विजयपुर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईलाई पूर्वजनप्रतिनिधिहरूले विगत स्मरण गराउँदै दुई वर्षसम्म भ्रष्टाचारको प्रमाण किन सार्वजनिक नगरेको ? भनेर प्रश्न गरेका छन् ।

खानेपानी परियोजनामा चरम् भ्रष्टाचार गरेको आरोप लगाउने गरेको र निर्वाचित भएको दुई वर्षसम्म सार्वजनिक नगरेको भन्दै जनप्रतिनिधिले प्रश्न गरेका हुन् । प्रमुख राईका समर्थकले भ्रष्टाचार गरेको भन्दै पूर्वजनप्रतिनिधिको नामावली नै सार्वजनिक गरेका थिए ।

बुधबार धरान उपमहानगरपालिका र धरानबाट जितेका कोशी प्रदेश सभा तथा प्रतिनिधिसभाका पूर्व प्रतिनिधिहरूले ध्यानाकर्षण–पत्र बुझाउँदै खानेपानीको भ्रष्टाचारलगायत अन्य विषय सार्वजनिक नगरेकोमा प्रश्न उठाएका हुन् ।

निवर्तमान नगर प्रमुख तिलक राईले नगर प्रमुख राई अभियानमा हुँदा तत्कालीन नेतृत्वलाई खानेपानी परियोजनामा भ्रष्टाचार गरेको आरोप लगाएको बताउँदै भने, ‘दुई वर्षसम्म भ्रष्टाचारको प्रमाण किन सार्वजनिक नगरेको ?’

उनले भ्रष्टाचार नभएको र वास्तवमा खानेपानी समस्या रहेछ भनेर स्वीकार गरेको बताए । अभियानमा हुँदा कार्यकारी निर्देशकलाई भ्रष्टाचारको आरोप लगाउने गरेको बताउँदै निवर्तमान नगर प्रमुख राईले भने, ‘उसैसँग कसरी काम गरिरहनुभएको छ । हाम्रो नैतिकताको प्रश्न हो ।’

दुई वर्षसम्ममा भ्रष्टाचार भयो भएन जवाफ पाउनुभयो हो ? उनले प्रश्न गरेका छन् । मनोज मेन्याङ्बो, तिलक राई, मञ्जु भण्डारी प्रमुख भ्रष्टाचारी भनेर तपाईंका नजिकका साथीले लिस्टिङ नै गरेका थिए, त्यो कहाँ पुग्यो ? उनले प्रश्न गरे । उनले भने, ‘भ्रष्टाचार भयो भने त कारबाही गर्नुप¥यो नि । नभए स्वीकार्नु प¥यो, वास्तवमा मैले भ्रष्टाचार पाइनँ भनेर सार्वजनिक गर्नुपर्यो’– निवर्तमान प्रमुख राईले भने ।

निवर्तमान प्रमुख राईले विगतमा गरेको क्रियाकलापको पुनर्मूल्याङ्कन गर्नुपर्ने बताए । ‘खानेपानी छैन भन्ने नागरिकलाई पानी नै छैन कसरी दिनु भन्नुहुन्छ । हिजो हामीलाई त्यो छुट थिएन । तपाई गेट भत्काउन आइपुगिहाल्नुहुन्थ्यो । निवर्तमान प्रमुख राईले भने, ‘नगरवासीमा कत्रो संयमता छ हेर्नुहोस् ।’ उनले सहयोगीसँग मात्र रमाएको बताउँदै भने, ‘मेयरले त राज्य संयन्त्रको बजेट चलाउन सक्नुपर्छ ।’ उनले कोकाहा खानेपानीको के उपादेयता भयो ? छातीमा हात राखेर भन्नुहोस् त ? ‘त्यो पानीले साँच्चिकै आवश्यकता पूरा गर्यो त ?’–उनले प्रश्न गरे । ७ करोड रुपैयाँ खर्च गरेको बताउँदै भने, ‘डिप बोरिङ गरेको भए त डेढ करोडमै हुने थियो ।’

नगर प्रमुख हर्कराज राईले भने नाजवाफ बन्दै भ्रष्टाचारको प्राविधिक अडिट गराउने र पूर्व जनप्रतिनिधिलाई लिखित स्पष्टीकरण सोधिने बताएका थिए । यस्तै पूर्व नगर प्रमुख कुमारबहादुर कार्कीले नगर प्रमुख राईले फेसबुके चाला छाड्नुपर्ने बताए । उनले नगर प्रमुख राईका ‘फेनाटिक लभर’ ले पूर्व जनप्रतिनिधि तथा वरिष्ठ व्यक्तिमाथि गलत धारणा बनाउने बताउँदै भने, ‘पानी छैन भनेमा श्रमदानमा आइरथिस् भन्छन् ।’

सामाजिक सञ्जालमा आफ्ना समर्थकले गर्ने दुव्र्यवहार छोडाउनु पर्ने उनले बताए । उनले भने, ‘पुराना जनप्रतिनिधिलाई पत्र काट्छु भन्दै असभ्य कुरा बोल्नुभयो । विगतमा कमीकमजोरी भए राज्यका निकायदेखि कारबाही गरे भइगो नि ।’ धम्कीपूर्ण पत्र काट्छु भन्ने अधिकार नभएको बताए । उनले भने, ‘हामीले भित्रको पालो पर्खियौँ तर, आफ्ना मान्छे भित्र लगिरहनुभयो, हाम्रो अपमान गर्नुभयो ।’

संविधानसभा सदस्य मीनबहादुर विश्वकर्मा, किरणकुमार राई, कृष्णकुमार राई, प्रतिनिधिसभा सदस्य जयकुमार राई, कुन्ता शर्मा, कोशी प्रदेशका निवर्तमान सभामुख प्रदीप भण्डारी, प्रदेश सभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, उमिता बराइली, सावित्री जोशी, धरानका पूर्व प्रमुख तिलक राई, मनोजकुमार मेन्याङ्बो, कुमारबहादुर कार्की, उपप्रमुख मञ्जु भण्डारी सुवेदी र मीनकुमार सुब्बाले संयुक्तरूपमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

उनीहरूद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा नगर प्रमुख राईको प्रमुख मुद्दा खानेपानीका विषयमा प्रश्न गरिएको छ । पत्रमा ‘तपाईंले विगतमा विशेषरूपमा उठाएको खानेपानी समस्या समाधान, त्यसबेलाको व्यवस्थापकप्रतिको अभद्र प्रस्तुति र हालको काम कारबाही, योजनाको लागत, संस्थान र बोर्डबीचको समायोजन, खानेपानी महसुल, खानेपानी ट्याङ्करबाट वितरण गर्दा तिर्नुपर्ने बिलको विषय, भ्रष्टाचारको कुरा, सुशासन र पारदर्शिताका विषय तपाईंले जिम्मेवारी सम्हालेको दुई वर्षसम्म कुनै तथ्य, प्रमाण वा जानकारी नगरवासीले किन पाएका छैनन् ?’–प्रश्न गरिएको छ । पत्रमा श्रमदानलगायतका परियोजनामा स्वामित्व र वैधताका विषयमा प्रश्न गरिएको छ । महालेखा परीक्षकको कार्यालयले पनि नगर प्रमुख राईले श्रम अभियानमा गरेका खर्चमाथि कानूनी प्रश्न उठाएको उल्लेख छ । नगरको कार्यसम्पादन मूल्याङ्कन विगतभन्दा खस्किएको छ । खानेपानी समस्या समाधानका लागि सङ्घ–संस्था, दातृ निकाय र सहयोगी दाताले धराने जनताको नाममा दिएको करोडौँ रकमबाट निर्मित संरचनाहरू भरपर्दाे, दीर्घकालीन, सुरक्षित र फलदायी नबनेको पत्रमा उल्लेख छ । पत्रमा ‘ती कामहरूले अहिलेको अभावलाई समाधान गर्न सक्यो ? कति समाधान भयो ? या भएन ? ती संरचनाहरू निर्माण हुँदा खानेपानी बोर्ड तथा उपमहानगरको बजेट लगानी भयो या भएन, त्यसको यथार्थ दाता र नगरबासीलाई जानकारी गराउनुभयो ?’– पूर्व जनप्रतिनिधिले प्रश्न गरेका छन् ।

नगर प्रमुख राईले समस्या लिएर आउने नागरिकलाई गैर जिम्मेवार ढङ्गले दिएका अभिव्यक्तिबारे पनि ध्यानाकर्षण गराएका छन् । नगर प्रमुख राईले सामाजिक सञ्जालबाट विगतदेखि एकताबद्ध धरानको सामाजिक, धार्मिक, सांस्कृतिक सद्भाव र मनोवैज्ञानिक आँच आएको उल्लेख गरेका छन् । नगर प्रमुख राईको व्यक्तिगत र आफू केन्द्रित गतिविधिले समग्र नगरकार्यपालिका र सिङ्गो समाजले अभिभावकत्व गुमाएको उल्लेख छ । विगतका आयोजनामा नगर प्रमुख राईले उदासीनता देखाएको पत्रमा उल्लेख छ । फोहोरमैला, सुकुम्बासी समस्या, बसपार्क, औद्योगिक ग्राम, राजमार्ग व्यवस्थापन, बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका समस्या समाधानमा प्रभावकारी भूमिका नखेलेको पत्रमा भनिएको छ ।