पथरीशनिश्चरे/ उनको छेउ पर्न मान्छे डराउँछन् । तर उनको जीवनयात्रा सँधै मान्छेहरूकै छेउ नपरी अघि नै बढ्दैन । आफ्नो असहज अवस्था भए पनि घर छोडेर आफ्नो गुजाराका लागि काठमाडौं बस्न थालेको १७ वर्ष भयो । यो अवधिमा अरूको सामु परेर उनीहरूकैमा काम नगरी जिन्दगी पाल्न सम्भव छैन उनलाई । उनी अर्थात् पथरीशनिश्चरे ३ पिपलचोककी ३६ वर्षीया कुमारी सुवेदी असहज अनुहारको उपचारको समस्यामा जीवनको कठीन सङ्घर्षमा छिन् ।

उनी ६ वर्षको हुँदादेखि अनुहारको आकार असहज रूपले बढ्न थाल्यो । अनि उनी २० वर्षहुँदासम्म त्यसरी नै बढिरह्यो । कक्षा १० सम्म जेनतेन पढिन् । त्यसपछि व्यावहारिक जिम्मेवारीसमेत उनकै काँधमा आएपछि आर्थिक विपन्न परिवारले उपचार गराउन सकेन । पछि उनले काठमाडौं पुगेपछि बीएण्डबी डेन्टल अस्पतालका डाक्टर प्रशान्त श्रेष्ठसँग जँचाइन् । उनको उपचार सहयोगले धेरै हदसम्म राहत मिल्यो । तर श्रेष्ठको ५ वर्ष अघि निधन भयो । उनले नै कुमारीको उपचारको पूर्जा राखेका थिए । त्यो त्यतै हराएछ । रोगको नाम के थियो अहिले कुमारीलाई थाहा छैन । ‘उहाँले नै उपचार गरिदिएर केही सजिलो भाको थियो । तर, उहाँ बितेपछि त्यति बेलाको कागजपत्र नै मसँग रहेन ।’ उनले पीडा व्यक्त गर्ने क्रममा भनिन् ।

उनको अनुहारको उपचार गर्न भारत जानुपर्ने डाक्टरले सल्लाह दिएका छन् । त्यहाँ ठूलो रकम खर्च लाग्छ । त्यो उनीबाट जुटाउन सम्भव छैन । उनको पथरीशनिश्चरेमा झुप्रो घर बाहेक सम्पत्तीको नाउँमा अरू केही छैन । उनीसँगै काठमाडौंमा रहेकी ८२ वर्षीया आमा गङ्गादेवीले आँखा पनि देख्दिनन् ।

आमाको लालनपालन पनि उनकै जिम्मा छ । उनका दाइ आफ्नै जिउ पाल्न कता कता काम गरी हिँड्छन् । ‘अरूको घरमा बच्चा हेरिदिने, अरू घरायसी काम जे पर्छ त्यही गरेर आमालाई जेनतेन पाल्दै छु । तर आफ्नो उपचार चाँहि गर्न सकेको छैन ।’– मङ्गलबार पथरीशनिश्चरे नगरपालिका कार्यालयमा भेटिएको बेला उनले दुखेसो पोखिन् । नगरपालिकाले उनको अवस्था देखेर नगर प्रमुख दिलिपकुमार राएईमार्फत १५ हजार रुपैयाँ तत्कालै आर्थिक सहयोग प्रदान ग¥यो । ‘‘कहीँ कतै उपचारको सिफारिस गर्दा हुनेसम्म ठाउँमा हामी गर्छौं ।’– नगर प्रमुख राईले उनीसँग भने ।

उनको आँखाको सामान्य उपचार भएको छ । तर पनि आँखाको आकार पनि अस्वाभाविक ठूलो र रातो भएकोले हेर्न गाह्रो पर्छ । घाममा र धुलोमा बस्न हुँदैन, निकै पोल्छ । अनुहार, चिउँडो सहित टाउकै ठूलो भएको छ । अनुहारको स्वरूप नै बदलिएर अस्वाभाविक बनेको छ । बोलीमै पनि त्यसले केही समस्या गरेको छ । ‘यो अनुहार देखेर कतिले हेला पनि गर्छन्, धेरै त डराउँछन् नै । उपचार गरेर अरूको जस्तै सजिलो हुन पाए हुने थियो । मलाई कसले सहयोग गरिदेला र ?’– उनले दुखेसो भित्र अनुनय विनय मिसाएर भनिन् ।