भद्रपुर/ “कृषक खुसी हुन नसके देश समृद्धितर्फ जान नसक्ने अवस्था हुँदाहुँदै पनि कन्काई उच्च बाँध निर्माण नहुनु दुःखद हो”—यहाँको कृषकको भनाई छन् ।

सिँचाइ र विद्युत् उत्पादन दुबैका दृष्टिकोणले उच्च सम्भावना बोकेका झापाको मध्यभागबाट बग्ने कन्काई नदीमा उच्च बाँध निर्माण गर्ने कुरा ४० वर्षदेखि उठ्दै आएको र पटक-पटक सम्भाव्यता अध्ययन एव्म सर्वेक्षण भइसक्दा पनि हालसम्म यसवारे कुनै काम अगाडी बढ्न सकेको छैन् ।

[caption id="attachment_27861" align="aligncenter" width="810"] गत साउनमा कन्कार्इ तिदमा अाएकाे वाढी। तस्वीर–फाइल[/caption]

पछिल्लो समयमा नेपाल विद्युत् प्राधिकरणले सन् २००३ मा सर्र्वेेक्षण गरी कन्काई उच्च बाँधको निर्माणबाट झापा जिल्लामा थप ६७ हजार ४५० हेक्टर जग्गामा सिँचाइ सुविधा पुप्याउन सक्ने र करिब ६० मेगावाट विद्युत् उत्पादन गर्न सकिने जनाएको थियो । तर उक्त सर्वेक्षण गरिएको १४ वर्ष बितिसक्दा पनि अहिलेसम्म कार्य बढ्न सकेको छैन् ।

हाल सोही स्थानमा कन्काई सिँचाइ योजना सञ्चालनमा छ र यस योजनाबाट कन्काई नदीको पश्चिममा आठ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ । नदी आसपासका जग्गाजमिन पनि आकासे पानीमाथि निर्भर छन् र करोडौँं क्युसेक पानी त्यतिकै खेर गइरहेका छन् । सिँचाइ सुविधा र विस्तारसँगै विद्युत् उत्पादनले पूर्व क्षेत्रमा रोजगारी सिर्जना, उद्योग र व्यापार क्षेत्रमा पनि ठूलो योगदान पुप्याउने स्थानीयवासीको विश्वास छ ।

सिँचाइ विकास डिभिजन कार्यालय झापाका अनुसार कन्काई उच्च बाँध निर्माण भएमा अन्न उत्पादनले यस क्षेत्रलाई आत्मनिर्भर बन्न सघाउँछ, त्यसैले यो योजना जतिसक्दो चाँडो कार्यान्वयन गर्नुपर्दछ । करिब एक सय ७८ वर्गमिटर प्रतिसेकेन्ड पानी सिचाईमा प्रयोग गर्न सकिने यो योजनाबाट मेची नदीदेखि पश्चिममा रतुवा खोलासम्मका लाखौँं कृषक लाभान्वित हुने सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारीले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गदेखि ४ दशमलव ५ किलोमिटर उत्तर कन्काई नदीमा निर्माण गरिने ८५ मिटर अग्लो बाँधको सहयोगमा ९२ करोड ५० लाख वर्गमिटर पानी भण्डारण गर्न सकिनेछ । सर्र्वेका क्रममा परियोजना निर्माणमा करिब रु २४ अर्ब लाग्ने अनुमान गरिएको थियो । परियोजनाबाट हुने विद्युत् उत्पादन र सिचाईले हुने उत्पादन बृद्धिले दुई वर्षमै उक्त लागत उठाउन सकिने वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले बताए ।

यसवर्ष झापामा कुल रु ४४ अर्ब तीन करोड ७२ लाख मूल्य बराबरको खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीको उत्पादन भएको छ । यहाँ खेतीयोग्य ९० हजार हेक्टर जग्गामध्ये ३९ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेका छन् । उच्च बाँधको निर्माणबाट वर्षैभरि नियमित पानीको स्रोत उपलब्ध हुनेछ र यसबाट हालको कृषि उत्पादनमा क्रान्ति नै आउनसक्ने डिभिजन प्रमुख तिवारीको भनाइ छ ।

शिवगन्ज– ४ का कृषक हरिशरण नेपाल भने “यो आयोजना निर्माण गर्ने हल्ला सुनेको वर्षौं भइसक्यो, तर सरकारले महत्व नदिनु दुःखद हो, हामी यो आयोजना जतिसक्दो चाँडो निर्माण होस् भन्ने चाहन्छौं ।” बर्सेनि कन्काई नदी बाढीको त्रासमा बाँच्न विवश सोही ठाउँका रामकृष्ण अधिकारी आयोजना निर्माणले बाढीको समस्या समाधान गर्न सहयोग पुग्ने, हिउँद र वर्षाद्मा सिँचाइका लागि पानीको सहज व्यवस्था हुने र विद्युत् उत्पादन पनि गर्न सकिने भएकोले यो आयोजना शीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने बताए । झापाका वरिष्ठ पत्रकार चिन्तामणि दाहालले सरकारले यस आयोजनालाई जतिसक्दो चाँडो अगाडि बढाउन विशेष पहल गर्नुपर्ने बताए । उनले भने, “यो आयोजना सबैभन्दा सस्तो, सहज पहुँचयोग्य पनि छ, त्यसैले यस आयोजनालाई तत्कालै सुरु गर्नुपर्दछ ।”