भद्रपुर/ विमानस्थल स्तरोन्नतिका लागि अनुमानित १२ बिघा जमिन रोक्का गरेको एक वर्षपछि मुआब्जा रकम वितरण गरिएको छ । झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयको स्तरोन्नतिका लागि ३७ जना जग्गा धनीबाट अधिग्रहण गरिएको ६२ कित्ता जग्गाको मुआब्जा वितरण गरिरहेको हो ।
पाँच तहमा वर्गीकरण र मूल्याङ्कन गरी हालसम्म २९ जनाको जमिन खरिद गरिसकिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले जनाएको छ । जमिन अधिग्रहणका लागि १३ करोड २४ लाख २५ हजार एक सय ६० रुपैयाँ बराबरको रकम हालसम्म भुक्तानी गरिसकिएको कार्यालय प्रमुख पूर्ण चुडालले जानकारी दिए । ३ करोड ८० लाख रुपैयाँ बराबरको जमिन अधिग्रहणको क्रममा रहेको र ४ जनालाई केही दिनभित्रै रकम भुक्तानी गर्ने चुडालले बताए । बाँकी जग्गा धनी विदेशमा रहेकाले प्रक्रियामा रहेको उनको भनाइ छ । लगभग २० करोड रकम मुआब्जामा जाने उनले जानकारी दिए ।
जग्गा प्राप्ति मूल्याङ्कन निर्धारण समितिको बैठकले प्रदेश, प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिबीच तीन महिना अघि बसेको बैठकले निर्णय गरी मुआब्जा मूल्याङ्कनको आधारमा वितरण गरिएको उनले जनाए । जग्गामा परेका पाँचओटा घरसहित एयरपोर्टले लिने ११ बिघा ८ कट्ठा साढे १६ धुर जग्गालाई बाटो, खेती, खोलाले छोएको लगायत बनोट तथा जग्गाको अवस्थालाई हेरेर छुट्टा–छुट्टै पाँच भागमा वर्गीकरण गरेर मूल्याङ्कन गरेको उनको भनाइ छ ।
झापाको साविक चन्द्रगढी गाविस–७ (हाल भद्रपुर नगरपालिका ८ र ९ ) भए पनि अधिग्रहण गरिएको जग्गा भने स्रेस्ता भद्रपुर–१० मा छ । जग्गालाई विमानस्थलको स्तरोन्नतिका लागि ०७३ मङ्सिर ८ गते मन्त्रिस्तरको निर्णयले स्थायी रूपमा जग्गा प्राप्तिका लागि सो क्षेत्रलाई निर्णय गरेको थियो ।
धावनमार्गको उत्तर र दक्षिणमा भएको तारबार तथा पूर्वमा भद्रपुर–धुलाबारी सडकबीचको जग्गा, जग्गामा निर्माण भएका घरटहरा तथा अन्य संरचनाहरू समेत स्थायी रूपले प्राप्त गर्नुपर्ने भएकाले जग्गा प्राप्ति ऐन २०३४ को दफा ९, १० र ११ बमोजिम सो क्षेत्रभित्र पर्ने सम्बन्धित जग्गाधनीले मुआब्जा दाबी गर्न ०७४ माघ १२ गते ३५ दिने जग्गा प्राप्तिसम्बन्धी सूचना जिल्ला प्रशासन कार्यालय झापाले प्रकाशित गरेको थियो । प्रकाशित सूचनामा सबूत–प्रमाणसहित रितपूर्वको निवेदन चन्द्रगढी नागरिक उड्डयन कार्यालयमा पेश गर्न जानकारी गराइएको थियो ।
जग्गा रोक्का गरेको एक वर्षमा मुआब्जा रकम नपाएको भन्दै केही जग्गाधनीले धर्ना तथा विरोध जनाएका थिए । मूल्याङ्कन निर्धारणको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।
थप उडान भर्ने काम अन्तिम चरणमा
घाँसे मैदानबाट शुरु भएको विमानस्थल रात्रिकालीन सेवासँगै आन्तरिक उडान क्षेत्र बढाउने भएको छ । वि.सं.२०२६ सालमा निर्माण भएको विमानस्थल प्रविधि र भौतिक रूपमा रुपान्तरण हुँदै योजनाबद्ध ढङ्गबाट काम अघि बढाइएपछि विमानस्थलको अवस्था सुध्रिँदै गएको हो । सुधारोन्मुकतर्फ गएपछि थप उडान क्षेत्र बढाउन विमानस्थलमा धमाधम काम भरहेको छ ।
विमानस्थलमा थप उपकरण जोड्ने कार्य जारी रहेको बताउँदै आगामी दिनमा अन्र्तराष्ट्रिय उडानका लागि पहल थालिएको कार्यालय प्रमुख पुर्ण चुडालको भनाइ छ । भद्रपुर विमानस्थल भएर नेपालसहित भुटान, बङ्गलादेश, वर्मा, भारतलगायतका दैनिक हजार बढी यात्रुले उडान भर्ने गरेको उनले जानकारी दिए । दुई महिना भित्र पोखराको उडान थपिने उनले जनाए । पोखराका लागि उडान भर्ने तयारीसहित कामअघि बढेकाले सिधै उडान भर्न थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्ने उनको दाबी छ । हाल पाँच विमान कम्पनीका जहाजले सेवा दिइरहेको उनले जनाए । तीन वटा जहाज राख्ने ठाउँ तयार गरैसँगै पोखरासहित भैरहवा र नेपालगञ्जका लागि समेत उडान भरिने चुडालको भनाइ छ । अन्तर्राष्ट्रिय उडानका लागि समेत कलकत्ता, बङ्गलादेशको राजधानी ढाकाका लागि सम्भाव्यता अध्ययन भइरहेको उनले जनाए ।
करिब पन्ध्रसय मिटरको कालो–पत्रे रन–वे (धावनमार्ग) रहेको विमानस्थलमा पहिले भिएफआर प्रविधिअन्तर्गत विमानहरू अवतरण गर्दै आएकामा गत साउन ५ गते स्याटेलाइट (आरन्याप) बेस्ट डे आइएफआर प्रविधि प्रयोग गरिएको छ । पुरानो अवस्थामा विमान अवतरण गर्न कम्तिमा पाँचहजार मिटरको होरिजेन्टल भिजिविलिटी आवश्यक रहेकोमा साउन यता नयाँ प्रविधिको प्रयोगसँगै २२ सय मिटर भिजिविलिटीमै विमान अवतरण गर्दै आइरहेको चुडालले बताए ।
केही महिना अघि एयर फिल्डलाइट जडानपछि माघ १७ गतेबाट रात्रिकालीन सेवासँगै २२ सयबाट घटेर १६ सयको भिजिविलिटीमा विमान अवतरण भइरहेको चन्द्रगढी नागरिक उड्डयन कार्यालय प्रमुख चुडालको भनाइ छ । भविष्यमा विमानस्थलमा एप्रोचलाइट राख्ने योजना भएकाले विमानस्थलको पश्चिमतर्फ रहेको नेपाली सेनाको ब्यारेक तथा जिल्ला प्रशासन कार्यालयलाई एयरपोर्टले स्वामित्वमा लिने विषयमा छलफल भइरहेको उनले बताए । एप्रोचलाइट जडान भइसकेपछि एक हजार तीनसय भिजिविलिटमा नै जहाज अवतरण हुने चुडालको भनाइ छ ।
आकाशको स्याटेलाइट र जमिनको भिओआरडीमी जडान भइसकेपछि विमानस्थल प्रविधियुक्त भएको उनले बताए । विगतमा दैनिक चार वटा मात्रै उडान भर्ने यो विमानस्थलमार्फत् अहिले दैनिक आठ वटासम्म जहाजले उडान भर्दै आएका छन् । वि.सं. २०२६ सालदेखि विलार्टस पाटर््स, डोनियर टुइनअटरलगायतका साना जहाज अवतरण हुँदै आए पनि बीचमा बन्द भएर वि सं.२०५१ सालबाट निरन्तर सञ्चालनमा आइरहेको छ । पछिल्लो समय ठूला जहाजले उडान भर्दै आइरहेका छन् ।
दमकलसहित भौतिक निर्माण धमाधम
विमानस्थलमा जहाजको आवतजावतको क्रममा कुनै आकस्मिक घटना हुन नदिन दमकलको समेत व्यवस्थापन गरिएको छ । दमकलका लागि सम्पूर्ण तयारी पूरा भइसकेको विमानस्थलले जनाएको छ ।
यात्रुको चापलाई मध्यनजर गर्दै विमानस्थलले प्रतीक्षालय र यात्रुको सामान राख्ने स्थानको क्षमतामा वृद्धि गरेको छ । विमानस्थल परिसरमा पार्किङको क्षेत्र विस्तार गर्ने काम भएको छ । त्यस्तै, विमानस्थललाई आकर्षक बनाउन विमानस्थल परिसरमा बगैँचा, चिल्ड्रेन पार्क र फ्री वाइफाइ, यात्रुको सामान जाँच गर्ने एक्स रे मेसिन, सीसी क्यामेराको क्षमता वृद्धि, वाक थ्रु मेसिनको तयारी, सुरक्षाकर्मीलाई विभिन्न समयमा तालिम प्रदान, विभिन्न देवताका मूर्तिको स्थापना गरिएको छ ।
































