विराटनगर/ नेपालको पहिलो उद्योग ऐतिहासिक विराटनगर जुट मिल्सले व्यावसायिक रूपमा उत्पादन भएको ‘सुतली’ बिक्री हुन थालेको छ । मिल सञ्चालनमा आएको पाँच महिनापछि उत्पादन बिक्री भएको हो ।
मिलले उत्पादन गरेको १५ टन ‘सुतली’ बिक्री गरेको विराटनगर जुट मिल्सका अध्यक्ष वसन्त वनले जानकारी दिए । जुट मिल्स सञ्चालनमा आएपछि उत्पादन गरेको ७२ इञ्चको ४० टन सुतली मध्ये १५ टन सुतली बिक्री भएको वनले बताए । ‘अहिले हामीले २ प्रकारको सुतली उत्पादन गर्दै आएका छौं,’ अध्यक्ष वनले भने, ‘७२ इञ्चको १४ पाउण्डको र ९० इञ्चको सुतली उत्पादनमा छ ।’ जसमध्ये ७२ इञ्चको सुतली बिक्री स्वदेमै भएको छ भने अन्य सुतलीसमेत बिक्री गर्ने तयारीमा रहेको मिल्सले जनाएको छ ।
मिल्सले उत्पादन गरेको ९० इञ्चको सुतली भारतमा बिक्री हुने तयारीमा छ । ‘९० इञ्चको सुतली स्वदेशमा बिक्री कमै हुन्छ,’ उनले भने, ‘७२ इञ्चको यहाँ र ९० इञ्चको भारतमा बिक्री गर्ने तयारीमा छौं ।’ मिल्सले ७२ इञ्चको ‘सुतली’ प्रतिकिलो ८२ रुपैयाँले बिक्री गरेको छ । मिल्सले उत्पादन गरेको ९० इञ्चको सुतली १५ टन र ७२ इञ्चको २५ टन सुलती गोदाममा छ ।
यस अघि बारम्बार बन्द हुँदै सञ्चालनमा आएको जुट मिल्सले उत्पादन गरे पनि बिक्री गर्न सकेको थिएन । झण्डै एक दशकपछि उत्पादन बिक्री भएको हो ।
पछिल्लो पटक जुट मिल्स सञ्चालनमा आएपछि जुटको ‘सुतली’ पछि बोरा उत्पादन थालेको हो । सुतली उत्पादनपछि बोरा उत्पादन शुरु गरेको उद्योगले शनिबारसम्म १० टन उत्पादन भएको अध्यक्ष वनले बताए ।
‘जुट मिल्सले सुतली उत्पादन गरेको सामग्री बिक्री गर्नका लागि प्याकिङको रूपमा बोरा उत्पादन गर्यो,’ उनले भने, ‘प्याकिङका लागि पर्याप्त बोरा भयो, अब बिक्री गर्न विभिन्न साइजको बोरा उत्पादन हुन थालेको छ ।’ सुतली प्याकिङ गर्न एक सय केजी बोरा उत्पादन भएपछि अहिले धमाधम बोरा उत्पादन गरेको जुट मिल्सका गुणस्तर नियन्त्रक सूचेन्द्र झाले जानकारी दिए ।
उनका अनुसार अहिले दुई प्रकारका बोराहरू उत्पादन गर्न शुरु गरेको छ । १ सय तौल र ५० केजी तौल क्षमताको बोरा उत्पादन गर्न शुरु गरेको उनले बताए । ‘बोहरा उत्पादन गर्न अहिले २ वटा मेसिन चलिरहेको छ ।
बिस्तारै सबै मेसिन सञ्चालनमा आउनेछ,’ मिल्सका गुणस्तर नियन्त्रक झाले भने, ‘बोरा उत्पादन हुने २ सय ७० वटा मेसिन छन् । यी सबै एक साथबाट चाँडै सञ्चालनमा आउनेछन् ।’ धान, चामल राख्न मिल्ने खालको ४४ इञ्च लम्बाइ, २७ इञ्च चौडाई भएको ९ सय ७ ग्रामको १ सय केजीको बोरा र ३७ इञ्च लम्बाई र साढे २२ इञ्च चौडाई भएको ६ सय ६० ग्राम तौलको ५० केजीको बोरा उत्पादन गर्न जुट मिल्स लागिपरेको छ ।
उनका अनुसार १ सय ४ केजी गजको मोटो बोरा भएपछि एक पटकमा मेसिनबाट झिक्ने गरेको बताए । अहिले दैनिक १ सय ५० केजी बोरा उत्पादन हुने गरेको बताइएको छ ।
विराटनगर जुट मिल्सले भदौ २६ गतेबाट परीक्षण उत्पादन शुरु गरेको हो ।
विवाद र किचलोले बन्दैबन्दको इतिहास बनाइसकेको नेपालको पहिलो उद्योग सुतली र बोरा उत्पादन गर्दै तङ्ग्रेको छ । विराटनगर जुट मिल्स वि.सं. १९९३ असार ३० गते स्थापित भएको थियो । मिलले २०६५ सालपछि उत्पादन गर्न सकेको थिएन ।
‘विराटनगर जुट मिल्सलाई सरकारले पुनर्जीवन दिनेछ’
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादवले ऐतिहासिक विराटनगर जुट मिल्स पूर्ण क्षमतामा सञ्चालनमा ल्याएर सरकारले पुनर्जीवन दिने बताएका छन् । मिल्स सञ्चालन भएको पाँच महिनाको अवधिमा उत्पादन शुरु गरी बिक्री गरेपछि शनिबार मिल्सको स्थलगत अनुगमन गर्दै मन्त्री यादवले समस्याको सावधना गरी निटक भविष्यमा पूर्ण क्षमतामा मिल सञ्चालन गर्न सरकार लागि परेको बताए ।
‘जिम्मेवारी पाएका विगतका केही मान्छेहरूले मिल सञ्चालन गर्न नदिने अनेक प्रपञ्च रचे,’ मिलको अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले भने, ‘अहिले मिल सञ्चालनमा आएको छ । उत्पादन बिक्री गर्न पनि शुरु भयो ।’ बिरामीग्रस्त भएको उद्योग अहिले अपाङ्गजस्तो भएर सञ्चालन भएको देखिए पनि चाँडै फुलफेजमा मिल सञ्चालन गर्न सरकार लागिपरेको मन्त्री यादवले बताए ।
मन्त्री यादवले जुट मिल्समा काम गर्ने मजदुरलाई अनिवार्य ‘माक्स’ प्रयोग गर्न निर्देशन दिए । मिल्सको अनुगमनपछि कुनै पनि मजदुरले माक्स बेगार काम गरेको देखेपछि मन्त्री यादवले मिल्स प्रशासनलाई माक्स वितरण गर्न निर्देशन दिए ।
‘मजदुरको सुरक्षाको अनिवार्य रूपमा माक्स आवश्यक पर्दछ,’ मन्त्री यादवले भने, ‘प्रशिक्षण वा बाध्यकारी बनाएर भए पनि माक्स प्रयोगमा ल्याउनुपदर्छ ।’ उनले प्रतिव्यक्ति २ वटाको दरमा माक्स मजदुरलाई दिन प्रशासनलाई निर्देशन दिए ।
अहिले वर्तमान सरकारले मोडल परिवर्तन गरि देशभरको उद्योग सञ्चालन गरी रोजगारको वातवरण सिर्जना गर्न लागिपरेको मन्त्री यादवको भनाइ थियो । ‘जति पनि उद्योग छन्, ती सबै उद्योगको मोडल चेञ्ज गरी सञ्चालन गर्न सरकार लागि परेको छ,’ मन्त्री यादवले भने, ‘मोडल चेञ्ज भन्नाले कतिपय उद्योग लिजमा हुन सक्छ , निजी क्षेत्रसँगको पार्टनसिप वा सहकारीमार्फत । सबै उद्योग यसरी सञ्चालन गर्नेछौं ।’ अब उद्योगहरू नयाँ तरिकाले चल्ने मन्त्री यादवले बताए ।