यासोक/ कुनै समय पाँचथरको कुम्मायक गाउँपालिका–५ का बिष्णु थापाका दुई जोडी हलगोरु थिए । उनलाई खेतबारी जोत्न कुनै समस्या थिएन ।
११ रोपनीमा खेती गर्दै आएका उनले खेतीबाट मनग्यै कमाउँथे । खाएर उब्रिएको बेच्थे । तर अहिले खेती गर्ने बेलामा सिङ्गो बस्तीमा नै हलगोरु पाउन छोडेको छ । प्रविधिको विकास भएसँगै खेती लगाउने समयमा हलगोरु नभेट्दा कृषकको खेत बाँझै हुने गरेको छ । ‘दैनिक १ हजारदेखि १५ सयसम्म ज्याला दिएर खेतीबारी खनजोत गर्छु भन्दा पनि गोरु पाउँदैन,’ थापाले दुखेसो पोखे । उनले पनि हलगोरु पाल्न छाडेका छन् । गाउँमा खानेपानी समस्या बिकराल बन्दै गएपछि अधिकांसले हलगोरु पाल्न छाडेका छन् । पर्याप्त मात्रामा पानी नहुँदा घाँससमेत उत्पादन हुँदैन । जसका कारण पनि वस्तुभाउ पाल्न समस्या हुने गरेको थापा बताउँछन् ।
खानेपानी समस्याका कारण पशुचौपाय पाल्न छोडेपछि हलगोरुको अभाव बढेको कुम्मायक ४ का अर्का किसान पदमदुखी सम्बाहाम्फेले बताए । चैत, बैशाख किसानको लागि मकै छर्न मारमार हुन्छ । तर, हलगोरु नहँुदा खोज्दैमा समय बितेर जाने गरेको उनले बताए । धेरै खेती गर्न गोरु पाल्नै पर्छ तर पानी अभावका कारण सुख्खाक्षेत्र बाझिने खतरा बढेको छ । गाउँमा तीव्र बसाइँ–सराइँले खेती योग्य जमिन वर्षेनी बाझिँदै गएको हो । गाउँका युवाहरू वैदेशिक रोजगारीमा जाँदा दूध र घिऊको लागि स्थानीयले गाई, भैसी मात्रै पाल्दा हलगोरु अभाव बढेको हो ।
गाउँ युवाविहीन हुँदा बूढापाकाको भरमा खेतीपाती कम हुँदै आएको छ । यसले गर्दा खेती योग्य जमिन बाँझो छ भने अर्कोतर्फ हल गोरु अभाव पनि बढ्दै गएको छ । जिल्लाको सुख्खाक्षेत्रमा हल गोरु अभाव साझा समस्या बनेको छ । पानी र घाँसपातको अभावले गर्दा सीमित पशुचौपाय पाल्ने परम्पराले खेतीयोग्य जमिन बाझिँदै गएको छ । पैसा बोकेर हलगोरु खोज्नु पर्ने बाध्यताका कारण किसान पीडामा परेका छन् । कुम्मायक र तुम्बेवा गाउँपालिकाका किसानले मानो खाएर र मुरी उब्जाउने बेलामा गोरु खोज्न हिड्नु परेको किसानको गुनासो छ । सरकारले कृषिलाई यान्त्रीकरण गर्ने उद्देश्य लिए पनि किसानको पहँुचमा यो प्रविधि पुग्न नसक्दा उनीहरूमा निराशा छाएको छ । तीन तहमा गठन भएका सरकारले किसानको पीडालाई चासो नदिएको राष्ट्रिय किसान महासङ्घको आरोप छ ।
स्थानीय तहले कृषिमा लाखौं रुपैयाँ विनियोजन गरे पनि परम्परागत खेतीपातीलाई नै जोड दिँदा कृषिलाई यान्त्रीकरण र आधुनिकीकरण गर्न नसकेको राष्ट्रिय कृषक महासङ्घ पाँचथरका अध्यक्ष गणेश पोखरेलले बताए । सरकारले दीर्घकालीन सोचका साथ कृषिलाई यान्त्रीकरण गरे दिनभर गोरु जोत्ने, कोदालो खन्ने र मकै गोड्ने जनशक्ति कम हुँदा उत्पादन लागत कम भई बजारमा प्रतिस्पर्धा गर्न सक्ने पोखरेलको भनाइ छ । कृषि ज्ञान केन्द्र पाँचथरले पनि जिल्लाको कुम्मायक र हिलिहाङ गाउँपालिकामा सघन बाली विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । मनकामना प्रथम जातको मकै उत्पादनका लागि बाली लगाउँनेदेखि उठाउनेसम्म यान्त्रीकरण गर्ने भएको हो । मकै रोप्न, गोड्न र छोडाउनसमेत यान्त्रीकरणमार्फत् गर्ने कार्यालयले जनाएको छ ।
































