विजयपुर । धरान उपमहानगरपालिका–५ मा खाना पकाएर आगो ननिभाउँदा बिहीबार राति १० बजेतिर एक घर जलेर नष्ट भएको छ ।

बुधबार याक्थुङ चोकनजिक उत्तर–पूर्वको एक घरमा खाना पकाइसकेपछि आगो ननिभाउँदा आगलागी भएको हो । ‘ताम्राङ बाजे’ भनेर चिनिने विक्रम लिम्बूको काठको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी मानप्रसाद राईले जानकारी दिए ।

डिएसपी राईले घरभित्रको चुल्होको आगोबाट आगलागी भएको बताए । उनले भने, ‘घरभित्र चुल्होमा आगो बलिरहेको रहेछ । त्यहीँबाट सल्किएको देखिन्छ ।’ काठको घेराबारा र टिनको छाना भएको घरसाथै दुईवटा बङ्गुर पनि जलेर मरेका छन् ।

डिएसपी राईले भने, ‘बङ्गुर, भाँडावर्तन र लत्ताकपडासहित अनुमानित २० लाख बराबर क्षति भएको छ ।’ आगलागीबाट लिम्बूकै अर्को पक्की घरमा पनि सामान्य क्षति भएको छ । घरमा पीडित विक्रमको नातिनी सुम्निमाका भाइसहित चारजना बस्दै आएका छन् ।

सुम्निमाले खाना बनाएर सधैँ झैँ आगो ननिभाई आफू बाहिर निस्किएको बताइन् । उनले भनिन्, ‘सधैँ यसरी नै छाड्थेँ ।’ सुम्निमाले एउटा बङ्गुर जलेको ब्लाष्टकर्मीलाई बताइन् ।