भौगोलिक रूपमा पहाड र तराई मिलेर बनेको केराबारी गाउँपालिका प्राकृतिक सौन्दर्यका दृष्टिकोणले अत्यन्तै सुन्दर र स्रोत साधनको हिसाबले मोरङकै धनी गाउँपालिकाको रूपमा परिचित छ । एउटै समयमा चर्को गर्मी हुने समथर भू–भाग अनि त्यही समयमा अत्यन्तै चिसो मौसम हुने केराबारीको अर्को वातावरणीय विशेषता पनि रहेको छ । मोरङमा एक मात्र चिया बगान यहाँको गौरवको उद्यम हो । यहाँ कोर्ना झरना, शिवपार्वती गुफा, सप्तकन्या गुफा अनि पूर्वकै नमूनाको रूपमा रहेको जेफाले आदि रमणीय पर्यटकीय क्षेत्र हुन् । विभिन्न जाति, धर्मावलम्बी र सांस्कृतिक समुदायहरूको मिश्रित बसोबास रहेको केराबारी गाउँपालिका चारवटा गाविस मिलेर बनेको हो । भोगटेनीको वडा नं. १, पाटीगाउँ, सिंहदेवी र याङ्शिला गाविसको समायोजनमा केराबारी गाउँपालिका बनेको हो । केराबारी गाउँपालिका बनेपछि अहिले विकासका काम कारबाहीले गति लिएको छ । गाउँपालिकामा के कस्ता कामहरू भइरहेका छन् भन्ने विषयमा केन्द्रित रहेर केराबारी गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी लिम्बू भुजेल सँग ब्लाष्टका संवाददाता भक्तशेर लिम्बूले गरेको कुराकानीको सारसंक्षेप :
गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ,आफ्नो जिम्मेवारी सम्हाल्दै गर्दा कस्तो अनुभूति गरिरहनुभएको छ ?
–गाउँपालिकाका उपाध्यक्षले यति धेरै जिम्मेवारी बहन गर्नुपर्छ भन्ने लागेको थिएन । अध्यक्षदेखि दोस्रो तहको सबै जिम्मेवारी उपाध्यक्षको काँधमा ऐनले तोकेको छ । न्यायिक समिति, बजार अनुगमन समिति, अपाङ्गको संयोजक, योजना, विभिन्न सङ्घ–संस्था, विभिन्न शाखा संयोजकलगायत १५–२० वटा विभागको संयोजकको जिम्मेवारी छ । यी सबै विभागको बैठक र कार्यक्रममा मात्रै जाँदाखेरी नै ३ सय ६५ दिन त बित्दो रहेछ । म गाउँपालिकाको उपाध्यक्ष अनि घरको अभिभावक पनि । शुरुमा निकै व्यस्त बन्यौ, एउटा न्यायिक समितिको काम गर्दा मात्र धेरै पटक रातमा घर पुग्नुपर्ने अवस्था आएको छ । समय नपाएर राति दशबजे लुगा धोएको अनुभूति छ । अनि कानूनी सल्लाहकार नियुक्ति नगर्दा एक–डेढ वर्ष निकै गाह्रो भयो । तसर्थ सीमित समयमा हामी धेरै काम गरिरहेका हुन्छौं । यद्यपि इच्छाशक्ति भएमा समयको व्यवस्थापन गर्न सकिँदो रहेछ । शुरु–शुरुमा म आफैले पीडितहरूको निवेदन लेखिदिने आफूले गर्नु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि ती कामहरू गरिदिने गर्थें । अहिले त्यसको व्यवस्थापन गरिसकेका छौं । त्यसपछि प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरेपछि न्यायिक पाटोमा केही सहज भएको छ । अहिले समयलाई विभाजन गरेर सबै वडाहरूमा पुग्ने गरेको छु ।
केराबारी गाउँपालिकाले के कस्ता विकासका कामहरू गरिरहेको छ ?
–बीसौं वर्षदेखि जनप्रतिनिधि नभएकोले जनताहरूको माग भौतिक विकास नै पहिलो भएको हुँदा हामीले भौतिक विकासलाई नै प्राथमिकतामा राखेका छौं । त्यो सँगसँगै मानवीय विकासका कार्यक्रमहरू पनि सञ्चालित छन् । त्यसैले गाउँपालिकाका सबै वडाका टोल–टोलमा बाटोघाटो पु¥याउने काम लगभग सकिएको छ । अब ती बाटाहरूको स्तरोन्नति स“गस“गै कालोपत्रे गर्ने काम पनि भइरहेको छ । वडा नं. ५ बगैंचादेखि प्रगतिचोक, वडा नं. ६ को अमृतचोकदेखि मुगुखोलासम्म कालोपत्रे भइसकेको छ । अहिले वडा नं. ९ को कुसुमेदेखि कालोपत्रे निर्माण कार्य भइरहेको छ । त्यसैगरी पिङडाँडादेखि राङ्चा, मुगुखोलादेखि चोक्टी, लाङ्घालीचोकदेखि प्रतिभाचोकसम्म कालोपत्रे गर्न ठेक्का पनि लागिसकेको छ । हामीले बाटो, विजुली, खानेपानी, स्वास्थ्यका क्षेत्रलाई क्रमिक रूपमा भौतिक विकासका आधारका रूपमा अगाडि बढाइरहेका छौं ।
मानवीय विकासका कामहरू के के भइरहेका छन् ?
–चेतनाको विकास नै मानवीय विकास हो । मान्छे आफू चेतनशील भयो भने उसले आफू सक्षम र योग्य बन्ने हो । तसर्थ चेतनाको विकासका कार्यक्रमहरूमा दलित, जनजाति, महिला, बालबालिका साथै विपन्न परिवारहरूको लागि क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । साथै आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिमहरू पनि गरिरहेका छौं । यी कार्यक्रमहरूबाट उनीहरू लाभान्वित पनि भइरहेको पाएका छौं ।
गाउँसभा भर्खरै सकिएको छ, के कस्ता नीति तथा योजना पारित गर्यो ?
–गाउँसभा विशेषतः विकास निर्माणकै योजनामा केन्द्रित रह्यो । नीतिगत रूपमा यसपटक हामीले केराबारी गाउँपालिकाभित्र रहेका मानवीय क्षतिबाट जोगाउन प्राकृतिक वस्तुको संरक्षणको लागि नीति बनाउने साथै लैङ्गिक समानताका लागि लैङ्गिक नीति यसै आर्थिक वर्षभित्रै तयार गर्ने प्रस्ताव पारित गरेका छौं ।
तपाई न्याय सम्पादनको प्रमुख पनि हुनुहुन्छ, समाजमा के कस्ता प्रकृतिका विवादहरू रहेको पाउनुभयो ?
–हामीसमक्ष आएका विवादहरूलाई केलाउँदा विशेष गरेर जग्गा किचलोको विवाद हामीकहाँ बढी आएका छन् । ऐलानी, सार्वजनिक र निजी जग्गाको साँध–सिमानाको विषयमा धेरै विवादहरू हामीकहाँ आएका छन् । त्यसपछि श्रीमान्–श्रीमतीबीचको विवादसमेत आएका छन् ।
यहाँ आएका विवादहरू कतिको मिलाएर पठाउन सफल हुनुभएको छ ?
–धेरैजसो जग्गासम्बन्धीका विवादमा ६० प्रतिशत विवाद मेलमिलापको माध्यमबाट मिलाएर पठाएका छौं । कतिपय विवादहरू चाहिँ मेलमिलापको माध्यमबाट पनि नसकेर फेरि न्यायिक समितिमै आएका छन् । न्यायिक समितिले पनि मेलमिलापकै नीतिअनुसार मिलाएका घटनाहरू पनि छन् । जग्गासम्बन्धी एउटा निकै ठूलो घटना थियो, जुन जग्गा सातौं पटकसम्म बिक्री भएको रहेछ । शुरुको जग्गाधनी र अन्तिमको जग्गाधनीको दाबी रहेको जग्गाको विवाद हामीले समाधान गर्यौं । यसलाई हामीले ठूलो उपलब्धिको रूपमा लिएका छौं । तर हाम्रो अधिकार क्षेत्रभन्दा बाहिरका विवादहरूलाई चाहिँ सहजीकरण मात्र गर्छौं र तिनलाई सम्बन्धित निकायमा पठाउने गरेका छौं ।
प्रसङ्ग बदलौं, अहिले केराबारीमा शैक्षिक अवस्था कस्तो छ ?
–समग्र केराबारी गाउँपालिकाको शिक्षाको अवस्था सन्तोषजनक त छैन । तर यसो भनिरहँदा सबै विद्यालयमा त्यस्तो होइन, किनभने कतिपय विद्यालयमा शिक्षकहरू पूर्णरूपमा हाजिर हुने, विद्यार्थी सङ्ख्या राम्रो भएका, अङ्ग्रेजी माध्यमबाट सञ्चालन भएका उदाहरणीय विद्यालयहरू पनि छन् । तर केही विद्यालयमा शिक्षकहरू नियमित उपस्थित नहुने पनि भेटियो । तसर्थ समग्रमा भन्नुपर्दा शिक्षामा धेरै सुधार गर्नुपर्ने अवस्था छ ।
सरकारी शिक्षकहरूले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नै पढाउनुपर्छ भन्ने शैक्षिक नीति छ र केही गाउ“पालिकाले त कर्मचारीका छोराछोरीसमेत सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति बनाएका छन्,
केराबारीमा चाहिँ कस्तो अवस्था छ ?
–सरकारी शिक्षकले सामुदायिक विद्यालयमै उनीहरूका नानीहरूलाई पढाउनुपर्छ भन्ने विषयमा हामीले अनौपचारिक रूपमा छलफल गरेका छौं । त्यसलाई कार्यान्वयनमा ल्याउनु पर्छ भन्ने चाहिँ छ तर निर्णायक रूपमा लिपिबद्ध नै गरेका भने छैनौं । अहिले केराबारीको हकमा पनि सामुदायिक विद्यालयका शिक्षकहरूका नानीहरू निजी विद्यालयमा नै पढाउने गरेको स्थिति छ । सरकारी विद्यालयप्रतिको विकर्षण हटाउन अब विद्यालय सुधारका कार्यक्रमहरू ल्याउन जरुरी छ ।
केराबारीमा मातृभाषाको शिक्षाको थालनी भएको छ छैन ?
–केराबारी गाउँपालिकाको कुनै पनि विद्यालयबाट मातृभाषा कक्षाको माग अहिलेसम्म आएको छैन । त्यसरी माग आएमा हामीले ऐनमा नै मातृभाषा कक्षा सञ्चालनका लागि प्रवद्र्धन गर्ने निर्णय गरेका छौं ।
स्वास्थ्यको क्षेत्रमा के कस्ता गरेको छ गाउँपालिकाले ?
–दशवटै वडाहरूमा स्वास्थ्य सेवा पुर्याउने कार्य भइसकेको छ । प्रसूति गृह र भवन निर्माणको कार्य भइरहेको छ ।
प्राकृतिक स्रोतसाधनको धनी केराबारी गाउ“पालिकामा सबैभन्दा धेरै यसै विषयमा विवाद आइरहन्छ, किन होला ?
–केराबारीको प्राकृतिक स्रोतसाधनको विवादले राष्ट्रिय रूपमा पनि चर्चा पाएको छ । यसमा मेरो व्यक्तिगत धारणा के हो भने प्राकृतिक स्रोतसाधन उपयोग मात्र होइन, संरक्षण पनि गरेर जानुपर्छ भन्ने मान्यता हो । मापदण्डअनुसार उपयोग गरियो भने त्यहाँ विवाद हुने कुरै आउँदैन । तर नियम, विधि मिचियो भने त्यसले विवाद निम्त्याउने हो ।
खदमखोलामा भइरहेको जथाभावी उत्खनन् रोक्न गाउँपालिकाले के कस्तो कदम चालिरहेको छ ?
–उत्खनन्को विषयमा मैले केही आपत्ति प्रकट गर्दै आएको छु । हिजो डाँगीबाट आउने बाटोलाई आधार मानेर उत्खनन् गर्दागर्दै भूपति गौंडादेखि माथि जान खोजियो । गतसाल गरिएको उत्खनन्भन्दा माथि जानुहुन्न भन्ने मेरो स्पष्ट धारणा छ । हामीले उत्खनन् गरेर निकाल्ने खोलाजन्य वस्तु त्यही पहाड भत्किएर आउने हो । यसो हुँदा पहरा कमजोर हुँदै गएको छ, खोलाको सतह गहिरिएको कारण कुलो पैनी बन्द भएको छ र किसानहरू मर्कामा परिरहेको अवस्था छ । त्यसैले अहिलेको हिउँदे अधिवेशनले खोला प्रभावित क्षेत्रको तटबन्धन र प्राकृतिक स्रोतको संरक्षणमा लगानी गर्न एक करोड विनियोजन पनि गरेका छौं । तसर्थ अहिले हामीले मापदण्डको विषयमा कडाइ गरेका छौं । हिजो जथाभावी खन्ने गरिन्थ्यो । अहिले स्थानीय बासिन्दाहरूको खबरदारीले पनि केही सुधार आएको छ ।
केराबारी गाउँपालिकामा मदन भण्डारी मार्गको विषयले पनि निकै विवाद ल्यायो, यो विवाद कसरी साम्य भयो ?
–मदन भण्डारी राजमार्गको विषयमा केराबारीमा दुई–तीनमहिना चर्को विवाद नै भयो । विवादको कारण ७० मिटर चौडा बाटो बन्ने र त्यो बाटो बजारबाट लाने कि अन्तबाट लाने भन्नेमा विवाद थियो । यसको विषयमा हामी माथिल्लो निकायमा बुझ्न गयौं । विभागमा बुझ्दा बढीमा २५ मिटर बन्ने, तर अहिले ७ मिटर मात्र पिच हुने र त्यसले ११ मिटरसम्म क्षेत्र ओगट्ने भन्ने जानकारी आएपछि विवाद साम्य भएको छ । गाउँपालिकाले पनि २० मिटर चौडा बाटो बनाउने पारित गरेको छ । त्यसलाई आधार मानेर त्यसभन्दा बढी भएमा त्यसको क्षतिपूर्ति पाउने गरी निर्णय पनि गरेका छौं ।
पर्यटनको क्षेत्रमा के कस्ता कामहरू भइरहेका छन्, अबको योजना के छ ?
–पर्यटनका लागि ठोस रूपमा गुरुयोजना नै बनाएका त छैनौं । तसर्थ सानो आकारमा भए पनि अहिले देखिएका पर्यटकीय क्षेत्रहरूलाई बजेट उपलब्ध गराएका छौं । जेफाले, शिवपार्वती गुफा, सप्तकन्या गुफालाई रकम विनियोजन ग¥यौं । प्राकृतिक रूपमा अति सुन्दर केराबारीजस्तो गाउँपालिका कमै छन् । एकै समयमा गर्मी र चिसो हावापानी भएको केराबारीमा पर्याप्त रूपमा पर्यटकीय क्षेत्रहरू छन् । सबैसामु परिचित जेफाले, कोर्ना झरना र त्यससँगै गुफा, शिवपार्वती गुफा, सप्तकन्या गुफा आदि रहेका छन् । योबाहेक सालक संरक्षणलगायत पर्यटकीय क्षेत्रहरूको सम्भावना बोकेका स्थलहरू पनि छन् । अब यी काम गर्न गुरुयोजनाको खाँचो छ । अब हामी यसक्षेत्रको सम्भाव्यताको अध्ययन गरेर डिपीआर निर्माण गरी पर्यटनको विकास र प्रवद्र्धन गर्न लागिपर्नेछौं । पर्यटनलाई हामी अब मुख्य आम्दानीको स्रोत बनाएर गाउँपालिकाको स्रोत बढाउँछौं ।
तपाईंहरूको कार्यकाल सकिँदै गर्दा केराबारी गाउँपालिकाको स्वरूप कस्तो हुनेछ ?
–विकास निर्माण भनेको निरन्तर हुने प्रक्रिया रहेछ । तसर्थ हामीले एकै पटक गरेर सकिँदैन पनि । यो आवश्यकताले जन्माउँदो पनि रहेछ । तसर्थ हामीले निर्वाचनताका जनतासमक्ष बोलेका कुराहरूलाई हाम्रो कार्यकालभित्र पूरा गर्ने कोशिस गर्नेछौं । बाटोघाटो, शिक्षा, स्वास्थ्य, विजुली, खानेपानीजस्ता जनताका आधारभूत आवश्यकतालाई पूरा गर्नेछौं । बाटोघाटोको अभावले कोही पनि उपचारबाट बञ्चित हुनुपर्ने छैन । महिलाहरूलाई लैङ्गिक समानता र आत्मनिर्भर क्रमिक रूपले बनाइनेछ । हामीले त्यतिखेर पनि बोलेको भूमि व्यवस्थापनका समस्यालाई पनि कार्यान्वयनमा ल्याउनेछौं । केराबारीलाई सुन्दर र सभ्य बनाउनमा म लागिरहनेछु ।
































