ताप्लेजुङ/ ताप्लेजुङको वन क्षेत्रमा वातावरणीय अध्ययन बिनै जथाभावी सडक निर्माण गरिँदा वन्यजन्तुहरू खतरामा परेका छन् ।
जङ्गलको बीच–बीचमा सडक खन्दा एकातिर वन्यजन्तुको बासस्थान खण्डीकरण भएको छ भने अर्कातिर सिकारीहरूलाई वन्यजन्तु मार्न सजिलो भएको छ ।
केही वर्षअघिसम्म प्रशस्तै रेडपाण्डा देखिने पाथीभरा आसपासको जङ्गलमा पछिल्लो समय देखिन छाडेका छन् । तीनवर्ष अघि दुईवटा हिउँचितुवा मृत फेला परेका थिए । अहिले सिरिजङ्गा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा घोरल प्रजातिका जनावरहरू मर्ने दर उच्च रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रको तथ्याङ्क छ । संरक्षणको क्षेत्रमा काम गर्र्दै आएको हिमाली संरक्षण मञ्चको तथ्याङ्कअनुसार सन् २०११ देखि २०१८ सम्म सातवटा रेडपाण्डा मृत र दुई वटा घाइते अवस्थामा भेटिए । जङ्गलमा जनावरलाई थापिएका पासोहरू पनि प्रशस्तै भेटिन्छन् ।
वातावरणीय अध्ययन बिना नै वनक्षेत्रमा निर्माणका काम गरिँदा वन्यजन्तु जोगाउन चुनौती बढेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राई बताउँछन् । उनी भन्छन्, ‘हामीले विकासको विरोध गरेका होइनौं, तर विकास गर्दा पनि वातावरणीय अध्ययन गरेर गर्नुपर्छ ।’
चीन र भारतसँग सीमा जोडिएको कञ्चनजङ्घा संरक्षण क्षेत्रसहित ताप्लेजुङको वनक्षेत्र रेडपाण्डा, हिउँचितुवा, नाउर, डाँफेलगायतका संरक्षित वन्यजन्तुको बासस्थान हो । उत्तरी भेगमा मौमाटार, खम्वाचेन, पापुङ, याम्फुदिन, मामाङ्खे, फावाखोलामा बढी संरक्षित जनावरहरू पाइन्छन् ।
वन्यजन्तु संरक्षणका लागि वन कार्यालय, कञ्चनजङ्घा संरक्षण क्षेत्रलगायत आधादर्जन निकाय रहे पनि उनीहरूको काम प्रभावकारी बनेको पाइँदैन । उनीहरूको संरक्षण कार्यक्रम प्रायः तालिम, गोष्ठीमै सीमित छन् । डिभिजन वन कार्यालय ताप्लेजुङका प्रमुख मोहनलाल कर्ण स्थानीयको चेतना अभिवृद्धिका लागि काम गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘स्थानीय तह, प्रहरी प्रशासन र हाम्रा कर्मचारी भएर समय–समयमा चोरी सिकारीसम्बन्धी गस्ती तथा निरीक्षण पनि गर्ने गरेका छौं ।’
ताप्लेजुङका स्थानीय तहहरूले पनि वातावरण र वन्यजन्तु संरक्षणमा खासै चासो दिएको पाइँदैन । स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै बजेट विनियोजन गर्नुपर्ने भए पनि अधिकांश बजेट सडकमै लगाइएको छ । गाउँ–गाउँमा सडक पु¥याउने होडले वन्यजन्तुको बासस्थानमा असर पारिरहेको छ ।
जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन सडक निर्माणले वन्यजन्तुको बासस्थानमा खण्डीकरण भैरहेकाले विकासका काम गर्दा ध्यान पु¥याउनु पर्ने अवस्था देखिएको बताउँछन् । उनी भन्छन्, ‘जङ्गलसम्म सडक पु¥याउँदा वन्यजन्तुको बासस्थान खण्डीकरण त भएको छ नै, सिकारीहरूलाई पनि सजिलो भएको छ । यसमा स्थानीय तहले विशेष ध्यान दिनुपर्छ ।’
































