दमक/ तरलता सङ्कट र ब्याजदरमा उतार–चढाव हुँदा पनि पर्वका बैङ्क तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष ०७५/७६ को दोस्रो त्रैमासमा नाफा बढाउँदै लगेका छन् ।

प्रदेश–१ का बैङ्क तथा वित्तीय संस्थाहरूले अघिल्लो वर्षको तुलनामा व्यापार बृद्धिसँगै नाफा बढाउँदै लगेका हुन् । केही दिन अघि ती बैङ्क तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्मकोे रिपोर्टमा व्यापारसँगसँगै नाफा पनि बढाउँदै लगेको देखिएको छ ।

पछिल्ला वर्षहरूमा तरलता सङ्कट, सिसिडी रेसियो, स्प्रेडदर घटाइनु, ब्याजदरमा उतार–चढाव, शाखा विस्तार र कर्मचारी खर्चमा अधिक खर्चका बावजुद पनि बैङ्क र फाइनान्सहरूले नाफा बढाएका छन् । तरलता सङ्कटलगायतका कारणले नाफामा असर परेको अवस्था छ । ब्याज खर्च अत्याधिक बढेको तर त्यसको तुलनामा ब्याज आम्दानी बढ्न नसकेका कारण पनि बैङ्कको नाफामा सामान्य वृद्धि भएको देखिन्छ ।

सदाझैं अन्य प्रतिस्पर्धीलाई पछि पार्दै बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैङ्कले सबैभन्दा धेरै नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । एक्सेलपछि धरानको मितेरी र विराटनगरको सिर्जना फाइनान्सले नाफा कमाउनेमा अब्बल देखिएका छन् ।

एक्सेलले पुस मसान्तसम्ममा ८ करोड २५ लाख खुद नाफा कमाएको छ । मितेरी र सिर्जनाको तुलनामा एक्सेलको नाफा करिब दोब्बर हो । गत वर्ष दोस्रो त्रैमासमा एक्सेलले ७ करोड ५१ लाख नाफा गरेको थियो । ६९ करोड चुक्ता पुँजी भएको एक्सेलको जगेडा कोष पनि आकर्षक छ । उसको जगेडामा ३४ करोड ५७ लाख सञ्चित छ । एक्सेलले ६ अर्ब ११ करोड बचत सङ्कलन गरेर ५ अर्ब ४० करोड ऋण लगानी गरेको छ ।

मितेरी र सिर्जनाले दोस्रो त्रैमासमा कमाएको नाफामा १० लाखको मात्र फरक छ । गत वर्षको दोस्रो त्रैमासमा ४ करोड १६ लाख कमाएको मितेरीले यो त्रैमासमा ४ करोड ३८ लाख कमाएको छ । गत वर्षको तुलनामा मितेरीको नाफा २२ लाखमात्र धेरै हो ।

२४ करोड ४९ लाखमा जगेडामा राखेको मितेरीको चुक्तापुँजी ५० करोड मात्र छ । यो वर्ष १७ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको मितेरीले बोनस वितरण गरिसकेको छैन । बोनस वितरणपछि उसको चुक्ता पुँजी वृद्धि हुनेछ । ४ अर्ब बचत सङ्कलन गरी उसले ३ अर्ब ४९ करोड ऋण लगानी गरेको छ ।

नाफाको तुलनामा मितेरीभन्दा सिर्जनाले १० लाख कम नाफा कमाएको छ । गत वर्षको दोस्रो त्रैमासमा ३ करोड ५५ लाख कमाएको सिर्जनाले यो त्रैमासमा ४ करोड २८ लाख खुदनाफा गरेको छ । ४६ करोड चुक्ता पुँजी भएको सिर्जनाले ५ अर्ब ९९ करोड बचत सङ्कलन गरेर ४ अर्ब २८ करोड ऋण लगानी गरेको छ ।

दमकमा केन्द्रीय कार्यलय रहेको कन्काई विकास बैङ्कले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ६२ लाख खुद नाफा कमाएको छ । नाफा कमाइको प्रतिशत अन्य बैङ्कभन्दा धेरै रहेको कन्काईको नाफा ३६ प्रतिशतले बढेको हो । बैङ्कले गत वर्ष १ करोड ९१ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैङ्कको खुद ब्याज आम्दानी २७ प्रतिशतले बढेर ७ करोड ४६ लाख १५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा गत वर्षको तुलनामा २५ दशमलव ७४५ बढी हो । बैङ्कले पुस मसान्तसम्ममा १ अर्ब ९० करोड ९८ लाख २८ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेर १ अर्ब ८२ करोड ३६ लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कन्काईको खराब कर्जा ०.७६५ रहेको छ । ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कन्काईको रिजर्भ कोष घटेर ६ करोड ८८ लाख सञ्चित छ ।

त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैङ्कले चालु वर्षको पुस मसान्तसम्मा १ करोड ४६ लाख कमाएको छ । गत वर्ष १ करोड ९ लाख कमाएको यो बैङ्क अहिले धनकुटाको काबेली विकास बैङ्कसँग मर्ज प्रकृयामा छ । ५० करोड पुँजी भएको सप्तकोशीले १ अर्ब ५५ करोड निक्षेप सङ्कलन गरेर १ अर्ब ४६ करोड ऋण लगानी गरेको छ ।

त्यसैगरी धरानको हाथवे फाइनान्सले यो त्रैमासमा १ करोड २० लाख कमाएको छ । खराव अवस्थामा पुगेको यो फाइनान्सको व्यवस्थापन नयाँ समूहले लिएपछि गत वर्षदेखि सुधार्दै लगेको छ ।

महत्वपूर्ण सूचकाङ्कमा हेरिने खुदनाफा, निक्षेप सङ्कलन, ऋण लगानी, प्रतिशेयर आम्दानी, जगेडा कोष, चुक्ता पुँजीमध्ये अधिकांशमा एक्सेल अग्रपङ्क्तिमा नै छ । अन्यको तुलनामा एक्सेलको प्रतिशेयर आम्दानी २३ दशमलव ८३ छ । जगेडाकोषमा पनि एक्सेलको ३४ करोड ५७ लाख छ ।

जगेडा बलियो भएको र प्रतिशेयर आम्दानी धेरै हुने संस्थाले धेरै प्रतिफल दिन सक्ने हुनाले बजारमा एक्सेलको शेयर मूल्य पनि अन्यको तुलनामा महँगो छ । एक्सेलपछि मितेरी, सिर्जनाफाइनान्स र कन्काई विकास बैङ्कको सूचक राम्रो देखिन्छ ।