दमक/ कन्काई सिचाईं व्यवस्थापनले नहर बनाइदिएको छ । तर, यो नहरमा यस वर्ष पानी आएन । किनकि व्यवस्थापन समितिले आलोपालो गरेर नहरमा पानी छोडिदिने गरेको छ । यस वर्ष कमल गाउँपालिका–१, गौरादह नगरपालिका–९ र शिवसताक्षी नगरपालिकाका केही वडाका नहरमा मात्र पानी छोडिएको छ । गौरीगञ्ज गाउँपालिका–१ मा रहेको नहरमा यो वर्ष पानीको पालो परेको छैन । त्यसैले नहर सुख्खा छ । तर नहरमा पानी नआएर के भयो त ? यस क्षेत्रका नागरिकले सोलारबाट पानी तानेर खेतमा रोपाइँ गरिरहेका छन् ।

झापाको गौरीगञ्ज गाउँपालिका–१ की कल्पना खड्काको चैते धान रोप्न धमाधम छ । धान रोप्ने समयमा नै सुख्खा मौसमले माटोमा जमेको चिस्यानसमेत सुकेर गयो । नहरको पानीसमेत पालो पर्खेर बस्दाबस्दै हिलोमाटो धान रोप्न नपाइकन सुक्ने गर्दथ्यो । कहिलेकाँही त आधा हिल्याएको खेत सुकेर पछि धानको सट्टा मकै लगाउनु परेको थियो । यही झण्झट बेहोर्नु पथ्र्यो । सिंचाइको सजिलो उपायका विषयमा खोजी गर्ने क्रममा सौर्य उर्जाबाट सिंचाइ गर्ने विकल्प सहज लागेको उनले बताइन् । सौर्यशक्तिबाट सिंचाइ गर्न सकिने नयाँ प्रविधि प्रयोग गर्ने योजना बनाएको खड्काको भनाइ छ ।

विद्युत पनि इन्धन केही नचाहिने एक पटक जोडेको सोलारले वर्र्षाैसम्म काम दिने भएका कारण सौर्य प्रविधिबाट गरिने सिंचाइ अहिले प्रभावकारी बन्दै गएको छ । यो गाउँमा नै कन्काई सिंचाइ परियोजनाको नहर छ तर पानी छैन । नहरमा समयमा पानी नआउँदा अनि आकाशबाट हुने वर्षात्समेत समयमा नहुँदा यस क्षेत्रका नागरिकले खेत बाँझै राख्ने समस्या झेल्दै आएका छन् । नहरमा पानी छैन । आकाशबाट समेत वर्षा भएको छैन ।

यो ठाउँमै पहिलो पटक सौर्यउर्जाबाट सिंचाई गर्न थालिएको हो । सौर्य उर्जाबाट विद्युतीय शक्ति उत्पादन गरिन्छ । यसरी उत्पादन गरिएको विद्युतलाई भूमिगत सिंचाइका लागि गाडिएको मोटरमा जोडेपछि निरन्तर पानी आउने खड्काको भनाइ छ । दुई हर्जपावरको मोटर सञ्चालन गरिएको छ । यही सोलारबाट तीन हर्जपावरको मोटरसमेत सञ्चालन गर्न सकिने जनाइएको छ । किसानहरूका लागि यो नौलो प्रयोग भए पनि यो प्रभावकारी हुने देखिएको छ । यहाँका किसानले सामूहिक रूपमा लगानी गरेरै भए पनि टोल– टोलमा सोलारबाट सिंचाई बढाइने बताएका छन् ।

सोलारबाट पानी तान्ने यो प्रविधि वैकल्पिक सौर्य उर्जा प्रवद्र्धन केन्द्रको अनुदानमा राखिएको छ । ७ लाख ५० हजार रुपैयाँ पर्ने यो यन्त्रमा किसानको लगानी ५० हजार र बाँकी सबै अनुदानमा प्राप्त भएको हो । अहिले पनि झापामा सिंचाइको अभावका कारण हजारौं बिघा जमिन बाँझै रहेको छ । यदि यो प्रविधि प्रयोगमा सबै किसानलाई पुर्याउने हो भने तराईमा सिंचाइ नपुगेका हजारौँ बिघा खेतीयोग्य जमिनमा सहज रूपमा सिंचाइ पु¥याउन सकिने थ्यो ।