सुख्खायाम सुरू भएयता आगलागीका घटनामा वृद्धि भइरहेको छ । डढेलो र आगलागी अहिलेको साझा समस्या बनिरहेको छ । कतिपय स्थानमा फैलिएको डढेलो गाउँबस्तीमा पस्दा गाउँघरमा पनि आगलागी भएको अवस्था छ । लाखौँ रूपैयाँ बराबरको धनमाल नष्ट भएको अवस्था छ । हरेक दिनजसो आगलागी तथा डढेलोको घटनामा वृद्धि हुनुमा केही मानवीय त्रुटिहरु पनि देखिन्छन् । आगलागी तथा डढेलो यस्तो खालको विपद् हो जुन मानवीय कारणले हुने गर्दछ । विपद्लाई दुई प्रकारमा विभाजन गरेर हेर्ने गरिएको छ । एउटा प्राकृतिक र अर्को कृत्रिम । आगलागी, डढेलो, सडक दुर्घटनाजस्ता विपद्हरु कृत्रिम विपद्मा पर्दछन् । जसमा मानवीय हेल्चेक्र्याइँ तथा लापरबाही मुख्य कारण हुन् । यतिबेला सबैतिर सुख्खा हुने भएकाले आगो चाँडै फैलिने गर्दछ । सानोतिनो हेल्चेक्र्याइँ तथा असावधानीका कारण समस्या निम्तिने गरेको छ । त्यसकारण सबैभन्दा सचेत हुनुपर्ने यतिबेला नै हो । यहीबेला हावाहुण्डरी पनि आउने गरेको छ । यसले पनि आगो फैलिनमा मद्दत गर्ने गरेको छ । यस्ता विषयमा गम्भीर र सचेत भएर काम गर्ने हो भने आगलागी जस्ता घटनाहरुलाई न्यूनीकरण गर्न सकिन्छ अर्थात् कृत्रिम विपद्हरुलाई नियन्त्रण गर्न सकिन्छ ।

विपद्बाट बच्नका लागि सबैभन्दा ध्यान दिनुपर्ने भनेको मानवीय क्रियाकलाप नै हो । सचेतनाको कमी आदि कारणले पनि समस्याहरु निम्तिने गरेको देखिन्छ । आगो फैलाउने साधनहरु जथाभावी राख्ने, खाना पकाइसकेपछि आगो राम्रोसँग ननिभाउने, बच्चाहरुले भेट्ने स्थानमा सलाई, लाइटर जस्ता वस्तुहरु राखिदिने, वन जङ्गलमा छिर्दा चुरोट, सुर्तीजस्ता कुरा पिउने र आगो पूर्ण ननिभाई छाडिदिनेजस्ता आम समस्याका कारण पनि आगलागी र डढेलो फैलिने गरेको छ । यसका निम्ति सबै सचेत हुन आवश्यक छ । सानो गल्तीले हुने ठूलो क्षति हुने भएकाले त्यसको न्यूनीकरणका लागि सुरूबाटै सचेत हुन आवश्यक छ । पछिल्लो समय सामाजिक सञ्जाल, सूचना पाटी, पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइनहरुले पनि यस्ता विषयमा सचेत गराइरहेको हुन्छ । यसको अर्थ नै क्षति हुन नपाओस् भन्ने उद्देश्य हो । तर, यसतर्फ धेरैले ध्यान दिएको पाइँदैन । जसले गर्दा बर्सेनि करोडौँको धनमाल नष्ट मात्रै हुँदैन कतिपय अवस्थामा मानवीय क्षति पनि हुने गरेको छ । घरबारविहीनसम्म भएको अवस्था छ । यस्ता तमाम् समस्याहरु सानो हेल्चेक्र्याइँ तथा लापरबाहीले हुने गरेको छ । पछिल्लो समय डढेलोका कारण त वनजङ्गलमा रहेका जीव, वनस्पति, चराचुरूङ्गीहरुलाई पनि ठूलो क्षति पु¥याइरहेको छ । यसले पर्यावरणीय समस्या अर्थात् इकोसिस्टमलाई नै धावा बोलिरहेको अवस्था छ । यस्तो भयावह समस्यालाई निराकरण गर्न नागरिकको भूमिका नै अपरिहार्य छ ।

आगलागी तथा डढेलो नियन्त्रणमा सबैभन्दा अहम् प्रश्न भनेकै सचेतना हो । जबसम्म हामी सबै सचेत हुँदैनौँ, तबसम्म समस्याको निराकरण हुँदैन । दाउरालगायत इन्धन प्रयोग गरेर खाना बनाउनेहरुले खाना पकाइसकेपछि राम्रोसँग आगो निभाउनु नै पहिलो विकल्प हो । दोस्रो भनेको विद्युतीय सामग्रीहरुको प्रयोग गर्दा विद्युतीय वाइरिङको अवस्था के छ ? कहिले गरिएको हो ? त्यस्ता विषयमा पनि ध्यान दिनुपर्छ । ग्याँसजन्यबाट खाना पकाउने विषयमा पनि सचेत हुन आवश्यक छ । सानो गल्तीले ठूलो क्षति हुनसक्छ भन्ने कुरालाई जहिल्यै हेक्का राख्नुपर्छ । यस्ता तमाम विषयमा ध्यान दिएर अगाडि बढ्ने हो भने समस्या न्यूनीकरण गर्न सकिन्छ । अर्कोतिर हरेक घरले आगलागी हुने बित्तिकै त्यसबाट मानवीय क्षति तथा अन्य भौतिक क्षति हुनबाट जोगिनका लागि आगो निभाउने यन्त्र (फायर इस्ट्ग्यिुसर) जस्ता साधनहरु राखिनुपर्छ । सानोतिनो आगो फैलिनेबित्तिकै यस्ता यन्त्रको भूमिकाको माध्यमबाट समस्या समाधान गर्न सकिन्छ । ठूलो क्षति हुन पाउँदैन । वन तथा जङ्गलमा प्रवेश गर्दा जहिले पनि आगो लगाउने खालका साधनहरु, सुर्ती, चुरोटजस्ता कुरा सेवन गर्नुहुँदैन । सबै सचेत हुने भने यस्ता विपद्हरुलाई न्यूनीकरण गर्न सकिन्छ । त्यसका लागि सचेतना नै पहिलो अस्त्र हो ।