धनकुटा(ब्लाष्ट)/ विगतमा नेपाल सरकारले नेटवर्किङ व्यावसायलाई गैर कानुनी भन्दै प्रतिबन्ध लगाईए पनि पछिल्लो समयमा धनकुटामा विभिन्न रोगको उपचार गराउने वहनामा सर्वसाधरण ठगिने क्रम वढेको पाइएको छ । जटिल रोग निको पारिने भन्दै सयौं सर्वसाधारणबाट आफ्ना उत्पादन उपलब्ध गराउ‘दै रकम लिने क्रम चलिरहँदा स्थानिय प्रशासन भने मुख दर्शक वनिरहेको छ ।

नेपालमा सम्पर्क कार्यालय समेत नभएको ओरियन्स नामको भारतिय संस्थाले नेटवर्किङ मार्फत औषधी बिक्रि गराउ‘दै आएको धनकुटा वजारमा पाइएको छ । अझ सदस्य बनाए वापत औषधी छुट मुल्यमा पाउने तथा बोनस दिलाइने भन्दै सर्वसाधारणसंग लाखौंको कारोबार गर्दै आएको पनि समचार श्रोतले दावी गरेको छ । भारतको चेन्नाईमा मुख्य कार्यालय रहेको भनिएको ओरियन्स भन्ने संस्थाले नेटवर्किङ मार्फत आफ्नो उत्पादन धनकुटामा बिक्रि गर्दै आएको पाइएको हो ।

विशेषगरी झापा, सुनसरी, धनकुटा लगायतका जिल्लामा यसको विस्तार हुनेक्रम बढेको श्रोतको दावी छ । खासगरी औषधीजन्य वस्तु सम्बन्धित चिकित्सकको सिफारिस बिना बिक्रि वितरण समेत गैरकानुनी मानिन्छ । तर स्वास्थ्यसंग सरोकार नभएका व्यक्तिहरु यसमा सम्लग्न रहेको स्रोतले जनाएको छ । धनकुटामा पछिल्लो समय पॉच सय बढि व्यक्तिलाई ओरियन्सका उत्पादन बिक्रि गरिएको स्रोतले वताएको छ ।

नेटवर्किङ व्यावसायमा संलग्न व्यक्तिले आफुहरुले औषधी नभएर ‘फ्रुट सप्लिमेन्ट’ का वस्तु बिक्रि गर्दै आएको दावी गर्दै आएका छन् । खाल्सा छिन्ताङ सहिदभुमि गाउ‘पालिकाका युद्धबहादुर खड्काले ३० हजारको औषधी प्रयोग गरेको बताए । डायवेटिजबाट ग्रसित रहेका उनले मासिक १० हजार रुपैयॉका दरले तीन महिनासम्म औषधी प्रयोग गरिने बताए । हाल ५ हप्ता औषधी सेवन गरिसकेको उनले जानकारी दिए । ‘सुगर रोग च्वाट्टै निको हुने भनेकोले औषधी प्रयोग गरेको हु‘’, उनले भने, ‘यसको मात्रा पुरा गरेपछि हाल प्रयोग गर्दै आएको सुगरको औषधी कहिल्यै खान पर्दैन भनेकोले निको हुनेमा आशावादी छु ।’

नेटवर्किङ व्यावसायबारे सदरमुकाम स्थित एक होटलमा सर्वसाधारणलाई सहभागी गराई प्रशिक्षण समेत दिइएको छ । उक्त कार्यमा जिल्ला तहमा क्रियाशिल विभिन्न दलका नेता, स्थानिय जनप्रतिनिधिहरु देखि जिल्लामा क्रियाशिल सञ्चारकर्मी समेत संलग्न रहेको एक सहभागीले ब्लाष्टलाई वताएका छन् । सॉगुरीगढी गाउ‘पालिकाका विशाल कार्कीले ब्लड क्यान्सरबाट पीडित पत्निका लागि ओरियन्सले विक्रि गरेको २२ हजारको औषधी प्रयोग गरिसकेको बताएका छन् । प्रारम्भिक चरणमा वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पछि भरतपुर क्यान्सर अस्पतालमा उपचार गराईए पनि निको नहुने अवस्था भएकोले ओरियन्सको उत्पादन प्रयोग गरेको उनले बताए । ‘चार पटक किमो गरिएपछि कमजोर भएपछि आफुले श्रीमतीलाई ओरियन्सको उत्पादन दिन थालेको हु‘’, उनले भने, ‘लाखौ खर्च भइसक्दा थोरै पैसाले रोग निको होला भन्ने आशाले प्रयोग गरेको हो ।’ पछिल्लो समय उनी स्वयम् ओरियन्सको प्रचार प्रसारमा जुटेका छन् ।

ओरियन्सको प्रचारमा जुटको व्यक्तिका अनुसार एकले सदस्य बनाएपछि त्यसपछिका व्यक्तिले सदस्यता विस्तार गरेको आधारमा बोनस दिइने गरिन्छ । ओरियन्सको प्रचारमा हिडेका विशालले प्रत्यक्ष बिक्रि गरिने हुनाले ठगी धन्दा नभएको दावी गरे । ‘डाइरेक्ट सेलिङ हो तर नाफाबिना काम कसैले गर्दैन’ उनले भने, ‘हामी पनि काम गरे अनुसार नाफा त पाउछौं ।’ गत असोज ४ मा संसदले नेटवर्किङ व्यावसायबारे कानुन बनाउने निर्णय पारित गरेकोले आफुहरु सक्रिय भएर प्रचारमा जुटेको उनले बताए । गैर कानुनी ठहर गरे हामी सुरक्षित भएर बस्न बाध्य हुने उनको तर्क छ ।     ओरियन्सको अभियानमा जुटेका लक्ष्मी मगरले ओरिएन्स स्वास्थ्यसंग सम्बन्धित सामाग्री भएको तर औषधी भन्न नमिल्ने तर्क राखे । ‘धेरै बिरामीलाई निको पारेको छु’ उनले भने, ‘अहिलेसम्म कम्लेन आएको छैन । कतिपयले धन्न तपाईले गरेर बचाइदिनु भो भन्ने गरेको उनको दावी छ ।

उक्त अभियानमा अर्का सक्रिय व्यक्ति सन्तोष केसीले खाद्यन्नको परिपुरक तत्व भएकोले औषधी भन्न नमिल्ने तर्क राखे । उनले रोग निको पार्ने भन्दै विक्रि गरिने वस्तु फूड सप्लिमेन्ट भएकोले अचुक हुने समेत दावी गरे । उनले चॉडै राजधानीमा कार्यालय खोल्ने तयारी गरिएको बताए । ‘डाक्टरले निको पार्न नसक्ने रोग हामीले निको पार्ने छौं’ उनले भने, ‘डाक्टरको औषधीलाई चुनौति दिन सक्ने उत्पादन हो ।’ओरियन्स नेटवर्किङ व्यावसाय  । अर्का अभियान्ता आरसी राईले पनि जटिल प्रकारका सबै रोग निको पार्ने दावी गरे । ओरियन्सको सदस्य बनाउन सर्वसाधारणलाई भेला पारि प्रशिक्षण दिने कार्य पछिल्लो समय सक्रिय पारिएकोले धनकुटा जिल्लामा ठगिनेहरुको संख्या वढ्दो छ ।

सो व्यावसायको वारेमा प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतीसंग ब्लाष्टले जिज्ञाशा राख्दा आफुलाई थाहा नभएको वताए । कुनै कम्पनी वा संस्थाले नेपाल सरकारसंग अनुमती नलिई स्थानिय प्रशासन वा स्थानिय सरकारलाई जानकारी नगराई विना इजाजत औषधी भन्दै विक्री वितरण गर्छ भने कानुनी रुपमा अवैध ठहरिन्छ निजहरुलाई कार्वाही हुने वताएका छन् । उनले कोही कसैवाट सो व्यावसायको वारेमा गुनासो समेत स्थानिय प्रशासनमा आई पनि सकेकाले आफुले खोजी गरिहेको वताएका छन् । उनले औषधी भनेको नेपाल सरकारको मान्यता प्राप्त स्वास्थ्य संस्था र सो संस्थाका जिम्मेवार व्याक्ति वाहेक अरु कसैले विक्रि वितरण वा सिफरिस गर्न नपाईने संवेदनशिल विषय भएको वताएका छन् ।