धरान । धरान उपमहानगरपालिकाले कार्यान्वयनमा ल्याउन लागेको ‘धरान स्मार्ट बसपार्क व्यवस्थापन कार्यविधि २०८२’ को मस्यौदाप्रति धरानस्थित तीनवटै ठूला यातायात मजदुर ट्रेड युनियनहरूले बिहीबार आफ्नो औपचारिक सुझाव पेस गरेका छन् ।

बुधबार उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघालाई सुझाव पत्र बुझाएका हुन् । यातायात मजदुरहरूको कार्यथलोका रूपमा रहेको बसपार्कलाई व्यवस्थित बनाउन आफूहरूको पूर्ण समर्थन रहेको उल्लेख गर्दै केही बुँदाहरू परिमार्जन गर्न माग गरिएको छ । अखिल नेपाल यातायात मजदुर सङ्घ धरानका अध्यक्ष सुवास बराइली, नेपाल यातायात मजदुर सङ्घ धरानका अध्यक्ष देउमान लिम्बू र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन धरान नगर कमिटीका कार्यवाहक प्रमुख किरण थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सुझाव पेस गरिएको हो ।

सुझाव पत्रमा व्यवस्थापन समितिमा आफ्नो संस्थाहरूबाट पनि प्रतिनिधित्व गराउन माग गरेका छन् । कार्यविधिको परिच्छेद ३ अनुसार गठन हुने बसपार्क सञ्चालन तथा व्यवस्थापन समितिमा आधिकारिक तीनवटै ट्रेड युनियनका तर्फबाट ३ जना सदस्य रहने व्यवस्था गर्न माग गरिएको छ । बसपार्कभित्र हुने अबाञ्छनीय गतिविधि नियन्त्रण र सौहार्द्रपूर्ण वातावरण कायम गर्न श्रमिकहरूको प्रतिनिधित्व अनिवार्य रहेको युनियनको ठहर छ ।

दैनिक जनशक्ति परिचालन र कार्यविधिले तोकेका कामहरू नियमित सम्पादन गर्न तीनवटै युनियनको संयोजनमा ‘बसपार्क व्यवस्थापन उप–समिति’ गठन गरिनुपर्ने प्रस्ताव गरिएको छ । बसपार्क हाताभित्रै मजदुरहरूको अनुशिक्षण, श्रम सम्बन्धी विवाद समाधान र युनियनको नियमित कार्य सञ्चालनका लागि छुट्टै संयुक्त कार्यालयको व्यवस्था हुनुपर्ने माग राखिएको छ ।

यस्तै तत्काल समाधान गर्नुपर्ने विषयहरूमा माग गरिएको छ । पर्याप्त बस पार्किङस्थलको व्यवस्था, एकीकृत बसपार्क योजना र बसपार्क प्रवेश तथा निकासको निश्चित रुट निर्धारण गर्न माग गरिएको छ । यस्तै ईभीका लागि चार्जिङ सेन्टरको स्थापना गर्न भनेको छ । निजी र तीनपाङ्ग्रे सवारी साधनले नियमविपरीत यात्रु बोक्ने कार्यलाई रोक्ने स्पष्ट नीति ल्याउनुपर्ने भनेको छ । भानुचोकलगायतका स्थानबाट नयाँ बसपार्कसम्म पुग्ने सवारीको भाडा दर तत्काल निर्धारण गर्नुपर्ने भनिएको छ ।

मजदुर नेताहरूले बसपार्क श्रमिकहरूको मुख्य कार्यथलो भएकोले यसलाई मर्यादित र व्यवस्थित बनाउन नगरपालिकासँग सहकार्य गर्न आफूहरू तयार रहेको बताएका छन् । उपमहानगरपालिकाले यी सुझावहरूलाई कार्यविधिमा कसरी समेट्छ भन्नेमा अहिले सबैको चासो रहेको छ ।