चतरा । ‘मलाई यही समाजले बाल्यकालदेखि हिन्दू मुस्लिमको भेद नगरी हुर्कायो, म सक्षम भइसकेपछि मैले मजहबको भेद गर्नु हुँदैन ।’

बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समारोह समितिले मुख्य पण्डालमा सम्मान गरेपछि करिम अन्सारी भावुक बने । अन्सारीको मुहारमा देखिएको उत्साह र भावुकतासहितको अभिव्यक्तिलाई दर्शकदीर्घाले तालीले स्वागत गरे ।

आर्थिक अभावका कारण वराहक्षेत्रको कुम्भ मेला भर्न आउन नसकेका विराटनगरका भक्तजनलाई अन्सारीले निःशुल्क बस सेवा प्रदान गरे । मुस्लिम धर्मावलम्बी करिम अन्सारीले हिन्दूहरूको कुम्भ मेलालक्षित निःशुल्क बस सेवा सञ्चालन गरेका थिए । उनको यो उदारता धार्मिक सहिष्णुता र सन्देशले सर्वत्र प्रशंसा पाएको स्वागत तथा आवास व्यवस्थापनका सह–संयोजक युवराज भट्टराईले बताए । विराटनगर–१ पोखरिया निवासी अन्सारीले प्रत्येक शनिबार दुईवटा बसमा १ सय बढी भक्तजन चतराधाम ल्याउने–लाने काम गरे ।

सह–चालकको मजदुरीबाट यातायात व्यवसायी बनेका अन्सारीका हाल विराटनगरमा चारवटा बस सञ्चालनमा छन् । उनको सामाजिक परोपकार उदाहरणीय रहेको राजनीतिकर्मी पुष्प ढुङ्गाना बताउँछन् । अन्सारीले विराटनगरमा गरिब असहायमा दुःख पर्दासमेत सहयोग गर्दै आएको ढुङ्गानाले बताए । ‘मलामी जानुपरे निःशुल्क बस र खर्चसमेत दिँदै आएका रहेछन्, राजनीतिकर्मी ढुङ्गानाले भने, ‘उनको परोपकारी कर्म अनुकरणीय छ ।’

अन्सारीले सञ्चालन गरेको निःशुल्क बसमा चतराधाम आइपुगेकी विराटनगर तीनटोलियाकी एक महिला भक्तजनले अन्सारीले सुकर्म गरेको बताइन् । ‘करिम भाइको चार वटामात्र होइन, अब बीसवटा गाडी हुन्छन्, हाम्रो आशीर्वाद छ’ ती महिला भक्तजनले भनिन्, ‘मैले भित्री हृदयदेखि आशीर्वाद दिएको छु ।’

करिमको कर्मको प्रशंसा गर्दै कुम्भको मुख्य पण्डालमा जगद्गुरु बालसन्तले उनलाई सम्मान गरे । जगद्गुरु बालसन्तले अन्सारीजस्ता ठूला हृदय भएका व्यक्तिले सनातनदेखिको धार्मिक सहिष्णुता कायम राख्न भूमिका खेलेको बताए ।

‘२०८० चैत्र २७ गतेदेखि २०८१ वैशाख २८ गते) सम्म आयोजित नेपाल राष्ट्रकै गौरव बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई भव्यता प्रदान गर्न तपाईंले विराटनगरबाट कुम्भस्थलसम्म आउने भक्तजनका लागि दुईवटा निःशुल्क बससेवा सञ्चालन गर्नु भई धार्मिक सद्भाव र साहिष्णुता प्रदर्शन गर्नुभएकोमा तपाईंको अनुकरणीय र अनुसरणीय कार्यको उच्च मूल्याङ्कन गर्दै बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समारोह समितिका तर्फबाट सादर यो सम्मान–पत्र समर्पण गरिएको छ’ अन्सारीलाई प्रदान गरिएको सम्मान–पत्रमा उल्लेख गरिएको छ । सम्मान पाएपछि अन्सारीले परोपकार र सेवाको काममा थप हौसला र प्रेरणा पाएको बताए ।