पाँचथर/ पाँचथरको दुर्गमस्थानमा रहेको आरुबोटेमा सानो बजार छ । गाउँघरमा दिनभरिको काम गर्ने युवा र बूढापाका बजारमा भेला हुने क्याराम बोर्ड र चिया गफमा व्यस्त हुन्थे । तर अचेल चिया पसल र बजारमा चहल–पहल कम छ । बजारमा गाउँलेको उपस्थिति कम छ ।

दिनभरि मेलापातको काम सकेर बेलैमा परिवारका सदस्य जम्मा भएर चाँडै सुत्ने गरेका छन् । प्रायः ढुङ्गा र माटाको घरमा बरण्डा तानेर सुत्न र बस्नको लागि बनाइएका घर प्रशस्तै छन् । तर सोही गाउँमा नौ जनाको निर्मम तरिकाले हत्या भएपछि भने घरबाहिर सुत्ने र रातको समयमा हिँडडुल गर्ने क्रम घटेको छ ।

गाउँमा कोही नयाँ र नौलो व्यक्ति देखा परे एकले अर्कोलाई खबर गरी त्यसको सोधीखोजी व्यापक हुन्छ । विद्यालयमा समयमै छोराछोरी पुगेका छन् या छैनन् त्यसको चासो अभिभावकले गर्दै आएका छन् । लामो समयसम्म आसपासका विद्यालय बन्द भए । भूकम्पबाट बच्नको लागि बनाइएका काठ र टिनको बेरा लगाएका घरको झ्याल र ढोका मर्मत सम्भार गरी दह्रो बनाएका स्थानीयले त्रासमै दिन कटाउँदै आएका छन् ।

गाउँघरमा टुक्रे व्यवसाय गर्ने स्थानीयसमेत समयमै व्यवसाय बन्द गरी बेलैमा घर जाने गर्दछन् । बजारमा व्यवसाय गर्दै आएका विष्णु भट्टराई भन्छन्, ‘पहिले रातिको ९ देखि १० बजेसम्म पनि मानिसहरू बजारमा हुन्थे तर अहिले बेलैमा व्यवसाय बन्द हुन्छ । छोराछोरी र परिवारका सदस्य बेलुका जम्मा नभएसम्म पीर र चिन्ता हुन्छ ।’ भट्टराईको जस्तै अन्य स्थानीयको भय पनि कम छैन । घटना भएको बमप्रसाद फियाकको घरमा उनकै साइँली छोरी बुद्धमाया योङ्हाङ बस्दै आएकी छन् । ‘माइती सम्झिने एउटा सानो झुप्रो छ । यसैमा बस्दै आएको छु’ भावुक हुँदै उनले भनिन्, ‘बारीभरि मकै हरियो छ । पर्मपात गरेर खेती गर्दैछु । बुबाआमाले पराइ घरमा दिए पनि आफ्नो जन्मघर जस्तो नहुँदो रहेछ ।’

प्रहरी प्रशासनले परिवारको वंश नाश गर्ने एउटै व्यक्ति रहेको भने पनि उनलाई पत्याउन गाह्रो लागेको छ । ‘जे हुनु भइगो अब सरकारले हामीलाई हेर्नु पर्छ । हाम्रो घर एकान्तमा भएकाले आरुबोटेमा प्रहरी बस्यो भने धेरै सान्त्वना हुन्छ’ –उनले भनिन् ।

गत जेठ ६ गते आरुबोटेका बमप्रसाद फियाक र उनकै ज्वाइँ धनराज शेर्मासहित २ घरका नौ जनाको हत्या भएको थियो । सो समयमा पुर्शीमाया फियाक, मनकुमारी फियाक, आशिका खजुम, जस्मीता फियाक, युहाना शेर्मा, मुना शेर्मा र इक्सा शेर्माको हत्या भएको थियो । हत्याकाण्डले त्रासमा रहेको उक्त क्षेत्र सामान्य भए पनि अझै भय बाँकी नै रहेको छ । घटनापछि लगत्तै प्रदेश प्रहरी उक्त क्षेत्रमा खटिरहेको छ । यसले धेरै त्रास कम भएको स्थानीय पदम खनाल बताउँछन् । ‘सबैले प्रहरी चौकीको माग गरेका छन्, यसमा जनप्रतिनिधि र हाम्रो एउटै आवाज छ’–उनले भने ।

खेतीपातीको सिजनमा एक्लाएक्लै काम गर्ने स्थानीय अहिले समूहमा काम गर्छन् । गाउँघरमा झै–झगडा हुन खोज्दा पनि तर्सिहाल्ने अवस्था रहेको वडाअध्यक्ष हस्तराज फियाक बताउँछन् । केही दिनअघिको घटना स्मरण गर्दै उनी भन्छन्, ‘मानिसहरू कतिसम्म आतङ्कित छन् भन्ने कुरा तीन दिनअघि घटेको घटनाले पनि दर्साउँछ । घर घेरेर मान्छे बसेका छन्, मार्छु भनेर फोन आएको थियो भनेर एक महिलाले खबर गरिन् ।

रातको समयमा प्रहरी र स्थानीय दौडिए । तर कोही नभेटिएपछि प्रहरीले अनुसन्धान गर्यो अनुसन्धानका क्रममा थाहा भयो त्यो एउटा हल्ला मात्र रहेछ ।’ उनले भने, ‘घटना घटेको लामो समय भएको छ । घटनाबारे विभिन्न अड्कलबाजी गरे पनि यसको सत्य–तथ्य तत्काल बाहिर ल्याउनु पर्छ ।’