विराटनगर । विराटनगर महानगरपालिका–८ मधुमाराकी कला त्रितालले बिहानै भान्साको काम भ्याउन धारा खोलिन् । धारामा एक्कासि लेदोसहितको पानी झर्न थालेपछि झसङ्ग भइन् ।
यो दृश्य कलाको घरमा मात्र होइन, पछिल्लो एक सातादेखि विराटनगरका धेरै उपभोक्ताका भान्सा र बाथरुमको धाराहरूमा लेदोसहितको पानी झरिरहेको छ । “धारा खोल्यो कि लेदोसहितको धमिलो पानी आउँछ” कलाले हैरानी पोख्दै भनिन्, “पानी पिउन त परको कुरा, लुगा धुन र सरसफाइ गर्न पनि नमिल्ने अवस्था छ । म त यो समस्याले निकै आजित भइसकेँ ।” विराटनगरको देवकोटा चोकमा रहेको नेपाल खानेपानी संस्थानबाट वितरण हुने पानीमा यस्तो समस्या देखिएको हो । घरको धारामा फोहोर पानी आउन थालेपछि कलाले संस्थानको पानी प्रयोग गर्न छाडेकी छन् । अहिले उनले विकल्पका रूपमा घरकै मोटर चलाएर जमिनमुनिको पानी तान्ने र त्यसलाई फिल्टर गरेर प्रयोग गर्ने गरेकी छन् ।
“एक हप्ता भइसक्यो धाराको पानी प्रयोग नगरेको” उनले भनिन्, “संस्थानले ट्याङ्की सफा गर्दैछ भने पनि एउटा सार्वजनिक सूचना त जारी गर्नुपर्ने हो । केही जानकारी नदिँदा हामी उपभोक्ताले कतिञ्जेल सास्ती खेप्नुपर्ने हो, थाहा छैन ।” कलाको छिमेकी सरिता राजवंशीको पीडा पनि कम छैन । बिहीबार बिहान केही बेर सफा पानी आए पनि फेरि धमिलो र लेदोयुक्त पानी आउन थालेपछि उनी चिन्तित छिन् । फोहोर पानीका कारण स्वास्थ्यमा समस्या आउने डरले उनले अहिले जारको पानी किनेर चलाउन थालेकी छन् । “धाराको पानीमा विश्वासै रहेन, स्वास्थ्यमा जोखिम मोल्नुभन्दा पैसा तिरेर जारको पानी ल्याउनु नै उत्तम लाग्यो”–सरिताले सुनाइन् ।
विराटनगरमा खानेपानीको यस्तो समस्या नयाँ भने होइन । यसअघि विराटनगर–४ कञ्चनबारी क्षेत्रमा पनि जनस्वास्थ्यमा गम्भीर असर पर्ने गरी लेदोसहितको पानी वितरण भएको थियो । त्यतिबेला स्थानीयले संस्थानविरुद्ध चरणबद्ध आन्दोलन नै छेडेका थिए । दबाव बढेपछि संस्थानले त्यस क्षेत्रका लागि छुट्टै फिल्टर जडान गरेपछि मात्र समस्या समाधान भएको थियो । अहिले फेरि मधुमारा क्षेत्रमा त्यही समस्या बल्झिएको छ । यता खानेपानी संस्थान शाखा कार्यालय विराटनगरले भने यसलाई ‘नियमित प्रक्रिया’ भएको बताएको छ । संस्थानका शाखा प्रमुख सन्तोषकुमार रौनियारका अनुसार गर्मी बढेसँगै पानीको खपत उच्च भएको र वितरण प्रणालीमा रहेका ट्याङ्कीहरू सफा गर्ने काम भइरहेकाले केही ठाउँमा धमिलो पानी गएको हो ।
“यो समस्या विराटनगरभरि छैन, केही सीमित ठाउँमा मात्र देखिएको हो” रौनियारले भने, “हाम्रो प्राविधिक टोली अहिले सफाइको काममा जुटिरहेको छ । अबको दुई दिनभित्र सबैतिर सफा पानी आउनेछ ।” संस्थानले विराटनगरका करिब १३ हजार उपभोक्तालाई दैनिक ९० लाख लिटर पानी आपूर्ति गर्दै आएको छ । तर आपूर्ति गरिएको पानीको गुणस्तरमा भने पटक–पटक प्रश्न उठ्दै आएको छ । सुख्खा मौसम सुरु भएसँगै पानीको माग बढ्ने र वितरण प्रणालीमा आउने यस्ता समस्याले उपभोक्तालाई थप आर्थिक र मानसिक बोझ थपिदिएको छ ।
गुणस्तरीय पानी पाउनु नागरिकको मौलिक अधिकार भए पनि विराटनगरवासीले भने लेदो मिसिएको धमिलो पानीका लागि पनि महसुल तिर्नु परिरहेको छ । एकातिर संस्थानले समयमै सूचना नदिने र अर्कातिर उपभोक्ताले विकल्प खोज्दै अतिरिक्त खर्च गर्नुपर्ने बाध्यताले सरकारी सेवाको प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको स्थानीय कला त्रितालले बताइन् ।































