• धनबहादुर पुरी

इटहरी / धान उत्पादनका हिसाबले प्रदेश १ अब्बल हुने सङ्केत देखापरेको छ । प्रमुख खाद्यान्न बालीमा पर्ने धानमा प्रदेश १ को झापा, मोरङ र सुनसरी अन्न उत्पादनका भण्डार नै मानिन्छन् । यी तीन जिल्लामा वार्षिक सरदर १२ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने गरेको तथ्याङ्क छ ।

प्रदेश १ मा अघिल्लो वर्ष वार्षिक १४ लाख १५ हजार ८ सय मेट्रिक टन धान उत्पादन भएको थियो । मुलुकभर ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको तथ्याङ्क छ । प्रदेश १ मा कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान ३३ प्रतिशतमध्ये धानको मात्र २० प्रतिशत रहेको सरकारी तथ्याङ्क छ । राष्ट्र बैङ्कले तयार पारेको प्रदेशगत रूपमा दिगो एवम् समावेशी विकासको रणनीति दस्तावेजमा कृषि उत्पादनमा सबैभन्दा बलियो प्रदेश १ देखिएको छ ।

समयमै पानी पर्दा सहज
यस वर्ष असारको शुरुदेखि नै वर्षा हुँदा किसानहरू रोपाइँमा व्यस्त छन् । प्रदेश १ का धेरै स्थानमा आकाशे पानीको भरमा धान खेती हुने गरेको छ । सिंचाइको सुविधा सीमित छ तर यस वर्ष समयमा पानी परेका कारण किसानहरू रोपाइँमा व्यस्त बनेका हुन् ।
अर्काको १ बिघा जग्गामा खेती गर्दै आएका इटहरी–१९ तरहराका पासाङ तामाङलाई यतिबेला रोपाइँको चटारो छ । तामाङ विगत वर्षभन्दा खुसी देखिन्छन् । ‘अघिल्लो वर्ष मैले असारको २७ गते रोपाइँ गरेको थिएँ, यो वर्ष १६ गते नै रोपाइँ सकियो’–उनी भन्छन् । अहिले उनी छिमेकीलाई सघाइरहेका छन् ।
इटहरी उपमहानगरपालिकाले जमिन बाँझो नराख्न इटहरीवासीलाई आग्रह गर्दै आएको छ । उपमेयर लक्ष्मी गौतमले बजेट भाषणमै जमिन बाँझो नराख्ने नीति ल्याएको बताएकी थिइन् । ‘नीति तथा कार्यक्रममै जमिन बाँझो नराख्न भनेर कार्यक्रम ल्याएका छौं’–उपमेयर गौतमले भनिन् ।

५१ प्रतिशत रोपाइ“
प्रदेश १ का १४ जिल्लामध्ये धान जोन क्षेत्र मानिने झापा, मोरङ र सुनसरीमा ५६ दशमलव ३ प्रतिशत रोपाइँ भएको छ । पहाडी क्षेत्र इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्लामा ४४ दशमलव ६० प्रतिशत रोपाइँ भएको प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिए ।

उप्रेतीका अनुसार उच्च पहाडी जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा भने ३० प्रतिशत रोपाइँ सकिएको छ । प्रदेश १ मा ३ लाख ४० हजार आठ सय २९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । हालसम्म १ लाख ७४ हजार ३ सय ६ हेक्टरमा रोपाइँ सकिएको प्रवक्ता उप्रेतीले जानकारी दिए । जिल्लागत रूपमा मोरङ र तेह्रथुममा सबैभन्दा बढी ६५ प्रतिशत रोपाइँ सकिएको छ । सबैभन्दा कम सङ्खुवासभामा २० प्रतिशत र ओखलढुङ्गामा २२ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्ष २०७६ असार २४ गतेसम्ममा प्रदेश १ मा २८ दशमलव १६ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।

खेतीयोग्य जमिन मासिदै
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेश १ मा ८ लाख ९४ हजार ७ सय ६५ हेक्टरमा मात्र खेती हुँदै आएको छ । प्रदेश १ मा कुल खेतीयोग्य जमिनको क्षेत्रफल भने ९ लाख २७ हजार ४ सय १९ हेक्टर छ । बाह्रै महिना सिंचाइ सुविधा भएको जमिनको क्षेत्रफल भने १ लाख ७७ हजार १ सय २५ हेक्टर छ । ४ लाख ९२ हजार ६ सय ९३ हेक्टर खेतीयोग्य जमिन रहेको छ भने पाखो जमिनको क्षेत्रफल ४ लाख २ हजार १ सय १२ हेक्टर रहेको छ । जसमा सिंचित क्षेत्रफलको अवस्था भने ३ लाख १७ हजार ८ सय २२ हेक्टर मात्र रहेको छ । मन्त्रालयका प्रकाश डाँगीले खेतीयोग्य जमिन कति प्लटिङ भयो भन्ने तथ्याङ्क चाहिँ मन्त्रालयसँग नभएको जानकारी दिए ।
क्षेत्रीय कृषि निर्देशनालयको अनुसार धान खेतीको प्रमुख पकेट क्षेत्र सुनसरी, मोरङ र झापामा सबैभन्दा बढी धान खेती मासिएको छ । जसमा सुनसरी जिल्लामा सबै भन्दा बढी २७ प्रतिशत धान खेती मासिएको छ । १५ वर्षअघि सुनसरीमा ६१ हजार हेक्टरमा धान खेती हुँदै आएकोमा हाल सो दर घटेर ४५ हेक्टरमा सीमित भएको छ । मोरङ जिल्लामा ९८ हजार हेक्टरमा धान खेती हुँदै आएकोमा अहिले ८२ हजार हेक्टरमा सीमित भएको छ । त्यसैगरी झापामा ९२ हेक्टरमा धान खेती हुँदै आएकोमा घटेर ८३ हेक्टरमा सीमित भएको छ ।