेर प्वाल परेको जस्ताको छानो । कतिबेला भत्किने हो थाहा छैन । पानी चुहिन्छ । तर त्यही भवनबाट स्वास्थ्यजस्तो संवेदनशील काम भइरहन्छ ।

स्वास्थ्यकर्मीहरू जोखिम मोलेर काम गर्छन् । गाउँले सर्वसाधारण सामान्य औषधि लिन पनि घण्टौं पालो कुर्छन् । यो ०७२ सालको महाभूकम्पले अति जीर्ण बनाएको षडानन्द नगरपालिका– १ नेपालेडाँडास्थित स्वास्थ्य चौकीको भवन हो । जीर्ण भवनकै कारण दैनिक स्वास्थ्य सेवा प्रवाह गर्न समस्या छ । भवन भत्किने डरले सेवा दिने र लिने दुवैलाई जोखिमसँगै सावधानी अपनाउनु पर्ने बाध्यता छ ।

ठेकेदारको लापरबाहीले समयमै पक्की भवन नबन्दा विगत ५ वर्षदेखि उक्त जीर्ण भवनबाटै सेवा प्रवाह हुँदै आएको छ । दैनिक २५ जनाको हाराहारीमा सेवाग्राही आउँदा जोखिमपूर्ण भवनकै कारण सेवा दिन समस्या हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । सामान्य औषधि लिन जाँदा पनि भवन भत्किने डर भएको स्थानीय सौगात गौतमले बताए । उनले भने, ‘चेकजाँच त परै जाओस्, सामान्य सिटामोल लिन पनि सास्ती छ, भवन कतिबेला भत्किएर किच्ने हो थाहा छैन ।’

पक्की भवन नहुँदा प्रसूति गराउने सुत्केरीलाई पनि अन्यत्र लैजानुपर्ने सास्ती छ । अन्य स्वास्थ्य चौकी अथवा खाँदबारी लैजानु पर्दा सुत्केरी महिलाको ज्यानलाई झन् जोखिम हुने गरेको स्थानीय कविता भण्डारीले बताइन् । ‘स्वास्थ्य चौकीको भवन नहुँदा कि कुदाककाउले वडाको स्वास्थ्य चौकी कि खाँदबारी लानुपर्छ, सडक पनि राम्रो नहुँदा सुत्केरीको बाटैमा मृत्युसम्म हुने डर हुन्छ’ –उनले सुनाइन् ।

व्यवस्थित भवन नहुँदा स्वास्थ्य सेवाका लागि आउने ग्रामीण क्षेत्रका सर्वसाधारण र स्वास्थ्यकर्मीले चरम सास्ती खेप्नुपरेको स्वास्थ्य चौकीका अहेव मेघराज देवकोटाले बताए । ‘सामान्य औषधि वितरण गर्न पनि समस्या छ, कतिबेला ठूलो हावाहुरी र पानीले भवन भत्किने हो पत्तो छैन’ उनले भने, ‘एउटा पक्की भवन नहुँदा जोखिम मोलेर स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बाध्यता छ ।’

ठेकेदारको लापरबाहीले समयमै अस्पताल भवन नबन्दा जीर्ण भवनबाटै सेवा प्रवाह गर्न बाध्य रहेको स्वास्थ्य चौकीले जनाएको छ । उक्त अस्पताल भवन बनाउन ०७३ सालमा स्वास्थ्य मन्त्रालयले करिब ३ करोडको टेण्डर खुलाएको थियो । भवन निर्माणको ठेक्का पाएको नागराज कन्स्ट्रक्सन भोजपुरले शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाबाट १८ महिनामा काम सम्पन्न गर्ने गरी स्वीकृति पाएपछि काम शुरु ग¥यो । तर कन्स्ट्रक्सनका सञ्चालक देवी कार्की व्यक्तिगत समस्या देखाउँदै नआएपछि काम ठप्प भयो ।

स्थानीयले बारम्बार ताकेता गरेपछि कन्स्ट्रक्सनले काम थाले पनि सोचेअनुरूप कामले गति लिन पाएन । विभिन्न बहानामा ठेकेदार नै सम्पर्कमा नआउँदा निर्माण कार्यमा ढिलाइ भएको स्वास्थ्य चौकी नेपालेडाँडाका इञ्चार्ज राजनारायण मण्डलले बताए । १८ महिनामा सक्ने गरी ठेक्का पाएको ठेकेदार कम्पनीले लापरबाही गर्दा समयमै काम सम्पन्न हुन नसकेको उनले बताए ।