विराटनगर/ ‘कोलीर्फम’ भेटिएका प्रशोधित पानी उद्योगलाई मुद्दा दर्ता गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उदासिनता देखाएको छ ।  ल्याब परीक्षणका क्रममा १४ वटा पानी उद्योगमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ फेला परेको थियो । कोलिफर्म भेटिएको ६ महिना बितिसक्दा पनि उद्योगविरुद्ध मुद्दा दर्ता नगरेको हो ।

गत साउन र भदौंमा विराटनगर र झापाका पानी उद्योगमा गरिएको अनुगमन पश्चात गरिएको ल्याब परीक्षणमा कोलिफर्म फेला परेको हो । ‘कोलिर्फम’ भेटिएकोबारे १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्री जीवन घिमिरले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै खाद्य प्रविधिलाई कारबाही गर्न निर्देशन समेत दिए ।

कारबाहीको प्रक्रिया अगाडि बढाउने अधिकार प्राप्त खाद्य प्रविधिले विभिन्न कारण देखाउँदै मुद्दा दर्ता गर्न आलटाल गरेको हो । विराटनगरका १० र झापाको ४ वटा पानी उद्योगमा कोलिफर्म भेटिएको थियो ।

विराटनगर क्षेत्रको निकिता श्रेष्ठद्वारा सञ्चालित गोमारानी पानी उद्योग, राम विलास साहद्वारा सञ्चालित पूजाफुड एण्ड बेभरेज प्रालि, राजदीप महतोको तिरूपती जल उद्योग, सुमित साहको माउण्टेन पानी उद्योग, रक्षा र विनोद अर्यालको हाइमल जल उद्योग, किशनकुमार रायको श्रीजल उद्योग, रामप्रसाद साहको शीतल जल उद्योग, पङ्कज कर्णको जोनसन जल उद्योग, डिपल शर्माको दिव्यश्री जल उद्योग, जमुना खड्का थापाको गङ्गाजल उद्योग र सुरेन्द्र लगरवारद्वारा सञ्चालित मोरङको बुढीगङ्गा गाउँपालिका–१ को शुभजल उद्योगमा कोलीफर्म भेटिएको थियो ।

खाद्य प्रविधि कार्यालयले खाद्य ऐन २०२३ तथा खाद्य नियमावली २०२७ बमोजिम मुद्दा चलाउने कार्यालय प्रमुख प्रमोद कोइरालाले बताएका थिए । तर, यतिका समय बितिसक्दा पनि प्रक्रिया अगाडि नबढेपछि उपभोक्ता खाद्य प्रविधिको काम गराइप्रति शङ्काको नजरले हेर्न थालेका छन् ।

यता खाद्य प्रविधिका प्रमुख प्रमोद कोइरालाले कर्मचारी अभाव देखाउँदै मुद्दा दर्ता नगरेको बताए । उनले मुद्दा दर्ताको चरणमा रहेको खुलाए । ‘भदौ १ गतेदेखि लागू भएको नयाँ कानूनले गर्दा हामी पनि अन्योलमा थियौं,’ उनले भने, ‘खाद्य ऐन अन्तर्गत मुद्दा प्रशासन कार्यालयमा दर्ता गर्ने कि अदालतमा भन्नेमा कन्फ्युज छौं ।

अहिले आएर क्लियर भयौ ।’ सरकारी वकिलको कार्यालयबाट पनि राय लिइसकेकाले चाँडै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिने उनले बताए ।
सुध्रिएनन् पानी उद्योग
 खाद्य ऐन २०७५ विनै महानगर क्षेत्रमा पानी उद्योग सञ्चालनमा आएको जानकारी पाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बुधबार छापा मारेको छ ।  तर, छापा मार्ने क्रममा कतिपय उद्योगहरू बन्द गरेर सञ्चालकहरू फरार भएका छन् ।

खाद्य प्रविधिका खाद्य निरीक्षक शङ्कर न्यौपानेसहितको टोली पुग्दा दुई वटा पानी उद्योगका सञ्चालक अनुगमन गर्दै गरेको जानकारी पाएपछि बन्द गरेर भागेका थिए । टोलीले चारवटा पानी उद्योगमा अनुगमन गरेको छ । त्यसक्रममा अनुज्ञापत्र बिनै सञ्चालनमा आएको विराटनगर–५ को जयश्री बालजी पानी उद्योगमा शिलबन्दी गरेको हो । उक्त उद्योग रञ्जित अग्रवालले सञ्चालनमा ल्याएका हुन् ।

गत भदौको अनुगमनमा उनी उद्योग बन्द गरेर भागेका थिए । ‘अनुगमनको क्रममा उद्योगले हातको प्रयोगबाट बोतलमा पानी भरिको पाइयो,’ खाद्य निरीक्षक न्यौपानेले भने, ‘अटोमेटिक मेसिनबाट प्याकिङ्ग गर्नुपर्दछ । खाद्यले तोके बमोजिमको मापदण्ड पूरा नगरेको पाइयो ।’ त्यस्तै विराटनगर–४ स्थित गोमारानी पानी उद्योगलाई सुधाका लागि निर्देशन दिएको उनले बताए ।

पूजा फुड एण्ड वेवरेज पानी उद्योग र एकुवा दिवरेज पानी उद्योगमा अनुगमन टोली पुग्दा ताला लगाएर सञ्चालक बेपत्ता भए । अनुज्ञा–पत्र बेगार सञ्चालनमा आएको पानी उद्योगमा शिलबन्दी गर्दै अनुगमन टोली ।