ताप्लेजुङ/ समाजमा शान्ति सुरक्षा कायम गर्ने प्रहरी आफू भने असुरक्षित ठाउँमा बस्न बाध्य छन् । ताप्लेजुङका अधिकांश प्रहरी युनिटहरू बर्खामा पानी चुहिने र हिउँदमा धुलाम्मे हुने भवनमा छन् ।
हिमाली क्षेत्र ओलाङचुङ्गोला, घुन्सा, तोक्पेगोला र याम्फुदिनमा रहेका प्रहरी चौकीको अवस्था दयनीय छ । ‘काठले मात्रै बारेको भएकाले बाह्रै महिना चिसो हुन्छ,’ ३ हजार १ सय मिटर उचाईमा रहेको घुन्सा प्रहरी चौकीका एक जवानले भने, ‘रातभर शीत चुहिन्छ, चिसोले बिरामी पारिरहन्छ ।’ यी चौकी चीन र भारतसँगको सिमामा समेत पर्छन् । सरकारले हिमाली भेगमा खटिएका प्रहरीको लागि दुर्गम भत्ता त दिएको छ, तर त्यो पर्याप्त नरहेको प्रहरीहरू बताउँछन् । चिसोमा लगाउने छुट्टै पोशाक दिइएको छैन । ‘त्यो पोशाकले न चिसो धान्छ, न सुत्ने कोठाले शीत थाम्छ,’ ती जवानले भने । भूगोलका हिसाबले मुलुककै तेस्रो र प्रदेश–१ को सबैभन्दा ठूलो जिल्ला ताप्लेजुङमा ३५ वटा प्रहरी युनिट छन् ।
त्यसमध्ये १० वटा अस्थायी र २५ वटा स्थायी हुन् । जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयको सुरक्षा युनिटबाहेक सबैलाई वातानुकूलित भवन चाहिन्छ । तर, चारवटाबाहेक सबै कार्यालय व्यक्तिगत प्रयोजनका लागि निर्माण गरिएका पुराना, जीर्ण र भत्कन लागेका घरमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय तेल्लोक तथा साँघु र लिवाङका चौकीको मात्रै नयाँ भवन छ ।
सिङ्गो निर्वाचन क्षेत्र नं (ख) भर कार्यक्षेत्र रहेको दोभान इलाकाको झनै विजोग छ । वर्षौं अघि ढुङ्गा र काठले निर्माण गरिएका स–साना टहराजस्ता भवन बेलाबेलाका भूकम्पले चर्किएका छन् । मेरिङ्देन गाउँपालिका–५ मा रहेको थुकिमा चौकी पनि जीर्ण छ । जुनसुकै बेला लडेर पुरिएला कि भनेर डराई–डराई बस्नुपरेको त्यहाँ कार्यरत एक प्रहरीले बताए । कञ्चनजङ्घा पदमार्गमा पर्ने काँडेभञ्ज्याङ चौकीको भवन पनि भत्कने अवस्थामा पुगेको छ । गाउँमा दिनहुँ सानादेखि ठूला घटनाहरू भइरहने हुँदा प्रहरीहरू ज्यानको बाजी लगाएर चौबिसै घण्टा ‘अलर्ट’ रहनुपर्छ ।
अधिकांश युनिटहरूको अवस्था नाजुक हुँदा सेवा प्रवाहमा समस्या भोगिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी सञ्जयसिंह थापाले बताए । ‘धरै युनिटहरू जोखिम मोलेर बसिरहेका छन्,’ थापाले भने, ‘यसले उनीहरूलाई मानसिक रूपमै कमजोर बनाएको छ ।’ सुरक्षाका सामग्रीहरू जोगाउनै समस्या छ । प्रहरी प्रमुख थापाका अनुसार अनुकूल संरचनाको अभावमा गोप्य अनुसन्धान तथा वादी र प्रतिवादीलाई खुला ठाउँमा बयान लिन अप्ठ्यारो हुने गरेको छ । ठूलो क्षेत्र भएको दोभान इलाकालाई नै मुद्दा चलाउने जिम्मा दिन सकिने भए पनि संरचना नहुँदा नसकिएको थापा बताउँछन् । ‘राम्रो नहुँदा मुद्दाको गोपनियता कायम राख्न र गोप्य कागजातको सुरक्षामा ढुक्क हुन सकिँदैन,’ उनले भने, ‘थुनुवालाई ल्याएर राख्नुपरे राख्ने अवस्था छैन ।’ एकातिर पर्याप्त जनशक्ति छैन भने अर्कातिर बस्ने संरचना राम्रो छैन । ४ सय २४ जनाको दरबन्दी रहेको ताप्लेजुङमा अहिले २ सय ७३ जना मात्रै प्रहरी छन् ।
सुरक्षा समाजको पहिलो आवश्यकता हो । चीन र भारत दुवै देशसँग सीमा जोडिएकाले पनि यहाँ सुरक्षा चुनौती बढी छ । घरेलु मदिरा र हतियारका कारण अपराध उच्च हुने प्रहरीको तथ्याङ्क छ । यस्तो अवस्थामा सुरक्षा व्यवस्था चुस्त पार्न नेपाल प्रहरी र सशस्त्र प्रहरी एक्लैले सम्भव छैन । नागरिक र स्थानीय सरकारले प्रहरीलाई सहयोग गर्नुपर्छ । आफ्नो क्षेत्रमा रहेका प्रहरी युनिटहरूको भवन निर्माणका लागि जिल्लाका कुनै पनि स्थानीय तहले चासो देखाएका छैनन् । यस वर्ष प्रदेश सरकारले चालू आर्थिक वर्षमा दोभान इलाका तथा थुम्बेदिन र खेवाङ चौकीको भवन निर्माणका लागि रकम विनियोजन गरेको छ । छिट्टै ती भवनको निर्माण शुरु हुने डिएसपी थापाको भनाइ छ ।
































