२०२१ साल वैशाख २७ गते पूर्वी पहाडको धनकुटा जिल्ला साविक चुङ्माङ गाविस हाल पाख्रीबास–१० मा गणेश तिम्सिनाको जन्म भएको हो । उनको जन्म पहाडको गाउँमा भए पनि पढाइमा कुनै समस्या झेल्नु परेन । किनकी उनको घरनजिकै एउटा माध्यमिक विद्यालय थियो र सो विद्यालयका अध्यक्ष थिए उनका बाबु कृष्णप्रसाद ।
२०२७ सालमा भारती माध्यमिक विद्यालय साविक चुङ्माङबाट औपचारिक शिक्षा शुरु गरेका तिम्सिनाको बालपनमा खासै दुःख थिएन । किनकी उनको परिवारको आर्थिक अवस्था सन्ताृषजनक थियो र बाबु विद्यालयको अध्यक्ष । उनैको घरछेउमा आफ्नै बारीमा थियो सो विद्यालय । घरमा रहेका परिवारका अन्य सदस्यहरू पनि पढाइमा ध्यान दिने र बाबु पनि विद्यालयका अध्यक्ष भएका कारण उनको पढाइ निकै राम्रो थियो । शुरुदेखि नै सबैलाई उछिनेर उनी नै प्रथम हुने गर्थे । घरको पारिवारिक वातावरण र साथका कारण पनि उनको पढाइ अन्यको तुलनामा अब्बल थियो ।
बाबुले दुईवटी आमा विवाह गरेका थिए । उनकी आमा कान्छी हुन् । कान्छीपट्टिका जेठा छोरा तिम्सिनाको परिवारमा छोरीलाई भने पढाउने चलन थिएन । खै किन हो, पारिवारले त्यसबेला छोरीलाई नपढाउने गरेको उनी सम्झन्छन् । बाबु राजनीतिमा लागेका थिए । त्यसबेला गाउँका प्रधानपञ्चसम्म बनेका उनका बाबुले पनि छोरीहरूलाई चाहिँ नपढाएको उनले बताए । उनका ६ जना दिदीबिहिनी थिए । जसमध्ये २ जनाले चाहिँ केही पढ्न पाए भने बाँकी ४ जनाले चाहिँ पढ्नै पाएनन् ।
किन पढाइएन भन्नेबारेमा उनले पनि उति थाहा पाएनन् । गाउँमै छोरीलाई चाहिँ नपढाउने भन्ने चलन रहेको र पछिमात्र छोरीलाई पनि पढाउनु पर्ने रहेछ भन्ने थाहा पाएपछि केही छोरीहरूलाई पढाउन थालेको र सोही बेला २ जना दिदीहरूले सामान्य पढ्न पाएको उनले सम्झिए । तिम्सिनाले निरिन्तर प्रथम हुँदै भारती माविको कक्षा १० सम्मको पढाइ सके । त्यसपछि उनी उच्चशिक्षा पढ्न धनकुटाकै सदरमुकाम आए । सदरमुकाममा उच्चशिक्षा सकेर उनी त्यसपछिको पढाइलाई निरन्तरता दिन धरान र काठमाडौंमा बसे । धरानमा क्याम्पस लेभल पढे भने एमए पढ्न उनी केही समय वीरगञ्ज र त्यसपछि विराटनगर आइपुगे ।
तिम्सिनाको पारिवारिक अवस्था सामान्य नै हो । केही जमिन भए पनि त्यसबेलाको पाखोबारी खासै किनबेच पनि हुँदैनथ्यो । बुबाको पेशा सामाजिक सेवा नै थियो । गाउँ पञ्चायतको समेत नेतृत्व गरेका उनका बाबुले समाजसेवामै आफ्नो केही सम्पत्तिसमेत सकेका थिए । पछि बाबु बिरामी भएपछि बाबुको सबै जिम्मेवारी उनैमा आइप¥यो । उनले एसएलसी सक्ने बित्तिकै आफैले पढेको विद्यालयमा पढाउन शुरु गरेका थिए ।
त्यसैबेलादेखि उनले जागिर खान थालेको बताउँछन् । घरमा रहेका अन्य दाजुहरू पनि सरकारी जागिरे र बुबा गाउँको पञ्च भइसकेपछि उनलाई लाग्यो– अब मैले पनि जागिर नै खानुपर्ने रहेछ । त्यसपछि उनले विद्यालयमा पढाउने काम छोडेर निजामतीको परीक्षा दिन काठमाडौं पुगे । २०४३ जेठ नै उनले निजामती सेवा प्रवेश गरेको पहिलो महिना हो । यो उनका लागि एउटा ऐतिहासिक दिन हो । खरिदार पदबाट निजामती सेवामा प्रवेश गरेका तिम्सिनाले कोशी टप्पु वन्यजन्तु आरक्षमा पहिलोपटक निजामती सेवाको काम थाले । त्यहाँ उनी ७ वर्षसम्म खरिदारकै पदमा रहेर बसे । त्यसबेला नेपाली राजनीतिमा आएको परिवर्तनले गर्दा उनी ७ वर्षसम्म सोही ठाउँमा बसेर काम गर्नुपरेको बताउँछन् ।
७ वर्षसम्म कोशी टप्पुमा बसेर सेवा गरेका उनको २०५० सालमा चितवनमा सरुवा भयो । चितवनको राष्ट्रिय निकुञ्जमा खरिदार पदमै रहेर अरु २ वर्ष काम गरे भने त्यसपछि लोकसेवाको परीक्षा पास गरेरै खरिदारबाट सुब्बा बने । पदोन्नतिसहितको सेवामा भने उनी विराटनगर आए र विराटनगरको क्षेत्रीय पशु निर्देशनालयमा ३ वर्ष सेवा गरे । विराटनगरमा ३ वर्ष सुब्बाको सेवा गर्दागर्दै उनले आफ्नो पढाइ र मेहनतलाई पनि निरन्तरता दिई नै रहे ।
काम र आफ्नो जिम्मेवारीमा निकै लगाव राख्ने उनले जिन्दगीलाई अझ बढी तताइरहे । जसरी सुनारले सुनलाई तताउँदै आकर्षक रूपमा ढालिरहन्छ । उनले पनि आफ्नो जीवनलाई खार्दै, मेहनत गर्दै बदल्दै आज यो ठाउँसम्म आइपुगेको बताए ।क्षेत्रीय पशु निर्देशनालयमा ३ वर्ष काम गरेर उनले अधिकृतमा नाम निकालेको बताए । अधिकृत भएपछि उनले पहिलो पटक संसदीय सचिवालय काठमाडौंमा सेवा गरे । त्यसपछि विभिन्न स्थानीय तहमा सरुवा हुँदै पुगे ।
उनले निजामती सेवामा यसरी एकपछि अर्को पदमा सफलता हासिल गर्दै जानुमा उनको मेहनत र उनको पारिवारिक तथा सामाजिक प्रभावको पनि हात छ । उनको परिवारमा सबै निजामती सेवामा आबद्ध छन् । बाबु पञ्चायतकालमा प्रधानपञ्च रहँदा गाउँमा विभिन्न प्रकारका समस्या, विवादहरू आई नै रहन्थे । ती विवाद समाधान कसरी हुन्छ, कसरी गरिन्छ, छलफलको आयोजना कसरी गरिन्छ भन्ने कुरा उनले प्रत्यक्ष देखेका थिए । त्यही कुराले उनलाई सहयोग ग¥यो र जीवनमा पनि निरन्तर सफलता दिलाउँदै गयो ।
पारिवारिक अवस्था सबैको राजनीति र निजामती सेवा नै भए पनि उनले आफ्नो कुनै पनि कामका लागि कसैको भनसुन गराउनु परेन । उनी भन्छन्, ‘कसैको भनसुन भयो र अझ राजनैतिक तवरबाट कसैले सिफारिस मात्र गरिदियो भने जागिरका लागि प्रयास नै नगर्दा हुनेसम्मको अवस्था थियो ।’ काम पाउन मेहनत नै गर्नुपर्छ भन्ने कुरालाई उनले राम्रैसँग अनुभव गरेका छन् । कसैले भनिदिएर, कसैले दिएको काममा सफलता पनि नमिल्ने र त्यसले कुनै उत्साह पनि नदिने उनको अनुभव छ ।
उनी निजमती सेवाअन्तर्गत जब अधिकृत बने, तब उनले विभिन्न स्थानीय तहमा गएर सेवा दिन थाले । विभिन्न क्षेत्रीय कार्यालय र मन्त्रालयसमेतमा सेवा गरेर बसेका उनी स्थानीय तहमा आइसकेपछि यसैको लतमा लिप्त भए । स्थानीय तह भनेको ठूलो विश्वविद्यालय हो, त्यहाँ सबै काम गर्न सकिन्छ । अत्यधिक सम्भावना रहेको ठाउँ भएकाले स्थानीय तहमै बसेर काम गर्न उनलाई रमाइलो लाग्न थाल्यो । जनताका कुरा जनतासँगै बसेर प्रत्यक्ष छलफल गर्न पाइने, स्थलगत विभिन्न विषयको निर्णय गरेर कार्यान्वयन गर्न सकिनेलगायत काम गर्न पाइने भइएकोले स्थानीय तहमा जस्तो आनन्द अन्त कतै नहुने उनको अनुभव छ । उनले पहिलोपटक स्थानीय निकायअन्तर्गत २०६० सालमा जिल्ला विकास समिति उदयपुरमा रहेर सेवा गरे ।
त्यसलगत्तै सुनसरीको जिल्ला विकास समितिमा सरुवा भए । त्यहाँ उनले २ वर्षसेवा गरे भने २०६२ सालमा दमक नगरपालिकामा पुगे । पहिले ९ महिना दमक बसेका उनी २०७४ मा पुनः दमकमै पुगेका छन् । पहिलोपटक ९ महिना दमकमा सेवा गरेपछि उनी इटहरी उप–महानगरपालिकामा सरुवा भए । २०६३ सालमा इटहरी पुगेका उनले त्यहाँ पनि धेरै समय सेवा गरेनन् । इटहरीपछि उनले मोरङ जिल्ला विकास समितिमा अढाई वर्ष काम गरे । अढाई वर्षे मोरङ जिल्ला विकास समितिको सेवापश्चात् उनी झापाको मेची नगर नगरपालिकामा सेवा दिन पुगे । १० महिनाको त्यहाँको सेवापश्चात् ०७४ सालमा उनी धरान उपमहानगरपालिकामा आइपुगे । पाँच महिनाको धरान बसाइपछि पुनः उनी दमकमा नै सेवा गर्न पुगेका हुन् ।
































