धरान । धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिएको छ । धनकुटा बजारसहित आसपास क्षेत्रका ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको सहयोगमा धनकुटा नगरपालिकाले कुकुरको बन्ध्याकरण गरेको हो । छाडा छोडिएका कुकुरहरूले मान्छेलाई टोक्नेलगायतको समस्या भएको गुनासो आएका आधारमा बन्ध्याकरण गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए ।

‘बजार क्षेत्रमा छाडा छोडिएका कुकुरहरू धेरै छन्, कुकुरको सङ्ख्या बढिरहेको छ । त्यस्ता कुकुरले मान्छेलाई समस्या बनाइरहेको गुनासो आउने गर्छ’ नगरप्रमुख तामाङले भने, ‘पशुअधिकारका कारण कुकुर मार्न पनि नमिल्ने भएकाले कुकुरको सङ्ख्या बढ्न रोकथामका लागि बन्ध्याकरण गर्ने व्यवस्था मिलाएका हौँ ।’

रातको समयमा पैदलयात्री र मोटरसाइकलमा यात्रा गर्नेलाई कुकुरले लखेटेर समस्या पार्ने गरेको गुनासो आउने गरेको उनले जानकारी दिए । यस्तो समस्या रोकथामका लागि पाँच दिन लगाएर कुकुरको बन्ध्याकरण गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताए । उनका अनुसार बन्ध्याकरणसँगै कुकुरहरूलाई रेबिज रोगविरुद्धको खोप लगाएर छोडिएको छ ।