धनकुटा/ क्याक्टस प्रजातिको वनस्पति ‘ड्रयागनफल’ को व्यवसायिक खेतीको सम्भावना खोज्दै पकेट क्षेत्रको रूपमा विकास गर्न धनकुटा नगरपालिकाले स्रोत केन्द्र निर्माण गर्ने भएको छ ।

सुख्खा क्षेत्रमा समेत यसको व्यवसायिक खेतीको सम्भावना रहेको कारण नगरपालिकाले ‘मेयर कृषि पर्यटन कार्यक्रम’ अन्र्तगत ८ नं. वडालाई ड्रयागन फलको स्रोत केन्द्र तथा पकेट क्षेत्र बनाउन लागेको हो ।

ड्रयागन फलको व्यवसायिक खेतीको सम्भावना र विस्तारबारे आइतबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले यस्तो जानकारी दिएको हो । अल्पसङ्ख्यक आठपहरिया समुदायको बाहुल्यता रहेको ८ नं. वडा अन्य वडाको तुलनामा बढी सुख्खा ग्रस्त क्षेत्र हो । यहाँ खानेपानीको समस्या रहेको छ ।  सुख्खा ग्रस्त क्षेत्र भए पनि यहाँका किसान बर्खाको समयमा मकैजस्ता निर्वाहमूखी बालीको मात्रै खेती गर्छन् ।

सो क्षेत्रमा हुने खेतीको सम्भावना पहिल्याउँदै जाँदा ड्रयागन फलको सम्भावना देखिएका कारण स्रोत केन्द्र तथा पकेट क्षेत्रको रूपमा विकास गर्न कार्यक्रम शुरु गरिएको धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले बताए । ‘ड्रयागन फल खेतीको लागि यहाँको भूगोल उपयुक्त देखियो’ उनले भने ‘ ड्रयागन फलको खेतीले यहाँका स्थानीयको जीवनस्तर उकास्ने विश्वास छ ।’

ड्रयागन फल खेती सम्भाव्यताबारे किताब समेत लेखिसकेका कृषि अभियन्ता जीवनकुमार राईका अनुसार यो फल मेक्सिकोको रैथाने फल हो । क्याक्टस प्रजातिको यो फल रुखोपाखो बारीमा समेत राम्रोसँगले खेती गर्न सकिन्छ । यसमा १४ प्रकारका मिनरल्स तथा भिटामिन पाइन्छन् ।

यो क्यान्सर प्रतिरोधात्मक धेरै गुण भएको र यसको नियमित सेवनले मानिसमा क्यान्सर लाग्न दिँदैन । पछिल्लो समय यस फलको महत्व ज्यादै बढेर गएको छ । यसको खेतीबारीमा तथा गमला दुवैमा उत्तिकै गर्न सकिने उनले बताए ।

‘यसको विरुवा रोपेको ३ वर्षदेखि फल दिन थाल्छ’ उनले भने ‘एउटा वयस्क बिरुवाले एक सिजनमा कम्तीमा पनि २० किलो फल दिन्छ । यसको फल बजारमा प्रतिकिलो ६ सय रुपैयाँ पर्छ ।’ नगरपालिका क्षेत्रका टेकुनाला, चुलिवन, सान्ताङ, याक्तेलगायत क्षेत्रमा ६ वटा समूह निर्माण गरिएको छ ।

ड्रयागन फलको बिरुवा रोपाउने लक्ष्य राखेर गठन भएका ती समूहमा १ सय ४२ घरपरिवार आवद्ध छन् । समूहका सबै सदस्यलाई ड्रयागन फलको सैद्धान्तिक तथा व्यवहारिक तालिम घरआँगनमै उपलब्ध गराइएको थियो ।

मेयर कृषि पर्यटन कार्यक्रमका अभियन्ता समेत रहेका राईले भने ‘तालिम पश्चात ती सदस्यलाई ७० प्रतिशत अनुदानमा १ हजार ५ सय ५५ ओटा बिरुवा वितरण गरिएको छ ।’ ड्रयागन फलको बजार नेपालको आन्तरिक बजार धेरै ठूलो रहेको उनले दावी गरे । उनका अनुसार भर्खरै मात्र नेपाल प्रवेश गरेको यो फललाई धेरै नेपालीले चाख्न पाएका छैनन् ।

यो फललाई कच्चा पदार्थको रूपमा प्रयोग गरी जेली÷जाम, जुस, वाइन, आइसक्रिम, मञ्जनलगायत उत्पादन गर्न सकिन्छ । यो फल नेपालमा झण्डै १५ वर्ष अघि भित्रिएको उनले बताए । नेपालमा सर्वप्रथम डा. जगन्नाथ राईले ललितपुरको भैंसेपाटीस्थित आफ्नै निवासमा भित्र्याएका थिए ।

डा. राईका अमेरिकी इञ्जिनियर साथीले भियतनामबाट कोसेलीका रूपमा सानो टुक्रा ल्याएका थिए । त्यही बिरुवा डा. राईले आफ्नै करेसाबारीमा ३० बोट बनाएर फलाइरहेका छन् । आजका दिन त्यही टुक्राले सिर्जना गरेको ड्रयागन फलबाटै वार्षिक ७ लाखसम्म आम्दानी लिन सकेका छन् ।

उनको सिर्जनाले आज नेपालको २० जिल्लामा सानो ठूलो परिमाणमा ड्रयागन फलको खेती विस्तार भएको उनले बताए ।