२०७५ साल चैत्र १७ गते राति मध्य तराईको बारा र पर्सा जिल्लामा चलेको हुरी बतासले ३५ भन्दा बढी मानिसको ज्यान गएको छ । करोडाैं रुपैयाँको क्षति भएको छ । पशुपंक्षीमा कति क्षति भयो पूरा विवरण उठाइसकिएको छैन ।
२०४४ साल फागुन २९ गते काठमाडौँमा चलेको हुरी बतासले दशरथ रङ्गशालामा खेलकुद हेरिरहेका दर्शकहरूको भागदौड मच्चिँदा ९३ जनाको मृत्यु भएको थियो । २०५३ सालमा पूर्वी तराईका मोरङ र झापा जिल्लामा चलेको हुरी बतासले सात जनाको ज्यान गयो भने करोडौँ मूल्यको धनमाल पशुपंक्षीको नाश भयो । जङ्गलका रुखहरू धेरै ढलेर खतम भए ।
सन् २०१४ अक्टुबरमा अन्नपूर्ण र धौलागिरि हिमाली क्षेत्रमा चलेको तुफानबाट ४३ जनाले ज्यान गुमाउनुपरेको थियो ।
यी नेपालका केही ठूला आँधीहरूका प्रमाण हुन् भने विश्वमा हेर्दा यीभन्दा निकै खतरनाक एवम् विनाशकारी हावाहुरीहरू विभिन्न समयमा चलेका पाइन्छन् ।
सन् १७८० मा क्याराबियनमा चलेको आँधिवेहरीलाई एउटा निकै भयानक र ऐतिहासिक मानिन्छ । यसले २० हजार मानिसको ज्यान लिएको थियो । सन् १९९८ मा होन्डुरसमा चलेको मिच तुफानलाई पनि उल्लेख्य ठूलो तुफानका रूपमा लिइन्छ । यसले १९ हजार दुई सय ३५ को ज्यान खाएको थियो ।
सन् १९०० मा गल्फ अफ मेक्सिकोमा चलेको ग्यालभेस्टान तुफानबाट एकैसाथ आठ हजार मानिसको ज्यान गएको थियो । सन् १९१९ मा अमेरिकाको फ्लोरिडामा विशाल हावाहुरी एक हप्तासम्म निरन्तर चलिरह्यो, जसले गर्दा नौ हजार मानिसहरू मरे । हरेक साल नेपालमा हावा हुरीले ठूलो क्षति गरिरहेको छ ।
जम्मा १६ प्रकारका प्रकोपलाई नेपालले प्राकृतिक प्रकोपको रूपमा परिभाषित गरेको छ । तिनैमध्येको एउटा हुरी–बतास भयानक प्राकृतिक प्रकोप हो । गृह मन्त्रालयको प्रतिवेदन भन्छ– नेपालमा जति प्राकृतिक प्रकोपले गरेको विनाशमध्ये हावाहुरीले निकै कम अर्थात् ०.२ प्रतिशत भाग लिने देखिएको छ, विगतका अनुसार ।
चैत्र १७ गतेको मध्य तराईको तुफान अनियोजित र सजिलै पूर्वअनुमान लगाउन नसकिने किसिमको थियो । मौसम पूर्वानुमान महाशाखाले त्यो स्थानमा मेघ गर्जनसहित पानी पर्ने भन्ने बताएको थियो । साधारण बुझाइमा मेघ गर्जन हुनु भनेको हुरी चल्नु आधारभूत कारण हुन्छ । त्यहाँ प्रतिघण्टा ४० किलोमिटर वेगमा हुरी चल्ने अनुमान लगाइएको थियो । तर ५५ किलोमिटर प्रतिघण्टाको दरमा चलेको अनुमान लगाइएको छ । बारा पर्साको हुरी खासमा पोखरामा उत्पत्ति भएको मौसमविद्हरूले भनेका छन् । त्यहाँ पुग्दा अनपेक्षित हिसाबले वेगमा प्रवेग भइदियो र यस्तो भयङ्कारी बनिदियो ।
जुनसुकै बेला जुनसुकै ठाउँमा हुरी–बतास चलेर ठूलो जनधनको क्षति गर्न सक्छ । तर, नेपाललगायत एशिया महादेशका अधिकांश भागमा चैत्रदेखि जेठ महिनासम्म (मार्चदेखि जुनसम्म) ठूला हुरी बतास चल्ने गर्छ । हावा हुरीलाई प्रकृतिको अदृश्य शक्ति मानिन्छ । किनकि क्षणभरमै जहाँसुकै उत्पत्ति भई फराक क्षेत्रमा फिँजिएर नोक्सानी पु¥याउँछ । नेपालमा यो मौसममा पश्चिमबाट ठूला हावाहुरी चल्छन् । छाना(उडाउने, भवनहरू भत्काउने, रुखहरू ढाल्ने, आगलागी गराउने जस्ता प्रकोपहरू हावाहुरीले निम्त्याउँछ । हरेक साल यो समस्याबाट मुलुक ग्रसित हुने गरेको छ ।
हावाहुरी के कारणले चल्छ भनेर वैज्ञानिकहरूले लामो समयसम्म अध्ययन गरी केही तथ्यहरू पत्ता लगाएका छन् । हावाहुरी चल्ने प्रमुख कारण वायुमण्डलीय तापमानमा परिवर्तन आई चापमा उतार–चढाव आउनु हो । कुनै ठाउँको हावा तातियो भने हलुङ्गो भई माथितिर उडेर जान्छ । फलस्वरूप त्यो ठाउँ खाली हुन जाँदा चाप स्वात्तै घट्छ । कम चाप भएको ठाउँतिर वरिपरिको हावा बहन थाल्छ । जति धेरै चाप घट्यो त्यति धेरै वेगमा हावा चल्छ । चाप सन्तुलन नहुञ्जेलसम्म तीव्र वेगमा हुरी बतास चलिरहन्छ ।
साधारणतया मार्चदेखि सूर्यको किरण पृथ्वीको उत्तरी गोलाद्र्धमा केन्द्रित हुनजान्छ । हिउँदमा धेरै चिसो हुन पुगेको पृथ्वी अब बिस्तारै तात्न थाल्छ । जमिन तातेपछि आसपासको हावा पनि तातिन पुग्छ । तब यो हावा माथितिर उड्छ । पृथ्वी सतहबाट ६ देखि १० किलोमिटर माथि असाध्यै चिसो हावा रहेको हुन्छ । त्यो चाहिँ गह्रौँ हुन गई सतहतिर आउँछ । तातेको हावा माथि जाने र माथिको चिसो हावा तल आउने प्रक्रियाको शुरुवातसँगै हावा आँधिबेहरी चल्न शुरु गर्छ । त्यसैगरी हावाहुरी चल्ने अर्को कारण यस्तो छ । तापक्रम वृद्धि भएर पृथ्वीको जलाशयको पानी वाष्पीकरण भएर एक प्रकारको बादल बनिन जान्छ । यसको नाम कुमुलस हो । यो बादल जति माथितिर जान्छ, उति फराकिलो र चिसो हुनपुग्छ । अन्त्यमा अर्को प्रकारको बादल अर्थात् कुमुलोनिम्बसमा परिणत भइदिन्छ । यो बादल हेर्दा खेरी कालो देखिन्छ । पश्चिम वा पूर्व आकाशमा यस्तो बादल देखियो भने हावाहुरी चल्छ भनेर अनुमान लगाउन सकिन्छ ।
कुमुलोनिम्बस बादल झण्डै शून्य डिग्री सेन्टीग्रेड चिसो हुन्छ । तर, पृथ्वी सतहको हावा भने योभन्दा तातै रहने हुँदा वायुमण्डलीय अस्थिरता सिर्जना हुनपुग्छ । यस्तो अस्थिरताका कारण हावाका ठूल्ठूला धक्का र तरङ्गहरू बन्छन् । यी तरङ्गहरू तलमाथि गर्दै पृथ्वी सतह र सोभन्दा माथि बहन्छन् । कुमुलोनिम्बस बादल बानिन शुुरु भएपछि पूर्णत विस्थापित नहुञ्जेल हुरी चलिरहन्छ । कुमुलोनिम्बस बादलमा बरफका टुक्रा, धूलोका कणहरू आदि मिसिएका हुनाले यस्ता बादल आपसमा जुध्दा धनात्मक र ऋणात्मक चार्ज उत्पन्न हुन गई विजुली चम्कन्छ । परिणामस्वरूप बरफ अझ टुक्रिन गई असिना पनि पर्छन् ।
नेपाली भूमिमा साधारणतया जेठ महिनापछि वायुमण्डलीय चाप स्वतः सन्तुलन हुन्छ र हावामा देखिएको अस्थिरता पनि हराउँछ । त्यसैले ठूला हावाहुरी प्राकृतिक नियमअनुसार बन्द हुन्छन् । त्यसपछि नेपाललगायतका एशियाली देशहरूमा मनसुनी वायु बहन थाल्छ । यो मौसमका वायुमण्डलीय चापको अनियमितताले गर्दा विपरीत दिशाबाट आएका हावाहरू जुधेर भूमरी चल्ने गर्छ । यस्ता भूमरीले फोहोरमैला उडाएर छरिदिन्छ । साथै बालबालिकालाई उडाउन पनि सक्छ । भूमरी पनि खतरनाक प्राकृतिक शक्ति हो । बारामा घटनाको प्रकृति हेर्दा भूमरी पनि परेको देखिन्छ । यो प्रि–मनसुनका तीन महिना मार्चदेखि मेसम्म नेपालमा हावाहुरी चल्ने नै हुन् । तर यसमा भने स्थानीय वायुको प्रभाव पनि रहेको बुझिएको छ । साथै एक्कासि भारतको मध्यप्रदेशको हावाको चाप घटिदिएपछि यहाँको हावा वेगिएर उतैतिर बहन शुरु ग¥यो, तब तुफान भइहाल्यो । यसले वातावरणमा अनि आर्थिक तथा सामाजिक सम्पत्तिसमेतलाई क्षति पुर्याएको छ ।
इमेलः [email protected]
































