काठमाडौं/ संसदमा मंगलबार अपरान्ह निकै ठूलो होहल्ला सुनियो । एमाले सांसद केशव बडाल हातमा कागज लिएर ठूलो स्वरमा कराइरहेका थिए । सभामुख बस्ने कुर्सीमा थिइन्, एमालेकै सांसद सुशीला नेपाल ।
यो के पारा हो ? जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्न नपाइने ? यस्तै विषयमा अभिव्यक्ति दिँदै एमाले सांसद बढी नै उत्तेजित देखिन्थे । सभामुखको भुमिका निर्वाह गरिरहेकी सांसद नेपाल भन्दै थिइन्, ‘बसौं माननीय ज्यू बसौं ।’
बडाल बस्न मानेनन्, झनै उत्तेजनामा आउन थाले । त्यससँगै एमाले सांसदहरु आ-आफ्नो स्थानमा उभिए ।
सांसद नेपालले संसद सम्हाल्न नसक्ने अवस्थामा पुगेको थियो । यत्तिकैमा सभामुख ओनसरी घर्ती आइपुगिन् र कुर्सीमा बस्दै भनिन्, ‘बसौं माननीयहरु बसौं ।’
बडालका हातमा रहेको माइक्रोफोन भीम रावलले हातमा लिए । सभामुख घर्तीले रावललाई बोल्न आग्रह गरिन् । तर, उनको हातमा रहेको माइक्रोफोन ‘अन’ भएन । रिसाएजस्तो देखिएका रावलले २/३ चोटि माइक्रोफोनमा औंलाले टकटक पार्दै अन भए/नभएको जाँच गरे । तर, अन भएन ।
रावलले माइक जाँच गरिरहेकै बेलामा कांग्रेस सांसद रामहरि खतिवडाको हातमा रहेको माइक्रोफोनले भने काम गरिरहेको थियो । खतिवडा आफ्नो स्थानमा उभिएर कराइरहेका थिए । सभामुखले भने रावललाई बोल्न समय दिइरहेकी थिइन् ।
सांसद खतिवडाले तराईमा आएको बाढी पहिरोमा राजनीति नगर्न एमाले सांसदहरुलाई आग्रह गरे ।
खतिवडा बोल्दाबोल्दै एमाले सांसद रावलको माइकले पनि काम गर्यो र उनले बोले । रावलले बाढी पहिरोलगायत जरुरी सार्वजनिक महत्वको विषयमा संसदमा सबैले बोल्न पाउनुपर्ने बताए ।
त्यसलगत्तै सभामुखले आधा घण्टाका लागि संसद स्थगित गरिन् र त्यसपछि पुनः बैठक बस्ने घोषणा गरिन् ।
विवादको चुरो
बैठकमा एमाले सांसद रावलले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरे । त्यस विषयमा विशेष समयमा छलफल नलम्ब्याउन एमाले सांसद बडालले माग गरे । त्यसपछि सभामुख घर्तीले शकलदेव सुतिहारलाई बोल्ने समय दिइन् । तर, उनी अनुपस्थित रहेकाले लक्ष्मीकुमारी चौधरी र विश्वेन्द्र पासवान बोले ।
त्यसलगत्तै सभामुखले विशेष समय सकिएको घोषणा गर्नासाथ सत्तारुढ कांग्रेस र माओवादीका सांसदहरु आ-आफ्नो ठाउँबाट उठेर बोल्न पाउनुपर्ने माग गर्दै होहल्ला गरे ।
तर, सभामुख घर्तीले दलीय आधारमा आफूलाई बोल्ने सांसदहरुको नाम प्राप्त भएको र संसदीय अभ्यास पनि त्यही भएको बताउँदै विशेष समय समाप्त भइसकेकाले यथास्थानमा बस्न पटक-पटक आग्रह गरिन् । तर, सांसदहरुले नमानेपछि बैठक १५ मिनट स्थगित भएको घोषणा गरिन् ।
त्यसअघि विशेष समयमा बोल्ने सांसदहरुले बाढी पीडितको उद्धार, राहत र पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका थिए । संकटकाल घोषणा गर्नुपर्ने र १५ दिनसम्म संसद बैठक स्थगित गरी बाढी प्रभावित जिल्लामा सांसदहरुलाई पठाउनुपर्ने मागसमेत आएको थियो ।
१५ मिनटपछि सुरु भएको बैठकमा एमाले सांसद अग्नि खरेलले यसअघि बैठक स्थगित हुनुको कारण नखुलाइएको भन्दै त्यसलाई रेकर्डमा राख्न माग गरे । त्यसपछि सभामुख घर्तीले कांग्रेस र माओवादी केन्द्रका सांसदहरुका कारण १५ मिनटसम्म बैठक स्थगित भएको जानकारी गराइन् ।
झट्ट हेर्दा संसदमा केका लागि होहल्ला भइरहेको हो भनेर ठम्याउन कठिन थियो । तर, बहसको बाहिरी विषय थियो( तराईको बाढीका विषयमा गफ गर्ने कि स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीका कुरा सुन्ने ?
आजको संसदको कार्यसूचीमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्यसँग सम्बन्धित एउटा विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने थियो ।
यसका साथै प्रधानमन्त्री शेरबहादुर देउवाले वनमन्त्रीको हैसियतबाट स्रोत बाँडफाँटसम्बन्धी एउटा अभिसन्धिका विषयमा संसदमा संक्षिप्त बोल्ने कार्यक्रम थियो । एमालेले चाहिँ यो विषयलाई टार्ने नियत राखेको र बाढीको विषयमा राजनीति गर्न खोजेको कांग्रेस सांसद खतिवडाले आरोप लगाए ।
संसद बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा तराईको बाढीका विषयमा छलफल भएको थियो । संसदमा जरुरी महत्वको प्रस्तावमा सांसदहरुले बोल्ने तय भएको थियो ।
सांसद खतिवडाले भने, ‘सबै माननीयहरुले बाढीकै विषयमा बोलिरहनुभएको थियो तर एमालेका मित्रहरुले बाढीपहिरोको विषयमा बोल्न पाउनुपर्छ भन्दै चर्का कुरा गरे। र, मैले यो समस्या सबैको हो, यसमा कसैले राजनीति नगरौं भनें ।’
अनलाइनखबरबाट