धरान/कोशी लोकमार्गमा पर्ने मोरङको निमुवाबाट डेढ किलोमिटर दक्षिण पश्चिम लाग्दा मुढेरी गाउँ आउँछ । जहाँ सरदार बस्ती छ । बुढीखोलासँगै टासिएको मुढेरीमा चुनाव अाएपछि मात्रै नेताहरु पुग्छन् ।

त्यो भन्दा अघिपछि उनीहरु सायदै पुग्छन् । त्यसैले त, फुलेश्वरीदेवी सरदारको गुनासो छ,–‘चुनावमा भोट माग्न मात्रै आउँछन्, जितेपछि फर्केर आउँदैनन् ।’ भोट माग्न पुग्दा नेताहरु सरदार बस्तीमा आश्वासन बाड्छन् । ती आश्वासन तव फोस्रो हुन्छन् । जव उनीहरु नेता भेट्न पुग्छन् । फूलेश्वरीदेवी थप्छिन्,–‘नेतालाई भेट्न जाँदा म त तिमीहरुलाई चिन्दैनौं भन्छन् ।’
यतिबेला भने माओवादी, एमाले, र कांग्रेस पनि पुगिसक्यो । हुँदा–हुँदा गाई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी पनि पुग्यो । उनलाई थाहा छ, नेताहरु चुनावको मुखमा मात्रै पुग्ने हो । त्यसपछि कुनै नेता त्यो गाउँमा पाइला टेक्दैनन् । र, त फुलेश्वरीदेवीको गुनासो मेटिदैन । गाउँमा नेता पुग्दा बुढीखोलाको कटान रोक्न तटबन्ध बाधिदिने, खोलामा पुल हाल्ने जस्ता आश्वासन बाड्छन् ।
तर, ४ वर्षदेखि सुरु भएको मुढेरी खोलाको पुल अलपत्र छ । दुईवर्ष काम भएर पिल्लरसम्म उठ्यो । त्यसपछि रोकिएको छ । किन रोकियो ? त्यसको जवाफ उनीसँग छैन । ‘दुईवर्षदेखि केही काम भएको छैन ।’ उनी सुनाउँछिन,–‘किन रोकियो थाहा छैन ।’
बुढीगंगा गाउपालिका–३ को सो सरदार बस्तीका बासिन्दाको निन्द्रा हरेक वर्षको बर्खामा हराउँछ । खोला कटानले असारदेखि भदौंसम्म बस्ती सक्ला कि भन्ने चिन्ता फुलेश्वरीदेवी जस्तालाई छ । ‘नेतालाई भोटको मात्रै चिन्ता छ ।’ प्रतिनिधि पात्रको रुपमा समग्र गाउँको गुनासो सुनाउने फुलेश्वरीदेवी भन्छिन् ।
त्यहाँदेखि दुई किलोमिटर दक्षिण तिर लागेपछि बुढीगंगा गाउँपालिका–२ माधव चौधरीको गाउँ आइपुग्छ । चौधरीलाई नेताले आश्वासन मात्रै बाड्छन् भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । २०७० सालको संविधान सभाको चुनावमा भोट माग्दै आएका नेताले के चाहिन्छ भनेर सोधे । उनले ती नेतालाई तीनवटा ट्युवेल, तीनवटा होमपाइप मागे । नेताले हुन्छ मात्रै भनेनन् भोट माग्दै गर्दा नै ल्याइदेलान् कि जस्तो गरे । तर, अहिलेसम्म उनको माग पूरा भएको छैन । भन्छन्,–‘चुनाव जितेपछि माग्न गयो, ठेटुवा देखाइदियो । ढाँटेर भोट लिन्छ । तर, दिदैन ।’
कृषि पेशाबाट चौधरीको घर चल्छ । त्यो गाउँमा अधिकांस चौधरी जस्ता पात्र छन् । भोटका बेला नेता देख्ने, त्यसपछि नेताको अनुहार हेर्न या त टिभी कुर्नुपर्छ या त आमसभा । यो पटक कसलाई भोट दिनुहुन्छ भनेर हामीले जिज्ञासा राख्यौं । ‘अव हेरौं । जितेर गएकाहरु एकपटक पनि गाउँ आएन ।’ उनी भन्छन् । त्यो क्षेत्रमा अहिले बामगठबन्धनबाट लालबाबु पण्डित र लोकतान्त्रिकबाट डा. शेखर कोइराला भिडन्तमा छन् । अन्य साना दलहरु पनि छन् ।
कांग्रेसी नेताहरुले बामगठबन्धनले जिते ‘चाइना जस्तो’ शासन चलाउँछ भन्ने त्यहाँका मतदातामा डर देखाएका छन् । उनले भने,–‘चाइना जस्तो काम लगाउँछ । काम गर्न सकेन भने मारिदिन्छ भनेर फ्याक्ट्रीमा हल्ला चलाउँछ ।’ तर, उनी सचेत रहेछन् । भन्छन्,–‘नेपालमा थोरै त्यस्तो हुन दिन्छ ?’ त्यस गाउँका प्रतिनिधि मतदातामा पर्ने माधव नेताहरुसँग अत्यधिक रुष्ट देखिए । आश्वासन मात्रै दिने नेताहरुसँग रुष्ट भए पनि भोट दिने विषयमा भने फूलेश्वरीदेवी र माधवमा उत्तिकै अन्यौल पनि देखियाे ।