विजयपुर । धरान उपमहानगरपालिका प्रमुखसमेत रहेका धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष हर्कराज राईले आफ्नो एकल निर्णयबाट खानेपानी उपभोक्तालाई अतिरिक्त शुल्क थोपरेका छन् ।

अभियन्ता हुँदा खानेपानीको महसुलमा छुट दिनुपर्नेजस्ता सस्तो लोकप्रियता कमाएका उनले आफ्नै पालामा सेवाग्राहीलाई अतिरिक्त शुल्क थोपरेका हुन्। खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष राईले एकल निर्णय गरी २०८१ वैशाख महिनाबाट लागू हुने गरी खानेपानी महसुलमा अतिरिक्त ५ देखि १० रुपैयाँ शुल्क थोपरेका हुन्। नगर प्रमुख राईले ‘जलाधार संरक्षण शुल्क’ का नाममा शुल्क थोपरेका छन्। धरान खानेपानी व्यवस्थापन बोर्ड स्रोतले भन्यो, ‘अध्यक्षको निर्णयअनुसार शुल्क लिन थालिएको हो ।’ बोर्डले खानेपानी महसुलकै रसिदमा अतिरिक्त शुल्क लिन थालेको छ ।

रसिदमा कतै १० रुपैयाँ त कतै ५ रुपैयाँ ‘जलाधार संरक्षण शुल्क’ भनी अतिरिक्त शुल्क लिएको छ। जलाधार संरक्षणका नाममा शुल्क असुल गरेको विषयमा चौतर्फी आलोचना सुरु भएको छ।महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोहीले खानेपानी महसुलको रसिद फेसबुकमा राखेर ‘स्थानीय सरकारको उपहारः खानेपानीमा अतिरिक्त कर’ भनी लेखेका छन् । धरान–९ का निवर्तमान अध्यक्ष रत्न कटुवालले फेसबुकमा ‘धरानको खानेपानी बोर्डले ‘जलाधार संरक्षण शुल्क’ शीर्षक राखेर मासिक १० रुपैयाँले वृद्धि गरेको भनी लेखेका छन् । उनले सुख्खायाममा धरानको आधाभन्दा बढी क्षेत्रमा पानीको हाहाकार भएको बेला महसुल घटाएर जनतालाई राहत दिनुपर्नेमा, महसुल बढाएर आघात पु¥याउने कार्य ठीक नभएको भन्दै फेसबुकमा लेखेका छन् । ‘जनताको प्यारो जनप्रतिनिधि हुँ भन्नेले झन् जनतालाई चोटमाथि चोट थप्ने काम भएको हामी धराने जनताले महसुस ग¥यौँ’–उनले लेखेका छन् ।

उनले फेसबुकमा राखेको खानेपानी बोर्डको रसिदमा जलाधार शुल्क १० रुपैयाँ लिइएको स्पष्ट देखिन्छ । तर, यस विषयमा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले ५ रुपैयाँ मात्र लिने निर्णय भएको बताए । कटुवालको फेसबुक पोष्टमा विवेक प्रसाईं नाम गरेका व्यक्तिले ‘वडाध्यक्ष र कार्यपालिकाको सदस्यहरूले बोल्नुपर्ने कुरा हो । के केमा को को बिक्री भइसके अरे सदस्यहरू दम चाहिँ कसैको रहेन रहेछ । एउटाले बोलो भने चुप्प लाग्छन् । कार्यपालिका सदस्यहरू मेयरले जे गरेको नि ठीक हुँदो रहेछ । यो सबै पार्टीले आफ्नो कार्यपालिका सदस्य बोल्न लाउनु पर्ने भयो । जनताको ढाड सेक्न पाइँदैन’ भनी प्रतिक्रिया दिएका छन् । यस्तै हेम ढकालले ‘जलाधार क्षेत्रमा पार्क बनाएर प्रवेश शुल्क लिएर आर्थिक सङ्कलन भइरहेको छ र हिजो अभियन्ता हुँदा यही महसुल धेरै भयो भन्ने आज जलाधार संरक्षणको नाममा धराने जनतालाई भार बोकाउन पाइँदैन’ भनी लेखेका छन् ।

नगर प्रमुख राईले कार्यपालिकाबाट पास नगरी एकल निर्णयबाट मोटरसाइकलको समेत पार्किङ शुल्क १० रुपैयाँ उठाइरहेका छन् । त्यसको पनि आलोचना हुँदै आइरहेको छ । इन्द्र न्यौपानेले पार्किङमा १० रुपैयाँ, जलाधारमा १० रुपैयाँ ? यो त मन्द विष भएन र ? मेयर एक्लैले निर्णय गर्न मिल्छ ?’ भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन् । नेपाली काङ्ग्रेसका धरान नगर सभापति श्याम पोखरेलले धारामा पानी नदिए पनि पानीको बिलमा थप पाँच रुपैयाँ जोडेर धराने जनतासँग जरिबानास्वरूप असुली गरिरहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ‘बोर्डका अध्यक्षको हुकुम परमादेश’ बाट शुल्क थप गरेको देखिएको उनले उल्लेख गरेका छन् । नगर प्रमुखले भर्ती गरेका आफन्तहरूलाई भरणपोषण गराउन अतिरिक्त शुल्क बढाएको देखिएको उनले लेखेका छन् ।