धरान/ धरानलाई प्रदेश नं. १ को चलचित्र नगरीका रूपमा विकास गर्ने चर्चित डकुमेण्ट्री फिल्म सुनाकलीदेखि द लास्ट हनिहण्टरदेखि मिरा राईको विषयमा निर्मित फिल्महरूसम्म प्रदर्शन हुनेछन् । कात्तिक २९ देखि मङ्सिर २ सम्म धरान सभागृहमा हुने महोत्सवको पहिलो दिन तीन चलचित्र प्रदर्शन गर्ने कार्यक्रम छ ।

बिट बियरले निर्देशन गरेको ५० मिनेटको स्वीस डकुमेण्ट्री स्वीस पशुपालक पहिलो दिन प्रदर्शन हुने बताइएको छ । जसमा स्वीट्जरल्याण्डको दुर्गम भिरालो क्षेत्रमा काम गर्ने पशुपालकको कथा प्रस्तुत गरिएको छ ।

त्यस्तै निर्देशक बेन नाइटको ३५ मिनेट लामो डकुमेण्ट्री ‘द लास्ट हनी हण्टर’ पनि पहिलो दिन प्रदर्शन हुनेछ । कृषिमा आधारित जीवनशैली भएका पूर्वी नेपालको हुङ्गु उपत्यकामा बस्ने कुलुङ समुदायको कथा छ डकुमेण्ट्रीमा । प्रकृति पूजामा विश्वास राख्ने यो समुदाय भगवान रोङ्कोमीको पूजा गर्छन् । जीवनयापनका लागि ठाडो भीरको अक्करमा चढेर मौरीको मह काढ्ने मौलीधन राई डकुमेण्ट्रीका मुख्यपात्र हुन् । कुलुङ समुदायको विश्वासमा यो दुष्कर कार्य ईश्वरीय आस्थासित सोझै जोडिएको छ । तर सडकको पहुँच, नयाँ प्रविधि र बजारतन्त्रको विस्तारका कारण उनीहरूको परम्परागत जीवनशैली प्रभावित भइरहेको छ ।

पहिलो दिनकै दोस्रो शोमा ९४ मिनेटको स्वीस कथानक चलचित्र ‘ईश्वरीय विधान’ प्रदर्शन हुनेछ । पेट्रा भोल्पले निर्देशन गरेको चलचित्रमा स्वीट्जरल्याण्डको महिला अधिकारलाई विषय बनाइएको छ । पितृसत्ताको चरम अवस्थामा महिलाको मतदानको अधिकारका लागि स्वीस महिलाहरूले गरेको सङ्घर्ष र त्यसले सिर्जना गरेको पारिवारिक, सामाजिक, साँस्कृतिक प्रतिकूल परिस्थितिको कथा यस चलचित्रमा हेर्न पाइन्छ ।

महोत्सवको दोस्रो दिन फ्रान्क सेन, हरि थापा र ओट्टो सी. होनेगरले निर्देशन गरेको डकुमेण्ट्री ‘शेर्पा ः द ट्रु हिरो अफ एभरेष्ट’ प्रदर्शन हुने छ । ९३ मिनेटको यो फिल्मले सगरमाथा आरोहणमा शेर्पाहरूले गर्ने काम र उनीहरूको कठिन व्यवसायिक जीवनलाई प्रस्तुत गर्दछ । फिल्मले स्वीस पर्वतीय गाइड कारी कोब्लर र युरोपेली पर्वतारोहीहरू सम्मिलित उनको आरोहण अभियान दललाई शेर्पाहरूको आँखाबाट पछ्याइएको छ ।

दोस्रो दिनको दोस्रो शोमा जोए सुस्लर निर्देशित ‘आर जे रिपर’ प्रदर्शन हुनेछ । २० मिनेटको यो फिल्ममा काठमाडौंका साँघुरा र अस्त–व्यस्त सडकहरू साइकल चलाउन सिकेर २१ वर्षको उमेरमा चारपटक माउण्टेन बाइकिङको राष्ट्रिय विजेता बनेका राजेश मगरको कथा छ ।

त्यसपछि प्रसुना डङ्गोलको २४ मिनेटको डकुमेण्ट्री ‘डोल्पो डायरी’ प्रदर्शन हुनेछ । डोल्पो डायरी एकजना २७ वर्षीय नेपाली युवतीले गरेको तिब्बती सीमामा पर्ने पश्चिम नेपालको दुर्गम जिल्ला डोल्पाको २३ दिन लामो एकल पदयात्राको कथा हो । सोही दिन भोजराज भाटको डकुमेण्ट्री सुनाकली पनि प्रदर्शन हुनेछ । जसमा कर्णाली अञ्चलको दुर्गम जिल्ला मुगुको उदीयमान महिला फुटबल टिमको कथा प्रस्तुत गरिएको छ ।

त्यस्तै एलेन स्पोनर निर्देशित स्वीस कथानक चलचित्र हेइडी प्रदर्शन हुनेछ । स्वीट्जरल्याण्डको जोहान्ना स्पाइरीद्वारा लिखित प्रसिद्ध उपन्यास ‘हेइडी’ बाट चलचित्रमा रूपान्तरित गरिएको हो । महोत्सवको तेस्रो दिन नवीन सुब्बा निर्देशित कथानक चलचित्र नुमाफुङ प्रदर्शन हुनेछ । जसमा पूर्वी नेपालमा बसोबास रहेको लिम्बू समुदायको सुनौली रूपौलीको चलन र त्यसका विविध पक्ष प्रस्तुत गरिएको छ ।

त्यसैदिन बिन्दु माझीले निर्देशन गरेको डकुमेन्ट्री लदी प्रदर्शन गरिनेछ । कोशी पूजाको साँस्कृतिक अभ्यासलाई यस फिल्ममा प्रस्तुत गरिएको छ । त्यस्तै केसाङ छेतेनले निर्देशन गरेको डकुमेण्ट्री ‘इन सर्च अफ रियाल’ प्रदर्शन हुनेछ । नेपाली युवाहरू जीवन धान्न खाडी मुलुक जानुपर्ने बाध्यता र त्यसले निम्त्याएका परिस्थितिहरू फिल्ममा समावेश छन् ।

त्यही दिन गुरुङ कथानक चलचित्र ‘मौरिमों’ प्रदर्शन हुनेछ । भोजबहादुर गुरुङले निर्देशन गरेको फिल्ममा वैदेशिक रोजगार, बसाइ सराइले पारेको प्रभावलाई रोक्न एक युवाले गरेको प्रयास प्रस्तुत गरिएको छ । महोत्सवका चौथो दिन शेनाङ ग्याम्जो तामाङले निर्देशन गरेको लघु कथानक चलचित्र ‘सुपर मङ्क’ प्रदर्शन हुनेछ । नेपालमा चलेको द्वन्द्वका समयमा बौद्ध भिक्षु बालक र बाल छापामारको मित्रताको कथा चलचित्रमा प्रस्तुत गरिएको छ ।

त्यसैगरी विद्या चापागाईं र कमल कुमारले निर्देशन गरेको डकुमेण्ट्री ‘मरिसकेको मान्छे’ पनि चौथो दिन प्रदर्शन हुनेछ । यस फिल्ममा जीवन र मृत्यु, अकल्पनीय दुःख, आश्चर्य एवम् हर्ष र खुशीको वास्तविक तर अनौठो कथा समेटिएको छ । त्यसैगरी लोयड बेल्चरले निर्देशन गरेको डकुमेण्ट्री ‘मीरा’ पनि प्रदर्शन हुँदैछ । ‘अल्ट्रा ट्रेल रनर’ का रूपमा ख्याति कमाएकी मीरा राईले यहाँसम्म आइपुग्न गरेका सङ्घर्षको कथा यसमा प्रस्तुत गरिएको छ ।

सोही दिन शिव मुखिया (सुनुवार)ले निर्देशन गरेको लघु कथानक चलचित्र ‘गो सु नङा’ प्रदर्शन हुनेछ । आफ्नो समुदायको पहिचानको खोजीमा एक युवाले गरेको गाउँ यात्राको कथा यसमा देख्न सकिन्छ । त्यस्तै रोशनविक्रम ठकुरीले निर्देशन गरेको लघु कथानक ‘सिल्भर ब्याङ्गल’ पनि प्रदर्शन हुने छ । यसमा विवाहित तर निःसन्तान जोडीको सन्तान पाउने अपूरो चाहनाको कथा छ ।

त्यसैगरी विकास न्यौपानेको १६ मिनेटको चलचित्र ‘लछमनिया’ प्रदर्शन हुँदैछ । जसमा पाँच वर्षको उमेरमा विहेको मगनी भएकी बालिकाको कथा छ भने दीपक रौनियारको ३१ मिनेटको ‘चौकेठ’ पनि प्रदर्शन हुँदैछ । जसमा महिलाको सामाजिक अवस्था प्रस्तुत गरिएको छ । त्यस्तै प्रसुना डङ्गोलकै १३ मिनेटको डकुमेण्ट्री ‘स्ट्रगल इन के–पप’ पनि प्रदर्शन हुँदैछ । जसमा एउटा साङ्गीतिक समूहको सङ्घर्ष प्रस्तुत गरिएको छ ।

महोत्सवमा यादव भट्टराईले निर्देशन गरेको चलचित्र झोला पनि प्रदर्शन हुँदैछ । नेपाली समाजमा रहेको सतीप्रथाको कथा भन्ने फिल्म कृष्ण धरावासीको उपन्यास झोलामाथि बनेको हो । महोत्सवमा बिहान ११ बजेदेखि ५ बजेसम्म छनोट भएका यी चलचित्रहरू प्रदर्शन हुनेछन् भने त्यसबाहेकको समयमा स्थानीयस्तरमा निर्माण भएका चलचित्र प्रदर्शन गरिने कार्यक्रम छ । प्रदेशका दर्शकलाई असल चलचित्रप्रति रुचि बढाउन धरान चलचित्र महोत्सव आयोजना गरिएको महोत्सवका व्यवस्थापक राजेन्द्र रिमाल बताउँछन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी चलचित्र प्रदर्शन हुने भएकाले महोत्सव दर्शकका लागि रुचिकर हुने उनले बताए ।