ताप्लेजुङ/ याङवरक गाउँपालिका-१ नाङ्खोल्याङका हरी राई विहान सवेरै उठ्छन् र नजिकै रहेको ईटा उद्योग तिर लाग्छन् । उद्योगमा पुग्नासाथ उनलाई भ्याई नभ्याई हुन्छ । ईटाका लागि माटो खन्ने देखि लिएर ईटा तयार गर्ने सम्मको काममा दिनभर व्यस्त हुन्छन् र बेलुकी घर फर्कन्छन् ।

उनले तयार गरेको एउटा काँचो ईटाको मुल्य तीन रुपैँया छ । दिनमा दुई देखि तीन सय वटा ईटा बनाउँछन् । प्रति ईटा उनले तीन रुपैँया पाउँछन् । यसरी उनको कमाई दिनमा ६ सय देखि ९ सय रुपैँया सम्म हुन्छ । यहि कमाईले आफ्नो घर व्यवहार चलाउँछन् ।

त्यही फ्याक्टूीमा उस्तै काम गर्छन् स्थानीय दुर्गा पौडेल । उनको पनि काम र कमाई राईको जस्तै छ । यसरी नै सो ईटा उद्योगमा दैनिक २५/२६ जनाले काम गर्दै आएका छन् । केही समय अघि देखि याङवरक गाउँपालिका(१ मा सञ्चालनमा आएको उक्त मेवखा (एनकेजीएस) ईटा उद्योगमा स्थानीयलाई गतिलो रोजगार मिलेको छ ।

नजिकै रोजगार मिले पछि स्थानीय ती मजदुरहरु पनि खुसी छन् । उद्योगमा कार्यरत प्रकास चापागाईले भने-‘सबै युवा पैसा कमाउन घर परिवार छाडेर विदेश तिर जान्छन्, हामीलाई परिवारसँगै घरकै भात खाएर काम गर्न भ्याई नभ्याई छ, राम्रै कमाई हुन्छ, यहि कमाईले घर व्यवहार चलाउँदै आएको छु, खुसी लाग्छ ।’ अर्का मजदुर जसबहादुर राई भन्छन्-‘गाउँमै रोजगार पाउँदा धेरै खुसी छु ।’ यहाँ काम गर्नु अघि खोजी खोजी न्युन पारिश्रमिकमा घर बनाउने लगायतका काम गर्नु पर्ने उनिहरुको बाध्यता थियो ।

विगत झण्डै ७ वर्ष देखि सञ्चालनमा आएको उक्त उद्योगमा स्थानीयले रोजगार पाउँदै आएका हुन् । केही वर्ष परम्परागत भट्टि लगाएर ईटा बनाउने गरिएकाले सानो संख्याले मात्र रोजगार पाए पनि गत वर्ष देखि आधुनिक भट्टि बनाएर ईटा उत्पादन गर्न थालिए पछि धेरैले रोजगार पाएका छन् ।

अहिले उक्त उद्योग रहेको क्षेत्र ईटाले भरिएको छ । झण्डै चार रोपनी क्षेत्रफलमा ईटाको लाईन लगाईएको छ । सवै मजदुर दिनभर जसो भ्याई नभ्याई देखिन्छन् । उद्योग सञ्चालक स्थानीय ठाकुर प्रसाद महतारा भन्छन्-‘पहिला थोरैले काम पाउँथे तर अहिले धेरैले काम पाएका छन्, आठ जना त नियमित काम गर्ने कामदार छन्, उनिहरुलाई मासिक १८ हजार दिएर काम लगाएको छु ।’ स्थानीय मजदुरलाई मात्र होईन उद्योग सञ्चालकको पनि ईटाबाट राम्रै कमाई छ ।

दैनिक १२ सय देखि १८ सय सम्म ईटा उत्पादन हुन्छ । उद्योग बाटनै प्रति गोटा १८ रुपैँयामा विक्रि हँदै आएको सञ्चालक महताराले बताए । उनले भने-‘सुरु सुरुमा नभए पनि अहिले राम्रै कमाई हुन्छ ।’ जहाँ जे को सम्भावना छ त्यही काम गरे सवैलाई फाईदा हुने महतारा बताउँछन् ।

‘यहाँ ईटाका लागि उपयुक्त ठाउँ थियो हामीले ईटा उत्पादनकै काम गर्यौ, यसले केहीलाई रोजगार पनि मिलेको छ, आफुलाई पनि कमाई भएको छ, सवैले यसरी नै लाग्ने हो भने किन विदेश जानु प¥यो ।’ यहाँ उत्पादन भएको ईटा अहिले जिल्ला भित्रै खपत भईरहेको छ ।

सञ्चालक महतारा भन्छन्-‘अहिले यहाँको उत्पादन जिल्ला बाहिर गएको छैन्, नयाँ नयाँ भएकाले अन्य ठाउँबाट माग भएको छैन तर विस्तारै छिमेकी जिल्ला तिर पुर्याउने हाम्रो योजना छ, हाल दैनिक २÷३ गाडी सम्म जिल्ला भित्रै गईरहेको छ ।’ स्थानीय स्तरबाट भएको उत्पादनलाई महत्व दिन उनले सबैलाई आग्रह समेत गरेका छन् ।

उनि भन्छन्-‘राज्य स्तरबाट पनि बजारीकरण र गुणस्तर बढाउने कार्यमा सहयोग हुनु पर्छ ।’ भुगोल र कच्चा पदार्थ उपलब्धताका आधारमा सम्भाव्यता अध्ययन गरि सर्वसाधरणलाई उत्पादनशिल कार्यमा आकर्षित गर्न सके मुलुकै अर्थतन्त्रमा सुधार हुने समेत उनको बिस्वास छ ।