काङ्ग्रेसभित्र बढ्दै गएको रोगलाई अब पनि शल्यक्रिया नगर्ने हो भने त्यो रोगकै कारण काङ्ग्रेस समाप्त भएर जान सक्छ । नेपाली काङ्ग्रेसभित्र देखिएको ठूलो र डरलाग्लो रोगलाई अप्रेशन गरी काङ्ग्रेसलाई सक्रिय र सशक्त बनाउनु आज काङ्ग्रेसीहरूको पहिलो आवश्यक्ता भएको छ ।

bijaya-santoshi-rai

परिवर्तनको हरेक आन्दोलनका सफल नेतृत्व गरेको नेपाली काङ्ग्रेस अहिलेसम्मकै अत्यन्तै कमजोर अवस्थामा पुगेको छ । नेपाली काङ्ग्रेस अहिलेसम्मकै इतिहासकै कठिन मोडमा आइपुगेको छ । यतिबेला काङ्ग्रेसले आफूलाई उचित ढङ्गले व्यवस्थापन गरी सम्हाल्न सकेन भने स्वयम काङ्ग्रेस र राष्ट्रका लागि अपुरणीय क्षति हुने खतरा बढेको छ । काङ्ग्रेस अहिलेको अवस्थामा आइपुग्ने मुख्य कारण स्थायी रूपमा गुट उपगुटले संस्थागत रूप धारण गरी क्रियाशील भइरहनु नै हो । गुटउपगुट दह्रो हुनु पार्टी चाहिँ दिन–प्रतिदिन कमजोर बन्दै जानु नै हो । यस अवस्थामा पुगको काङ्ग्रेसलाई अब मार्ने कि बचाउन नेताहरूको हतमा छ त्यसमा पनि बढी तन्नेरी युवा नेताहरूमा छ ।

जबसम्म काङ्ग्रेसमा स्थायी रूपमा रहेको गुटउपगुटलाई ध्वस्त बनाइँदैन तबसम्म काङ्ग्रेस कमजोर मात्र होइन गुटउपगुटले सिद्धिनु नै सक्छ । काङ्ग्रेसलाई दह्रो बनाउन जागरण अभियानका साथ अब काङ्ग्रेसका तीनै तहका पुस्ताका नेताहरू मिलेर पार्टीभित्र शल्यक्रिया गरेर काङ्ग्रेसभित्र रहेको ठूलो रोग गुटउपगुटलाई सदाका लागि काङ्ग्रेसले सञ्चालन गर्न लागेको जागरण अभियानमार्फत् फाल्नु पर्छ । सकिँदै साँघुरिँदै, मर्दै गएको पार्टीलाई जीवन्तता प्रदान गर्नका लागि सबै काङ्ग्रेसजनले जागरण अभियानलाई महत्पूर्ण अवसरको रूपमा लिनुपर्छ । यसले मात्र काङ्ग्रेसको जागरण अभियानको औचित्य र सार्थकता हुने र पूर्णता पाउँछ ।

गुटउपुगटको स्वार्थका कारण काङ्ग्रेसले आफूलाई रूपान्तरण गर्न र गति दिन नसकेको र हारको पीडालाई शक्तिमा बदल्न नसकेको र पार्टीमा आन्तरिक एकतासमेत कायम गर्न नसक्दा सडक देखि सदनसम्म काङ्ग्रेस इतिहासमा नै कमजोर भएको देखिन्छ ।

पार्टीका नेताहरूमा व्यवस्था परिवर्तन भए पनि व्यवहार परिवर्तन नहुनु, नीति र नियम परिवर्तन भए पनि नियत र नेतृत्व परिवर्तन हुन नसक्नु, सरकार परिवर्तन भए पनि संस्कार र संस्कृति परिवर्तन नहुनु नै काङ्ग्रेसभित्रको अर्को मूल समस्या हो । नेपाली काङ्ग्रेसले बैसाख तेस्रो सातादेिख प्रारम्भ गर्न लागेको जागरण अभियानले पार्टीमा र नेताहरूमा देखिएका सबै समस्याहरू समाधान हुने आशा काङ्ग्रेसजनमा पलाएको छ ।

नेपाली काङ्ग्रेस अब सच्चिनेकी सिद्धिने भन्ने काङ्ग्रेसका प्रमुख नेताहरू र युवा नेताहरूको अबको कार्यशैली र सोच अनि भूमिकामा निर्भर रहन्छ । अहिलेको पहिलो पुस्ता र युवा पुस्ताले काङ्ग्रेस कमजोर भएका कारणलाई विश्लेषण गरेर बीपीको जस्तो विचार र दूरदर्शिता, सुवर्ण शमशेरको जस्तो मन, गणेशमानको जस्तो त्याग र समर्पण, कृष्णप्रसाद भट्टराईको जस्तो सादगी र निवास्र्थीपन र गिरिजाप्रसाद कोइरालाको जस्तो क्रान्तिकारिता व्यवहारमा उतार्दै सबैभन्दा पहिला म बदलिन्छु, हामी बदलिन्छौँ र काङ्ग्रेसलाई बदल्छौँ भन्ने नयाँ सोच चिन्तन र विचारका साथ काम गर्दै अगाडि बढ्नु पर्छ ।

नेपाली जनताको लागि नेपाली आमाको छोरा जननायक बीपी कोइरालाको सक्रियतामा वि.स. २००३ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना गरी वि.स. २००६ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेसबीच एकीकरण गरी नेपाली काङ्ग्रेस नामाकरण गरी सशस्त्र आन्दोलन गरी २०००७ सालमा प्रजतान्त्रको स्थापना गर्न सफल भएको काङ्ग्रेसको गौरवपूर्ण इतिहास रहेको छ ।

नेपाली जनताको माया एवम् विश्वासले वि.स. २०१५ सालमा भएको प्रथम आमनिर्वाचनमा दुई तिहाई भन्दा बढी सङ्ख्यामा विजय प्राप्त गरेको नेपाली काङ्ग्रेस जनहितका लागि काम गर्दागर्दै २०१७ मा प्रजातन्त्रलाई तत्कालीन राजा महेन्द्रले अपहरित गरेपछि २०४६ सालसम्म प्रतिबन्धित रुपमा नै पञ्चायती व्यवस्था विरुद्ध निरन्तर सङ्घर्ष गरिरह्यो । नेपाली काङग्रेसकै नेतृत्वमा वि.स. २०४६ सालमा भएको जनआन्दोलनले प्रजातन्त्रको पुनःस्थापना गर्न सफल भएपश्चात् नेपाली काङ्ग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा रहेको सरकारले वि.स. २०४७ सालको नया संविधान घोषणा गरी २०४८ सालमा आमनिर्वाचिन गरी काङ्ग्रेसले पूर्ण बहुमत ल्याएको स्वर्णिम इतिहास काङ्ग्रेसको छ ।

२०४७ सालको संविधानअनुरूप नै तीनवटा संसदीय आम निर्वाचन दुई वटा स्थानीय निकायको निर्वाचन गरी प्रजातन्त्रको सुदृढ गर्दै रहेकोमा २०४९ सामा तत्कालीन राजाको प्रतिगामी कदमबाट प्रजातन्त्रलाई पुनः अपहरित भएपछि नेपाली काङ्ग्रेसको आह्वानमा नेपाली काङ्ग्रेसका तत्कालीन सभापति क्रान्तिकारी नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ०६२÷६३ को शान्तिपूर्ण संयूक्त जनआन्दोलनद्वारा संसद पुनस्र्थापना भएको र शान्ति प्रक्रिया र नेपालको अन्तरिम संविधान २०६३ घोषणा गरी नेता कोइरालाकै नेतृत्वमा सार्वभौमसत्ता र राजकीय सत्ता पूर्ण रूपमा जनतामा स्थापित पनि भएको क्रान्तिकारी इतिहास पनि काङ्ग्रेस पार्टीले बनाएको थियो ।

पहिले संविधान सभाको निर्वाचनमार्फत् ठूला भएका राजनैतिक दल तत्कालीन माओवादी पहिलो र तेस्रो दल तत्कालीन नेकपा एमालेको नेतृत्वमा पटक–पटक सरकार गठन भएता पनि संविधान निर्माण गर्न पूर्ण रूपमा असफल भएकाले अन्ततः संविधानसभा नै उनीहरूले नै विघटन गरी पुनः २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली काङ्ग्रेस पहिलो दल भयो र नेपाली काङ्ग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन भयो । उहाँकै नेतृत्वमा २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि परम्परागत रूपमा वंशले शासन गर्दै आएको राजतन्त्रात्मक व्यवस्था पनि संवैधानिक रूपमा नै समाप्त गरेको नेपाली काङ्ग्रेसको युगान्तकारी इतिहास पनि छ ।

संविधानकै कार्यान्वयन स्वरूप नेपाली काङ्ग्रेसकै नेतृत्वमा पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा २०७४ सालमा सङ्घीय प्रतिनिसभा, प्रदेश सभा र स्थानीय तहको पनि निर्वाचन सफलता पूर्वक र शान्तिपूर्ण वातावरणमा सम्पन्न गरेको सफल इतिहास पनि काङ्ग्रेससँग छ । राणाले र राजाले मास्न नसकेको काङ्ग्रेस र माओवादीले घाँटी रेट्दा पनि नसिध्यएको काङ्ग्रेस एक पटक निर्वाचन हार्दैमा सिद्धियो भन्नु मूर्खतामात्र हो ।

काङ्ग्रेसलाई मुलुकै सबैभन्दा ठूलो शक्तिशाली र जनताको प्रिय पार्टी बनाउन काङ्ग्रेसभित्र तीव्र रूपमा मौलाउँदै संस्थागत रूपमा रहेको स्थायी गुटउपगुटलाई अन्त्य गर्न १४ औं महाधिवेशनमा गुटउपगुटरहित सर्वसम्मत् नेतृत्व केन्द्रदेखि प्रदेश, जिल्ला स्थानीय तह र वडा तहसम्म चयन गर्नु पर्छ । त्यसका लागि पहिलो विकल्प काङ्ग्रेसभित्र रहनु भएका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलाको पहिलो पुस्ता अनि बीचको पुस्ता शसाङ्क कोइरालालगायतका पुस्ता र तेस्रो तन्नतेरी पुस्ता धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगन थापा, गुरुराज घिमिरेको तीनै पुस्तालाई मिलाएर पदाधिकारीमा बाँडफाँड गरी महत्वपूर्ण जिम्मेवारीहरू प्रदान गर्नुपर्छ । दोस्रो विकल्प दोस्रो र तेस्रो तन्नेरी पुस्तालाई नेतृत्व गर्न दिएर अहिलेको पहिलो पुस्ता पार्टी र देशका लागि अभिभावक भएर प्रधानमन्त्री होइन राष्ट्रपति हुन सपना देख्नु पर्छ ।

अन्तिम विकल्प अहिलेको तन्नेरी पुस्ता जो पार्टीमा तेस्रो पुस्ताको रूपमा चर्चित छन् उहाँहरूलाई पार्टीको नेतृत्व सर्वसम्मत् रूपमा केन्द्रदेखि वडा तहसम्म सुम्पिने अनि केन्द्रदेखि स्थानीय तहसम्मको सरकारको समेत नेतृत्व एक पटकका लागि दिने घोषणा गर्ने र पहिलो तथा दोस्रो पुस्ताका नेताहरू अभिभावक भएर अभिभावकत्व ग्रहण गर्ने र उहाँहरूलाई आगामी राष्ट्रपतिको रूपमा घोषणा गरी नयाँ ढङ्गबाट पार्टी सङ्गठनमा सशक्त र सक्रियपूर्वक लाग्नु पर्छ । काङ्ग्रेसले यस्तो महत्वपूर्ण र ऐतिहासिक निर्णय गर्ने साहस गरेमा राजनीतिभन्दा बाहिर रहेका ठूलो पङ्क्ति काङ्ग्रेसतर्फ आकर्षित हुने र काङ्ग्रेसबाहेक अन्य पार्टीहरूलाई मतदान गरिरहेका मतदाताहरूले पनि विकल्प सोच्न बाध्य हुने अनि पहिलो पटक मतदान गर्न लागेका तन्नेरी मतदाताले पनि तन्नेरीहरूले नेतृत्व गरेको पार्टीलाई देशको पनि नेतृत्व दिनका लागि मतदान गर्न उत्साहित हुने छन् । गौरवपूर्ण इतिहास भएको काङ्ग्रेसको सफल वर्तमान बन्छ र भविष्य पनि सुनिश्चित हुने भएकाले काङ्ग्रेसका यी विकल्पहरूबाट काङ्ग्रेस सिद्धिने होइन सच्चिन सक्छ ।

जागरण अभियानमार्फत् यी विकल्पहरूको बारेमा पनि व्यापक छलफल गरी १४ औं महाधिवेशनमा ती विकल्पमध्ये उचित विकल्पलाई प्रयोग गर्नसमेत मेचीदेखि महाकालीसम्मका र हिमाल, पहाड मधेस र तराईसम्ममका काङ्ग्रेसजनलाई तयार बनाउनु पर्छ । महासागर भएको काङ्ग्रेस नदी हुँदै खोला हुन लागेकाले अब काङ्ग्रेसलाई खोलाबाट महासागर बनाउन सबै काङ्ग्रेसीहरू एकजुट भएर लागौं ।

यसका लागि नयाँ परिवेशमा पार्टीको सङ्घीय विधान पारितसँगै राष्ट्र राष्ट्रियता, लोकतन्त्र, समाजवादको सन्दर्भमा समेत २१औं शताब्दी अनुसारको नयाँ युगका लागि पुनव्र्याख्याका साथ पुनर्लेखन गर्नु पर्छ । आर्थिक सामाजिक र छिमेकी मित्र देशहरूको सम्बन्धलगायत पार्टीको सबै विषयमा सैद्धान्तिक तथा वैचारिक दस्तावेज अहिलेको युग र पुस्तालाई सुहाउँदो पुनर्लेखन गरी नयाँ ढङ्गबाट पार्टीलाई पुनर्संगठित गरी आगामी निर्वाचनमा देशकै पहिलो, ठूलो र सक्तिशाली जनताको प्रिय आधुनिक काङ्ग्रेस पार्टी बनाउन सकिन्छ ।

नेपाली काङ्ग्रेसलाई अगाडि बढाउन र सशक्त बनाउन अब तन्नेरीहरूको मिहिनेत र पसिना, पाका तथा अभिभावकहरूको अनुभव तथा सल्लाह र आशिर्वादबाट मात्र सम्भव हुन्छ । युवा तन्नेरी, मध्यम र पाका अभिभावकहरू गरी तीनै पुस्तालाई मिलाएर र आदिवासी जनजाति महिला दलित, अपाङ्गता भएकाहरूलाई पनि पार्टी नेतृत्वमा समायोजन गरी पार्टीका पदाधिकारी तहसम्म निर्णायक ढङ्गबाट सहभागी गराई पार्टीलाई पूरै रूपान्तरण गर्नुपर्छ । अहिले राजावादी देखि कम्युनिष्टहरूसम्म काङ्ग्रेसले हिँडेको बीपीले तय गर्नु भएको लोकतान्त्रिक बाटो ठीक छ भनी निर्विकल्प रूपमा स्वीकार गरिसकेको अहिलेको अवस्थामा नेपालमा पुरानो युगको अन्त्य भई लोकतान्त्रिक बाटो ठीक छ भनी निर्विकल्प रूपमा स्वीकार गरिसकेको अहिलेको अवस्थामा नेपालमा पुरानो युगको अन्त्य भई संविधानको कार्यान्वयनका साथ नयाँ राजनैतिक युगको आरम्भसँगै आर्थिक क्रान्तिको शुभारम्भ भएको छ ।

विशेषगरी युवा नेताहरूले पनि पार्टी नेतृत्वलाई खबरदारी गरी गलत निर्णयहरूलाई सुधार्न लगाउनुभन्दा पनि त्रय नेताहरूकै चाकडी तथा चाप्लुसी गरी विभिन्न गुट तथा उपगुटहरूमा विभाजित भई नेतृत्वमा जाने, टिकट लिने सत्तामा जाने मात्र प्रमुख ध्यान राखेका कारण पनि पार्टीले अहिलेको हविगत व्यहोर्नु प¥यो । त्यसले गर्दा युवा नेताहरूले पनि हारको दोष र जिम्मेवारी दिँदै अब पार्टीलाई पहिलो बनाउन युवा पुस्ता बढी जिम्मेवार र सक्रिय हुनुपर्छ ।

त्यसैले युग परिवर्तनसँगै अब नेपाली काङ्ग्रेसका नेताहरूले सबैभन्दा पहिले आफू सच्चिएर काङ्ग्रेसलाई सच्याउन सङ्कल्पका साथ नयाँ नीति र कार्यक्रमका साथ आफ्नो सिद्धान्तको पुनव्र्याख्या गर्दै सङ्गठनको पुनर्निर्माण गरी २१ औं शताब्दीको भारी बोक्न सक्ने आधुनिक काङ्ग्रेसको निर्माण गर्नु पहिलो कर्तव्य हो । काङ्ग्रेसले जागरण अभियानमार्फत् काङ्ग्रेसीहरूले काङ्ग्रेसलाई नबदल्ने हो भने काङ्ग्रेस प्रजापरिषद् र गोर्खा परिषद्जस्तै ऐतिहासिक मात्र सिमित हुन सक्छ त्यसैले नेतृत्वमा रहनुभएका सबै नेताहरू र तन्नेरी युवा नेताहरूले समेत बेलैमा यसतर्फ अविलम्व ध्यान पुर्याउनु पर्छ ।

पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेताहरूले रामचन्द्र पौडेल, कृष्ण सिटौला र युवा तथा तन्नेरी नेताहरूले जागरण अभियानमार्फत् माथिका तीन विकल्पहरूमध्ये कुनै एक विकल्प प्रयोग गरेर अगाडि बढी काङ्ग्रेस बाँच्न सक्छ नत्र काङ्ग्रेसलाई यही यथास्थितिमा राखिराख्ने हो भने काङ्ग्रेस सशक्त हुनुको सट्टा आफैं समाप्त भएर जान सक्छ । अब काङ्ग्रेसलाई मार्ने कि बचाउने पहिलो पुस्ता र युवा तन्नेरी पुस्ताको हातमा छ ।