धरान/ कोभिड–१९ को महामारी र लकडाउनको कारण मानसिक रोगीहरूको सङ्ख्या अत्यधिक वृद्धि भएको मनोचिकित्सकहरूले बताएका छन् ।

विश्वव्यापी कोरोना महामारीले सबै मुलुकमा सर्वसाधारणलाई त्रसित र आतङ्कित बनाएको अवस्थामा मानसिक रोगी बढ्नु अर्को समस्या भएको उनीहरूले बताएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्तासमेत रहेका मानसिक रोग विभागका प्रा.डा. निदेश सापकोटाले कोरोना महामारीको बेला तनाव हुनु स्वभाविक भए पनि यो बढ्दै गएमा अर्को समस्या थपिने बताए ।

महामारीले जो कोहीलाई मानसिक तनाव उत्पन्न गराउन सक्ने र मान्छेको मन र मस्तिष्कमा उत्पन्न भएको मानसिक तनावले दैनिक जीवनशैलीमा असर पर्ने बताए । उनले भने, ‘मानसिक तनाव नियन्त्रण व्यवस्थापन गर्न संस्थागतरूपमा मनोसामाजिक परामर्श जरुरी रहेको छ ।’ उनले मानसिक तनाव नियन्त्रण र व्यवस्थापन गर्न नसक्दा मस्तिष्कमा दुई प्रकारको हर्मोन उत्पादन हुने र त्यसले मुटु रोग, मधुमेह र उच्च रक्तचाप बढाउन मद्दत गर्ने बताए ।

प्रतिष्ठानकी मानसिक रोग विभागका एसोसिएट प्रोफेसर प्रा.डा. रिङ्कु गौतम जोशीले कोरोना महामारीपछि नेपालमा गरिएको लकडाउनले ८० प्रतिशत जति मानसिक समस्या बढाएको बताइन् । उनले यसबीचमा नयाँ मानसिक रोगीको सङ्ख्या पनि बढेको र कतिपयले नियमित औषधि छुटाएकाले थप बल्झिएको बताइन् ।

महामारी र लकडाउनले इञ्जाइटी, डिप्रेसन, बेचैनी, तनाव र अनिद्राका रोगीहरू बढेको डा. गौतमले बताइन् । उनले भनिन्, ‘प्रतिष्ठानको हेल्पलाइनमा लकडाउनको बेला दैनिक २० देखि २५ जनाले मानसिक समस्या भएर फोन गर्ने गरेका थिए । अहिले हामी टेलिमेडिसिन प्रविधिमार्फत् परामर्श दिइरहेका छौं ।’

प्रतिष्ठानका मानसिक रोग विभागका असिष्टेण्ट प्रोफेसर डा. सुरेन लिम्बूले कोरोना महामारीका बीच आफूलाई पनि सर्ला कि, आफन्तलाई पो सर्ला कि, मरिएला कि भन्ने डर, त्रासले मानसिक तनावलाई झन् बढाएको बताए । उनले कोरोना महामारीको तनावले एञ्जाइटी, डिप्रेसनजस्ता मानसिक रोग उत्पन्न गराउन सक्ने बताए ।

मानसिक तनावबाट मुक्त हुन कम्तिमा दैनिक आधा वा एक घण्टा व्यायाम गर्ने, सकारात्मक सोच्ने, कोरोनासम्बन्धी समाचार कमै पढ्ने, आफ्नो जीवनशैली, खानपान, सोच विचारमा परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् ।