इटहरी । इटहरीमा हालै सञ्चालित ड्रिमल्यान्ड सोफा हाउसमा बिहीबार राजस्व अनुसन्धानको कार्यालय इटहरीले आकस्मिक छापा मारी लोड गरिएको सामग्रीसहित गाडी नियन्त्रणमा लिएको छ । हाउसका सञ्चालकसमेत पक्राउ परेका छन् ।

धरानलाइन नेपाली सेनाको ब्यारेकअगाडि सञ्चालित हाउसले राजस्व छली गरी कारोबार गरेको गोप्य सूचना पाएलगत्तै टोलीले छापा मारेको थियो । उक्त फर्निचर विना अनुमति सञ्चालनमा आएको अनुगमनको क्रममा भेटिएको छ भने बिलबिजकसमेत नराखी सामानहरू बिक्री वितरण गरेको पाइएको छ । उपभोक्तालाई बिलै नदिई फर्निचरका बहुमूल्य सामग्रीहरू बिक्री वितरण गरेको गोप्य सूचना पाएपछि राजस्व अनुसन्धानबाट अधिकृतस्तरको टोली खटाएर छापा मारेको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खेमराज ओझाले बताए ।

टोली पुग्दा एउटा गाडी सामान लिएर फुत्किसकेको अवस्थामा इटहरीको खनारस्थित ढाटमा भेटिएको र तत्काल गाडी र सामग्री पनि नियन्त्रणमा लिइएको राजस्व प्रमुख ओझाले बताए । इटहरीबाट विराटनगरतर्फ लाँदै गरेको ५० हजार मूल्य बराबरको सोफा सेटसहित बा.२१ च ४२६७ नम्बरको सवारीलाई चेकजाँच गरी नियन्त्रणमा लिएको प्रमुख ओझाले बताए ।

सामान कसको नाममा पठाएको र कहाँबाट पठाएको कुनै विवरण खुल्ने कागजात नभेटिएपछि तत्काल गाडीसहित सामग्री नियन्त्रणमा लिइएको हो । बाहिर सामानहरू पठाउँदा विना बिल पठाउने गरेको गोप्य सूचनाको आधारमा छापा मार्न पुगेको टोली कुनै कागजात फेला नपरेपछि रित्तै फर्किएको थियो । पुनः टोलीले लोड भएको सामान विराटनगरतर्फ गएको जानकारी पाएलगत्तै इटहरीबाट पिछा गर्दै खनारमा पक्राउ गरेको थियो । राजस्व टोलीले सोफा हाउसका सञ्चालक सन्तोष न्यौपानेलाई पनि नियन्त्रणमा लिएको छ । उनलाई गाडीसहित खनारबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको राजस्व प्रमुख ओझाले बताए ।

यता राजस्वको नियन्त्रणमा रहेका सोफा हाउसका सञ्चालक सन्तोष न्यौपानेले भने इटहरीमा नयाँ वर्ष २०८१ को अवसर पारेर वैशाख २ गतेबाट व्यवसाय सुरु गरेको बताए । ड्रिमल्याण्ड फर्निचर इटहरीमा शाखा रहेको तर, यसको प्रमुख कार्यालय काठमाडौँ नेपालटारमा रहेकोले आवश्यक कागजात आउन ढिलाइ भइरहेको बताए । उनले विना बिल फर्निचरका सामानहरू बिक्री गरेको पनि स्वीकारे । उनले इटहरी उपमहानगरबाहेक अन्य कुनै निकायमा व्यवसाय दर्ता नगरेको राजस्व अनुसन्धानको कार्यालय इटहरीले जनाएको छ ।