एकचालिस–बयालिस सालतिरको कुरा हो । त्यतिबेला म त्यस्तै बाह्र–तेह्र वर्षको थिएँ । छ–सात कक्षामा पढ्थेँ होला । पहाडको ठाउँ, नजिक स्कुल थिएन । निकै ठूलो भएपछि मात्र पढ्न पठाउने चलन थियो । त्यो पनि सब कोहीले पढ्न पठाउँदैनथे । थोरै हुन्थ्यौँ, स्कुल जाने । अलि ठूलो भएपछि गोठालो वा खेतीपातीको काममा लाग्नु पथ्र्यो । मलाई भने पढाउन बुवाआमाको साह्रै जोड थियो । म श्री इन्द्रेणी मा.वि. मौवामा पढ्थेँ । नजिकै मामाको घर थियो । मामाकै घरमा बसेर पढ्थेँ । बिदामा मात्र घर आउँथेँ । बिदाको बेला घर आउँदा म कहिले गाईवस्तु चराउन लिएर जान्थेँ । कहिले भेडाबाख्रा त कहिले भैँसी गोठालो जान्थेँ ।

हाम्रो मधेशमा पनि खेती थियो । सानोमा म बुवासँग हिउँदमा मधेश आउँथेँ । मधेशको हाम्रो खेती मामालाई कमाउन दिएका थियौँ । मामाले कमाउनु हुन्थ्यो । हामी वर्षमा एक पटक आएर आफ्नो भागको धान बेच्थ्यौँ । त्यही पैसाले वर्षभरिलाई लुगा, कपडा, मर–मसला आदि किनेर लिएर जान्थ्यौँ । यसरी मधेश आउँदा म मामाको छोरासँग दिउँसो राँगा, भैँसी चराउन गोठालो जान्थेँ । हामी राँगा, भैँसीको ढाड माथि चढेर हिँड्थ्यौँ । बडो शानसँग गोठालो जाँदा–आउँदा, आनन्द लाग्थ्यो । यसरी राँगा, भैँसीको ढाडमाथि बसेर हिँड्न । हाम्रो मधेश बसाइ त्यति लामो हुँदैनथ्यो । बढीमा दस–पन्ध्र दिन बसेर पहाड फर्कन्थ्यौँ ।

हिउँदको महिना थियो । पहाडमा हिउँदे बाली उठाएछि बारी खाली हुन्थे । यसरी खाली भएको बारीमा पहिले आफूले नचराई अरूले चराउने चलन थिएन । म मधेशको देखेर पहाडमा पनि मधेशमा जस्तै भैँसीको ढाड माथि चढेर गोठालो जान्थेँ । आमाले देख्दा त्यसरी भैँसीको डाढमाथि चढ्नु हुँदैन, नानी । भैँसी कुद्यो भने लडेर मुण्टो भाँचिएला नि भन्नुहुन्थ्यो । गाली गर्नु हुन्थ्यो । बुवा चाहिँ मधेश जस्तो होइन यहाँ त उकालो–ओरालो हुन्छ । लडिन्छ, भन्नु हुन्थ्यो । म वास्ता गर्दैनथेँ । पहाडको ठाउँ साँच्चै मधेशको जस्तो समथर जमिन थिएन । अलि समथर जस्तो ठाउँ आएपछि चढ्थेँ । भिरालो र अप्ठ्यारो ठाउँमा चाहिँ ओर्लन्थेँ । यसरी भैँसीको ढाडमाथि चढेर गोठालो जान–आउन खुब आनन्द लाग्थ्यो । मलाई देखेर केही समयपछि अरू साथीहरू पनि त्यसरी नै मेरो सिको गर्न थाले ।

एक दिन म सधैं झैं त्यसरी नै भैँसीको ढाडमाथि चढेर गोठालो गइरहेको थिएँ । पानी पर्लापर्ला जस्तो दिन निन्याउरो भएको थियो । एक्कासी भैँसी बुर्कुसी मारेर दौडन थाल्यो । त्यसरी भैँसी दौडेको बेला ओर्लन पनि मिलेन । भैँसीको ढाडमाथि अडिइरहन पनि सकिएन । के गरौँ र कसो गरौँ भएर आत्तिएको बेला उछिट्टिएर म बारीको कान्ला माथि पुगेँ । भर्खर बदाम खनेको माटो थियो । धन्न केही भएन । भैँसी डिल मुनिबाट दौडेर गयो । म डिलमाथि पछारिएँ । टाउको कहाँ ठोकियो । थाहा भएन । भरे दुखेर यसो निधार छाम्दा निधारमा मट्याङ्ग्रो जत्रो टुटुल्को उठेको रहेछ ।

छाला सोहोरिएर एकातिर थुप्रिएछ । घरमा थाहा पाउने डरले सोहोरिएको छाला हातले तानेर विस्तारै आफैंले मिलाएँ । खोर्सानीले जस्तो खपी नसक्नु पोल्यो । उठेँ, लुगा सबै धुलैधुलो । टाउकाभरि माटो थियो, टक्टकाएँ । एक किसिमले खुशी पनि लाग्यो । अन्त कहीँ केही भएनछ भनेर । हातखुट्टा भाँचिएको भए के हुन्थ्यो ? भने जस्तो पनि लाग्यो । मलाई लडेको देख्नेहरू पनि म उठेपछि त हाँसे । भैँसी अघि बारीमा पुगेर चरिरहेका थियो । म पनि उठेर लागेँ विस्तारै भैँसी भएतिर । त्यसपछि त म त्यसरी भैँसीको ढाड माथि कहिल्यै चढिनँ ।

यसरी भैँसीको ढाड माथि चढेर गोठालो जाँदा एक दिन म त्यसरी नराम्रोसँग उछिट्टिएर लडेको छु । आजभोलि पनि केटाकेटीहरू गोठालो जाँदा त्यसरी भैँसीको ढाडमाथि चढेको देख्दा मलाई त्यही दिनको घटनाको सम्झना आइहाल्छ । हाँसो लागेर पनि आउँछ । धन्न मलाई केही भएन । त्यसरी लड्दा हातखुट्टा भाँचिएको भए । भैँसीको ढाड माथि चढेर शानसँग हिँड्ने एकछिनको रहरले गर्दा जीवनभरि अपाङ्ग हुनु पर्ने थियो । कान्लाबाट उछिट्टिएर तल झरेको भए ज्यानै जान पनि सक्थ्यो । यो पनि मेरो जीवनको एउटा अविस्मरणीय क्षण नै बन्यो ।